बैंकमा व्याजदर दिनदिनै बढ्न थाल्यो, सिभिल बैंकले ११.११ प्रतिशत दिने, सरकारी बैंक पनि व्याज बढाउन बाध्य

  २०७३ पुष २२ गते १०:२०     विकासन्युज

civil_bankकाठमाडौं, २२ पुस । बैकिङ क्षेत्रमा लगानी योग्य पुँजी (तरलता)को कमी भएपछि बैंकहरुले निक्षेपको व्याजदर दिन दिनै बढाउन थालेका छन् ।

जनता बैंक नेपालले पुस १७ गतेदेखि १०० दिन अवधिको मुद्दती खातामा १० प्रतिशत व्याज दिने योजना ल्यायो । लगत्तै मेघा बैंकले पनि निक्षेपकर्तालाई १० प्रतिशत व्याज दिने योजना ल्यायो ।

ती दुबै बैंकका योजना असफल हुने गरी सिमिल बैंकले शुक्रबार ११ दशमलव १ प्रतिशत व्याज दिने योजना सार्वजनिक गरेको छ । १११ दिनको मुद्दति खाताको लागि ११.१ प्रतिशत व्याज दिने बैंकले जनाएको छ ।

सिभिल बैंकले शुक्रबार जारी गरेको योजनाले जनता र मेघा बैंकको मुद्दति योजनालाई छायाँमा पारेको छ ।

गएको ५ महिना अवधिमा निजी क्षेत्रको लगानीमा खुलेका नयाँ बैंकहरु तुलनात्मक रुपमा बढी व्याजको प्रस्ताव गर्दै निक्षेप संकलनमा जोड दिएका छन् । यसको प्रभाव पुराना र सरकारी लगानी रहेका बैंकमा पनि विस्तारै पर्न थालेको छ ।

निक्षेप संकलनका कार्यलाई कहिल्यै प्राथमिकतामा नराख्ने सरकारी लगानी रहेको कृषि विकास बैंकले पनि ८.५ प्रतिशत व्याजदर प्रस्ताव गर्दै ७ महिने मुद्दति बचत योजना ल्याएको छ ।

बैकिङ क्षेत्रमा लगानी योग्य पुँजी (तरलता) कमी भएपछि व्यक्तिगत र संस्थागत दुबै निक्षेपकर्ताले आकर्षक व्याज पाएका छन् । कर्मचारी सञ्चय कोषका प्रशासक कृष्णप्रसाद आचार्यका अनुसार वाणिज्य बैंकहरुले निक्षेपमा दिने व्याज विगत पाँच महिनामा दोप्बर वृद्धि भएको छ । ‘गत असार/साउनसम्म हामीले मुद्दति खातामा करिव ५ प्रतिशत व्याज पाउँथ्याैं, अहिले बैंकहरुले ११ प्रतिशत व्याज दिन थालेका छन्’–उनले भने ।

बैकर्सहरुका अनुसार यतिबेला निक्षेप र कर्जाको अनुपात ८० प्रतिशत नाघेको छ । पुस मासान्तमा सो रेसियो ८० प्रतिशतको सीमा भित्र ल्याउन बैंकहरुले छोटो अवधिको निक्षेपमा जोड दिएका छन् ।

पुस मसान्तमा दोस्रो चौमासिक वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने र सो समयमा निक्षेप कर्जा अनुपात ठिक ठाउँमा राख्न बैंकहरुले कल एकाउण्टमा पनि उच्च व्याज दिएर निक्षेप तान्ने प्रयास गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.