एक करोडमा तयार हुँदैछ धरहराको नयाँ डिजाइन, नेपाल टेलिकमले बनाउने पक्का

  २०७३ माघ २ गते १२:३४     विकासन्युज

काठमाडौं, २ माघ । करिब एक करोड लागतमा धरहराको नयाँ डिजाइन तयार भैरहेको छ । गत बैशाख १२ गतेको भूकम्पले भत्काएको धरहराको नयाँ डिजाइन तयार पार्न पुरातत्व विभागले ९४ लाख ७९ हजार ४ सय ३६ रुपैंयाँ लागतमा केस कन्सल्टेन्टलाई जिम्मेवारी दिएको हो ।

प्रस्तावित धरहराकाे स्केज
केस कन्सल्टेन्टले यहि माघ २८ गते धरहराको फाइनल डिजाइन विभागलाई बुझाउने छ । ‘थपिएको जमिनलाई समेटेर माघ २८ गते नयाँ डिजाइन प्राप्त हुँदैछ’, पुरातत्व विभागका सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरेले विकासन्युजसँग भने । उनका अनुसार केस कन्सल्टेन्टले नै १६ लाख ९५ हजारमा ६ रोपनी क्षेत्रमा निर्माण गर्ने भनिएको धरहराको डिजाइन तयार पारेको थियो ।

अहिले त्यसमा २३ रोपनी ४ आना २ पैसा २ दाम जमिन थपिएको छ । २९ रोपनी ४ आना २ पैसा २ दाम क्षेत्रफलमा बनाईने नयाँ धरहराको डिजाइन पनि केस कन्सल्टेन्टले नै तयार पारिरहेको छ ।

नेपाल टेलिकमले बनाउने पक्का
नयाँ धरहरा नेपाल टेलिकमले बनाउने पक्का भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले केहि दिन अघि मात्रै सञ्चार सचिव र नेपाल टेलिकमको उच्च नेतृत्वसँग धरहरा बनाउनेबारे छलफल गरेका थिए । ‘प्रधानमन्त्रीले केहि दिन अघि मात्रै सचिवज्यु र टेलिकम नेतृत्वसँग छलफल गर्नुु भएको छ, अब धरहरा नेपाल टेलिकमले नै बनाउने पक्का भएको छ’, सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले विकासन्युजसँग भने ।

उनका अनुसार धरहरा नेपाल टेलिकमले बनाउने भन्ने सैद्धान्तिक सहमति भएको छ र निर्माण तथा सञ्चालन मोडालीटी तयार गर्न समिति समेत गठन भएको छ । ‘धरहरा बनाउने तथा सञ्चालन गर्ने मोडालीटी तयार गर्न सञ्चार मन्त्रालय, पर्यटन मन्त्रालय र नेपाल टेलिकमको सहभागीतामा समित गठन भएको छ’, ढकालले भने ।

उता, नेपाल टेलिकमका सह प्रवक्ता सोभन अधिकारीले पनि धरहराको निर्माण नेपाल टेलिकमले गर्ने सैद्धान्तिक सहमति भएको र मोडालीटीबारे अध्ययन जारी रहेको बताए । धरहरा निर्माणका लागि करिब ३ अर्ब लागत अनुमान गरिएको छ । निर्माण, सञ्चालन तथा हस्तान्तरणको मोडालिटी के हुने भन्नेबारे हाल सुक्ष्म अध्ययन भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.