एक हजारमै एसएलसीको प्रमाणपत्र, विदेश पठाइदिने नाममा नक्कली प्रमाणपत्रमा ठगी

  २०७३ पुष २१ गते ८:०२     विकासन्युज

काठमाडौं २१, पुस । विद्यालय कक्षा पास गरेपछि मात्रै दिइने एसएलसीको प्रमाणपत्र १ हजार रुपैयाँमै बनाइदिने गरेको खुलेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले विदेश पठाउँछु भन्दै ठगेको आरोपमा ऐनबहादुर थापा मगरलाई पक्राउ गरेपछि प्रहरी एसएलसीको नक्कली प्रमाणपत्र बनाइदिने गिरोहसम्म पुग्न सफल भएको हो । सो गिरोहले एसएलसीको प्रमाणपत्र चाहिने भन्दै आउनेलाई १ हजार रुपैयाँ लिई सहजै बनाइदिने गरेको थियो । गिरोहले नक्कली प्रमाणपत्र बनाएर विदेश जाने सोझा कामदारका लागि एसएसली पास गरेको धेरै प्रमाणपत्र वितरण गरिसकेको प्रहरीको अनुमान छ । certifacate-a

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार विदेश पठाउँछु भन्दै ठगेको आरोपमा जमलबाट पक्राउ परेका ऐनबहादुरका साथमा यमबहादुर थापा नामको एसएलसीको प्रमाणपत्र भेटिएको थियो । सो प्रमाणपत्र नक्कली थियो । त्यसमाथि अनुसन्धान गर्दै जाँदा नक्कली प्रमाणपत्र बनाएर ‘सुपथ मूल्य’ मा बेच्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरीे सफल भएको हो । ‘एसएलसीको प्रमाण पत्र पनि १ हजार रुपैयाँमा पाइन्छ भन्दा प्रहरी त्यो बनाउने गिरोहसम्म पुग्न सफल भयो,’ महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने ।

पक्राउ परेका ऐनले एसएलसीको नक्कली प्रमाणपत्र रानीबारीस्थित आईटी भेट टेक्नोलोजीका सञ्चालक तथा त्यहीँ काम गर्ने भगवान भण्डारीले १ हजार रुपैयाँमा बनाएको बताएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । ऐनलाई नै लिएर रानीबारी गएको प्रहरीले भण्डारीलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीले साइबर सञ्चालक विकास रम्तेललाई पनि पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ऐनलाई लिएर जाँदा सो गिरोह एसएलसीको प्रमाणपत्र बनाउन सहजै तयार भए र १ हजारमा नक्कली प्रमाणपत्र बनाइदिए । त्यस प्रमाणका आधारमा प्रहरीले साइवरमा चेकजाँच गर्दा एसएलसीका साथै उच्च माध्यमिक शिक्षा परिषद्अन्तर्गतका नक्कली प्रमाणपत्र, छाप, लेटरप्याड फेला पारेको थियो ।

यसअघि महाशाखाकै टोलीले इन्जिनियरको नक्कली प्रमाणपत्र बनाई नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता गराएर प्रमाणपत्र बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको थियो । त्यतिबेला पाँचजनालाई कम्प्युटरका साथै अन्य कागजातसहित पक्राउ गरिएको थियो । राजधानी दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.