जसले बजारलाई प्रभावित पार्ने सूचना बनाउँछ उसैलाई ब्रोकरको लाइसेन्स दिन मिल्छ ?

  २०७३ माघ १ गते १६:३५     प्रियराज रेग्मी

priyaraj_borker

प्रियराज रेग्मी-अध्यक्ष, स्टक ब्रोकर एसोसियसन अफ नेपाल

पुस -माघको ठण्डीसँगै सेयर बजार संकुचित हुँदै गएको छ । तर बैंकलाई ब्रोकर लाइसेन्स दिने बिषयमा चलेको बहसले भने बजार तताएको छ । गत साता स्टक ब्रोकर एसोसियसन अफ नेपालको बार्षिक साधारण सभामा यो विषयमाथी गर्मागरम बहस चल्यो । ब्रोकर कम्पनीहरुले नियामक समक्ष आफुहरुको अधिकार संकुचित पारेर बैंकलाई ब्रोकर लाइसेन्स दिन लागेको आरोप नै लगाए ।
स्टक ब्रोकर एसोसियनको दोश्रो कार्यकाल अध्यक्ष निर्वाचित प्रियराज रेग्मीलाई हामीले सोध्यौं बैंकलाई ब्रोकर लाइसेन्स दिन किन नहुने अनि ब्रोकर कम्पनीलाई थप के के अधिकार चाहिएको हो ? अध्यक्ष रेग्मीसँग गरिएको कुराकानी ।

बैंकलाई ब्रोकर लाइसेन्स दिन किन नहुने हो ? तपाईहरुको बिरोध किन ? दियो भने के समस्या हुन्छ ?

बैंकलाई ब्रोकरको लाइसेन्स दिने की नदिने भन्ने कुरा बैंकले नै निर्णय गर्ने हो अरुले भनेर हुन्न । बैंकको मुख्य नियमनकारी निकायले बैंकलाई ब्रोकरको लाइसेन्स लिन मिल्छ भनेको छैन् । अर्काे कुरा भनेको कुनै पनि बैंकले मलाई ब्रोकर लाइसेन्स दिनुपर्यो भनेका छैनन् । केन्द्रिय बैंकले ब्रोकर लाइसेन्स दिँदा हुन्छ भनेको छैन् र बाणिज्य बैंकहरुले पनि चाहियो भनेका छैनन् ।

यदि बैंकले मागेको अवस्था र कानुनले दिएको अवस्थामा पनि यसका तीन चार वटा पक्षहरुको अध्ययन गरिनुपर्छ । हाम्रो पुँजी बजारको परिपक्कता, त्यसका खेलाडी, नियमनकारी निकायको क्षमता, कारोबारको प्रणाली तथा कारोबार हुने कम्पनीहरुको अवस्था पनि हेरिनु पर्छ । सेयर बजारमा ७० प्रतिशत वित्तिय संस्था छन् । १३ प्रतिशत इन्स्योरेन्स कम्पनी छन् । बैंककै म्युचुअल फण्ड पनि छन् । इन्स्योरेन्समा पनि बैंककै लगानी रहेको देखिन्छ । एउटै मान्छेले बैंक, इन्स्योरेन्स र सेयरमा पनि लगानी गरिरहेको छ । अन्तराष्ट्रिय रुपमै सेकेण्डरी मार्केटले उद्योगपति जन्माउँदैन् । यसले अर्थतन्त्रलाई चलायमान गर्ने मात्रै हो ।

दोश्रो बजारमा खरिद कर्ता र बिक्रेताका एक्सपेक्टेशनले बजारको मुल्य निर्धारण हुन्छ । हाम्रो क्यापिटल मार्केटमा धेरै बैंक तथा वित्तिय संस्था र इन्स्योरेन्स कम्पनीकै हिस्सा छ । जसले सेयर बजारलाई प्रभावित पार्ने सूचना बनाउँछ उसैलाई सेयरको कारोबार गर्ने अधिकार दिने हो भने उसले साना लगानी कर्ताको हित गर्छ की गर्दैन् ? अहिले ब्रोकर कम्पनीका रुपमा हामी काम गरिरहेका छौं, बैंकलाई ब्रोकर कम्पनीको लाइसेन्स दिँदा भोली लगानी कर्ताले गरेको लगानीमा ह्रास आयो भने हामीले के काम गर्ने ?

हामीलाई बैंकले लिने ब्रोकर लाइसेन्ससँग प्रतिष्पर्धा गर्न कुनै समस्या छैन् । बैंकले पनि सहायक कम्पनी खोलेर ब्रोकरको काम गर्ने हो हामी सहजै प्रतिष्पर्धा गर्न सक्छौं । हामीले साँझ ६ सात बजेसम्म पनि अफिसमै बसेर काम गरिरहेका हुन्छौं । हामी बैंकले लिने ब्रोकर लाइसेन्ससँग प्रतिष्पर्धा गर्न तयार छौं । हामी क्षमता बढाउन, पुर्वाधार बढाउन पनि तयार छौं । तर लगानी कर्ताको हितमा काम गर्नुपर्नेछ, भोली लगानी कर्ता नै रहेनन भने हामीले के ब्रोकर गर्ने ? हामी प्रतिष्पर्धा गर्न डराएर होइन बजार र लागनी कर्ताको हितका लागि बैंकलाई ब्रोकर लाइसेन्स दिनुहुन्न भनेका हौं ।

नेपाल स्टकले दुर्गम र सुगमको मोडालिटीमा ब्रोकरको शाखा विस्तार गर्ने भनेर प्रक्रिया अघि बढाएको थियो । धितो पत्र बोर्डले शाखा विस्तार ठिक हो की नयाँ ब्रोकरलाई लाइसेन्स दिन ठिक हो ? भन्ने प्रश्न गरेको हो । बोर्डले एउटा अध्ययन समिति बनाएर के ठिक हो रिपोर्ट बनाउन भनेको छ । तर बजार हल्ला धेरै भयो । नयाँ ब्रोकरलाई लाइसेन्स दिन भन्यो बोर्डले भनेर हल्ला गरियो । केन्द्रिय बैैंकले बैंकको लाइसेन्स रोकेको छ । बीमा समितिले नयाँ इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स रोकेको छ । यहाँ चाही किन यस्तो ?

बैंकले ब्रोकरको काम गर्दा लगानी कर्ताले पाउने सर्भिस र ब्रोकर कम्पनीले दिने सर्भिस कुन राम्रो हुन्छ ?
पक्कै पनि बैंकको सहायक कम्पनीका रुपमा आउने ब्रोकर कम्पनीले भन्दा हामीले सञ्चालन गरेका कम्पनीले राम्रो सर्भिस दिन्छन् । हामी प्राइभेट कम्पनी मार्फत आफैं नाफा कमाउने गरि काम गर्छाै । आफ्नै निगरानीमा सेवा दिईरहेका हुन्छौं । तर बैंक र उसले सञ्चालन गरेका ब्रोकर कम्पनीका कर्मचारीबिच लामो दुरी रहन्छ । हामी त आफ्नै निगरानीमा कर्मचारीलाई खटाउँछौं । त्यसकारण हामीले नै राम्रो सर्भिस दिन्छौं । हामीसँग लामो अनुभवन पनि छ । दक्ष कर्मचारी पनि छन् ।

आज ब्रोकर कम्पनीहरुले के के सुबिधा दिईरहेका छन लगानी कर्तालाई ?
Priyaraj-regmi

हामीले नेपाल स्टकको प्ल्याट फर्ममा बिजनेश गर्ने हो । हामीले मात्रै प्रबिधी, दक्षता राखेर हुन्न । पुँजी कति बढाउनु पर्ने हो ? कस्तो प्रबिधी राख्ने हो ? जनशक्ति कस्तो चाहिने हो भन्नुस् तर हामीलाई बिशेषज्ञता हासिल गर्न दिनुस भनेर धितो पत्र बोर्डमा पटक पटक ज्ञापन पत्र बुझाईरहेका छौं ।

अहिले हाम्रो काम भनेको ग्राहकको अर्डर लिने र कारोबार गरिदिनेमै सिमित छ । हामी विश्वस्तरिय ब्रोकर कम्पनीका रुपमा काम गर्न चाहान्छौं । कर्मचारी थप्छौं, प्रबिधी बढाउँछौं र अरु सर्भिस पनि दिने अधिकार चाहियो भनिरहेका छौं ।
तर हामीलाई अहिलेसम्म ग्राहकलाई प्रभाव पार्ने कुनै पनि गतिबिधी गर्न पाइँदैन भनिएको छ ।

ब्रोकरहरु लगानी कर्तालाई के के नयाँ सर्भिस दिन चाहान्छन् ?
हामीले लगानी व्यवस्थापन र परामर्श सेवा दिन चाहिरहेका छौं । हामीलाई अनुमति दिनु पर्यो । नियम बनाएर रिसर्च गर्न दिनु पर्यो । त्यस बापत हामी बोर्डलाई शुल्क पनि तिर्छाै । आफ्नो अनुसन्धानको रिपोर्ट थोरै शुल्क लिएर लगानी कर्तालाई उपलब्ध गराउँछौं । अहिले त फेसबुकमा लेखिएको स्टाटसका भरमा बजार प्रभावित भैरहेको हुन्छ । यसको नियमन कस्ले गर्ने ?

एउटा लगानी कर्ताले ब्रोकर कम्पनीमा रिसर्च रिपोर्ट किनेर लगानी गर्न सक्छ । अर्काे भनेको पोर्ट फोलियो मेनेजमेन्ट गर्न चाहेका हौं । अर्काे भनेको बैंक तथा वित्तिय संस्थासँग सम्झौता गरेर ब्रोकर कम्पनीबाटै लगानी कर्तालाई वित्तिय सुबिधा दिन चाहान्छौं ।

अर्को कुरा भनेको संसारका ठुला सेयर बजारमा ५० प्रतिशत भन्दा बढि खरिद बिक्रि ब्रोकरले नै गर्दै आएका छन् । हामीले पनि डिलरशिप गर्न चाहेका हौं । यसले बजारलाई स्थायी बनाउन पनि मदत नै गर्छ । हामी फुलफेज ब्रोकर बन्न चाहान्छौं तर अहिलेसम्म त हामी कमिसन ब्रोकर मात्रै बनिरहेका छौं ।

ब्रोकर कम्पनीलाई उपत्यका बाहिर शाखा खोल्ने र सेयर बजारलाई विस्तार गर्ने अभियान कहाँ पुग्यो ?
उपत्यका बाहिर जहाँ जहाँ शाखा थिए ती राम्रैसँग चलेका छन् । थप शाखा विस्तारका लागि पुँजी वृद्धि, प्रबिधी र दक्ष जनशक्तिकोे व्यवस्थापन गरिनु पर्छ । अहिले अघि बढेको प्रक्रियामा बोर्डले नयाँ लाई लाइसेन्स दिने हो की शाखा विस्तार गर्ने भनेर सोधेको छ । हामीसँग धेरै पटक छलफल भएको छ । हामीले उपत्यका बाहिर जान तयार छौं भनेका छौं । कहाँ कहाँ जाने भन्ने बिषयमा पनि छलफल भएको छ । शाखा विस्तारका लागि बोर्ड र नेप्से दुबै सकारात्मक छन् ।
नेप्सेले नयाँ ब्रोकर थप्ने निर्णय गर्यो भने ब्रोकर एसोसियसनले के गर्छ ?
राज्यले नै खुल्ला अर्थ निती अख्तियार गरेको छ । राज्यले ल्याएको कुरा मान्नु हाम्रा कर्तव्य हो । तर त्यसका लागि बजार र पुर्वाधार छ की छैन भनेर चाँही हेरिनु पर्छ भन्छौं । हामी आफैंले अहिलेको सेयर बजारलाई धान्छौं र गतिशिल बनाउँछौं भनिरहेका छौं ।

उपत्यका बाहिर पनि जनचेतना बढाउन सकियो भने बजार पक्कै पनि छ । तर देशको विकास गर्ने कुरा सेयरको कारोबार गराएर मात्रै चाँही हुन्न हैं । जहाँ जे कुराको सम्भाव्यता छ त्यहाँ त्यहि उद्यम सञ्चालन गर्ने हो । पुँजी भएको शहरमा सेयर बजार विस्तार गर्न सकिन्छ भन्ने देखिन्छ । आज ब्राञ्चलेस बैंकिङको व्यवस्था आइसक्यो । फेसबुकको कार्यालय अमेरिकामा छ तर हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ फेसबुक । हामीले सेयर बजारमा पनि प्रबिधी भित्र्याउने हो । नयाँ ब्रोकर थपेर वा शाखा विस्तार गरेर मात्रै पुँजी बजार विस्तार हुँदैन् । त्यसका लागि नेप्सेमा फुल अटोमेसन सिस्टम चाहिन्छ । त्यस्तो भयो भने हामी भौतिक रुपमा शाखा विस्तार गर्दै जानु नै पर्दैन् ।
नेप्सेको फुल फेजेज अटोमेसन सेवा नभएकाले नै आज सेयर बजारमा ५० प्रतिशत गुनासाहरु आईरहेका छन् ।

सेयर बजार किन घटेको हो ?
priyaraj_borker

हामी लाइसेन्सिङ बिजनेश गर्ने एजेन्सी हौं । बजार भनेको कारोबार बढ्दा इन्डेक्स बढ्छ अनि इन्डेक्स वृद्धि हुँदा कारोबार पनि बढ्छ । यसले बजारमा उर्जा दिन्छ । फेरी बजारलाई असर पर्ने गरिक अभिव्यक्ति दिन हामीलाई बन्देज लगाइएको छ ।

म्युचुअफ फण्ड नआउँदा आउनु पर्यो बजार स्थायी हुन्छ भन्थे, अहिले ब्रोकरले डिलरशिप चाहियो भन्दैछन् नी किन ?
म्युचुअल फण्डले बजार घट्दा किन्ने र बढ्दा बेच्ने होइन् । म्युचुअल फण्डले त साना इकाइको पैसा संकलन गरेर लगानी गरिदिने मात्रै हो । म्युचुअल फण्डहरु संस्थागत लगानी कर्ता पनि होइनन् । हामी कहाँ संस्थागत लगानी कर्ता भैदिएको भए त बजार यसरी अप्राकृतिक रुपमा बढ्ने र घट्ने काम हुँदैनथ्यो । लगानी कर्तामा जनचेतना नबढाउँदासम्म बजार स्थायी हुन्न । पाँच करोडका कम्पनी पनि छन् नेप्सेमा । लघुवित्तको सेयरको मुल्यमा त्यसैले बढेको हो नी । पाँच करोडका कम्पनीलाई नेप्सेमा सूचिकृत गर्न दिने की नदिने भन्नेबारे सोच्नु आवश्यक छ । लघुवित्तको सेयर मुल्य जुनसुकैले जतिसुकै बेला बढाउन वा घटाउन सक्छ तर नेपाल इन्भेष्टमेन्ट बैंकको मुल्य कसैले बढाउन वा घटाउन सक्दैन् ।

धितोपत्र बोर्ड र नेप्सेको सम्बन्ध बिग्रीकाले बजारमा यथोचित विकास हुन नसकेको हो ?
हाम्रो मान्यता भनेको नियामक बलियो र बजार सञ्चालक चलायमान र दक्ष हुनुपर्छ भन्ने हो ।बोर्ड र नेप्सेबिचको सम्बन्ध कस्तो छ भन्ने कुरा सबैलाई जानकारी छ मैले केहि भन्नै पर्दैन् । सेयर बजार भनेको पद्धतिमा चल्ने क्षेत्र हो । कतिपय कुरा हामीले नेप्सेसँग भन्नु पर्छ । नेप्सेले हाम्रा कुरा सुनेर त्यसको कार्यान्वयनका लागि बोर्डमा पठाउनु पर्छ । तर नेप्से र बोर्डबिच समन्वय नहुने वित्तिकै हाम्रा कुरा नेप्सेबाट बोर्डमा जाँदैन् । त्यसकारण हामी मारमा परेका छौं । शाखा विस्तार २०७० सालदेखि अड्किएको छ ।

अर्काे कुरा भनेको नेप्सेको स्ट्रक्चरमा समस्या छ । स्टक सरकारको मातहतमा छ । आफैं केहि गर्न सक्दैन् । बोर्ड पनि अर्थमन्त्रालयकै मातहतमा छ । बोर्डको सञ्चालक समितिको संरचना नै अनुपयुक्त छ । त्यो स्वायत्त जस्तो देखिन्न । नेप्सेको निजीकरण र उपयुक्त वैदेशिक साँझेदार भित्र्याएर फुल अटोमेशनमा लैजानु पर्छ नेप्सेलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.