बैंकहरूमा तरलता अभाव होइन, लगानी योग्य पूँजीको अभावः बैंकर्स संघ

  २०७३ माघ ६ गते १३:१७     विकासन्युज

nepali-rupeeकाठमाडौं, ६ माघ । बैंक तथा वित्तीय संस्थामा हाल तरलता अभाव नभएको बैकर्सहरुले बताएका छन् । बैकर्सहरुले अझै उनीहरूसँग ४ खर्ब ८८ अर्ब पूँजी भएपनि सो लगानी गर्न नमिल्ने भएकाले क्रेडिट क्रन्चको अवस्थामा पुगेको बताएका हुन् ।  ‘हामीसँग अझै तरलता छ, तर लगानी योग्य पूँजी भने छैन, नेपाल बैकर्स एसोसिएशनका अध्यक्ष अनिल केशरी शाहले भने । अब राष्ट्र बैंकले कुनै उपाय नसुझाए बैंकहरु सिडी रेसियो नजिक पुगिसके थप लगानी गर्न सक्ने अवस्थामा छैनन् । राष्ट्र बैंकले बैंकहरुमा भएको तरलता अभाव र यसका समाधानका वारेमा पुनविचार गर्नुृपर्छ ।’ कर्जाको अनुपातमा निक्षेप नबढ्दा, लगानीका सबै क्षेत्रबाट कर्जाको माग वृद्धि हुँदै गएको उनले बताए ।

बैकहरुसँग भएको रकम लगानी गर्ने वातावरण मिलेमा तत्काल देखिएको क्रेडिट क्रन्चको अवस्था हल हुने बैकर्सहरुले बताएका छन् । अहिले दिनहुँ जसो बैकर्सहरु लगानी योग्य पूँजी बढाउने उपायहरुको खोजी गरिरहेका छन् । यसका लागि गत सातानै एसोसिएशनले  नेपाल राष्ट्र बैंकलाई भेटेर निक्षेप तथा कर्जाको अनुपात (सिडी रेसियो) हटाउन नभए पनि घटाउन माग पनि गरिसेकेको छ । यदि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा आएको यो अवस्थालाई बुझेर सिडी रेसियो केही समयका लागि घटाएमा पनि तत्काल देखिएको समस्या समाधान हुने बताइएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कुल लगानीको २० प्रतिशत रकम आफैले नगद तथा अन्य रुपमा राख्न निर्देश गरेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले दिएको पूँजी वृद्धि योजना पुर्याउन लगानी वृद्धि गरिरहेका छन् । अधिक तरलताका बेला लगानीका ठूलो हिस्सा थोरै ब्याजदरमा लगानी भइरहेकाले पनि अहिले बैंकहरु रितिने अवस्था पुगेका हुन् । बैंकर्सहरूले सरकारी ढुकुटीमा थन्किएको रकम मात्र खर्च गर्न सकेमा पनि क्रेडिट क्रन्च नहुने बताएका छन् ।

तरलता रित्तिदै जानुमा अर्को पक्ष भनेको बैंकहरुको दीर्घकालीन सोच नुहुनु पनि हो । यदि बैंकहरुले बचतकर्ताको निक्षेपलाई सही ब्याज दिएका भए निक्षेपकर्ता अन्य लगानीका क्षेत्रतिर आकर्षित हुने थिएन् । मुद्दती खातामे बढीमा ५ प्रतिशतमात्र ब्याज दिन थालेको धेरै भैसक्यो, बचत खाताको ब्याज त शुन्य बराबर हो । त्यसैले पनि उनीहरु क्रेडिट क्रन्चको अवस्थामा पुगेका हुन् । ‘तरलता अधिक जम्मा गराउने मौद्रिक उपकरण भनेको ब्याजदर हो,’ राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख नरवहादुर थापाले भने ‘बचत खाताको ब्याजदरमा पुनर्विचार नगरेसम्म निक्षेप संकलन हुन गाह्रो छ ।’ यसका लागि बैकर्सहरुले जति सक्दो छिटो बचत निक्षेपको ब्याजदर बढाउनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.