निकुञ्जमा अप्टिकल फाइबर बिछ्याउन शुरु, ५२ किलोमिटर अप्टिकल फाइबर जडान गरिने

  २०७३ पुष ८ गते १२:१२     विकासन्युज

fiberचितवन, ८ पुस । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप आधुनिकीकरण गर्दै लैजान निकुञ्जभित्र अप्टिकल फाइबर बिछ्याउने काम शुरु गरिएको छ । यसअघि सामान्य केवलमार्फत ठाउँठाउँमा सिसी क्यामरा जडान गरेको निकुञ्जले त्यसलाई आधुनिक प्रविधिमा लैजान ५२ किलोमिटर अप्टिकल फाइबर जडान गर्न लागेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार निकुञ्जको मुख्य कार्यालय कसराबाट सौराहासम्म २० किलोमिटर, कसरा-भिम्ले-मेघौली २० किलोमिटर अप्टिकल फाइबर बिछ्याउन शुरु गरिएको छ । त्यसैगरी, नवलपरासीको अमलटारीबाट पूर्वतर्फ ६ किलोमिटर र पश्चिमतर्फ ६ किलोमिटर अप्टिकल फाइबर बिछ्याइने कँडेलले बताए ।

यसअघि निकुञ्जले राप्ती नदी किनारका विभिन्न ठाउँमा सामान्य तारमार्फत १० वटा सिसी क्यामरा जडान गरेको थियो । त्यसैगरी, पूर्वपश्चिम राजमार्गमा पर्ने बरण्डाभार जङ्गलको टिकौलीस्थित राजमार्गमा पनि १० वटा सिसी क्यामरा जडान गरिएको छ । जडान गरिएका सिसी क्यामरा वन र वन्यजन्तु संरक्षणमा प्रभावकारी भएपछि अप्टिकल फाइबर नै बिछ्याएर निकुञ्जका विभिन्न संवेदनशील क्षेत्रमा सिसी क्यामरा जडान गर्न लागिएको हो ।

प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को आर्थिक तथा प्राविधिक सहयोगमा अप्टिकल फाइबर र सिसी क्यामरा जडान कार्य सुरु भएको हो । अप्टिकल फाइबर जमिनभित्र बिछ्याइने छ भने संवेदनशील ठाउँमा गोप्यरुपमा सिसी क्यामरा जडान गरिनेछ ।

अप्टिकल फाइबर विछ्याउने कार्यसँगै सिसी क्यामरा जडान कार्य पनि भइरहेको कँडेलले बताए उनले कुन कुन ठाउँमा सिसी क्यामरा छ भन्नेबारे भने गोप्य नै राखिने बताए । उनले आवश्यकताअनुसार संवेदनशील ठाउँमा सिसी क्यामरा राखिएको छ भने ।

सिसी क्यामराको मनिटरिङ निकुञ्जको मुख्यालय कसराबाट गर्ने गरी व्यवस्था मिलाइएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । लगातार नौसय ६० दिनभन्दा बढी चोरीसिकार शून्य भएको निकुञ्जको सुरक्षालाई आधुनिकीकरण गर्दै लैजाने नीतिअनुरुप यो कार्य सुरु गरिएको कँडेलको भनाइ छ ।

“चोरीसिकारीलाई शून्यमा राखिराख्न थप आधुनिक प्रविधितर्फ निकुञ्ज जान लागेको हो”, कँडेलले भने। चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एक सिङ्गे गैँडा, बाघ, हात्तीलगायत जङ्गली जनावर रहेका छन् । निकुञ्जले छिट्टै अर्ना र बाह्रसिङ्गे पनि स्थानान्तरण गरेर ल्याउने तयारी गरिरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.