लघुवित्तले बनायो महिलालाई करोडपति

  २०७३ मंसिर २६ गते १२:२४     युवराज पाण्डे

rupeesबनेपा, २६ मंसिर । चरम आर्थिक सङ्कटबाट जीवनयापन गरेका महिलाको जीवनमा एकाएक परिवर्तन भएको छ । ५०० रुपैयाँका लागि कसैले नपत्याएकी बनेपा–६ की अनुष्का श्रेष्ठ अहिले करोडपति बनेकी छिन् ।

छिमेक लघुवित्त विकास बैंकको शनिबार बनेपामा भएको १२औँ एकाइ भेलामा आफ्नो सफलताको कारण सुनाउँदै उनले भनिन् – “आज मसँग एक करोड रुपैयाँभन्दा बढीको सम्पत्ति छ ।”

परिवारमा समेत कुनै सहयोग नपाएर माइती पक्षका भाइ र बुबाको हस्ताक्षरमा ऋण लिएर व्यवसाय सुरु गरेकी श्रेष्ठले भनिन् – “पहिले मेरो श्रीमानले पनि वास्ता गर्नुभएन तर अहिले सबै कुरामा सहयोग गर्नुभएको छ ।” अहिले पसल पनि चलाएको छु र १८ आना जग्गा पनि किनेको छु – श्रेष्ठले भनिन् ।

उनले सो विकास बैंकबाट सुरुमा १५ हजार रुपैयाँ, त्यसपछि २० हजार रुपैयाँ र क्रमशः लाखौँ कर्जा लिएर व्यवसाय सुरु गरेपछि उनको जीवनमा सो परिवर्तन आएको हो ।

उनीजस्तै एक किलो गहुँको पिढोले छाक टारेकी धुलिखेल नगरपालिका–६ की सुमित्रा बानियाँ अहिले लखपति भएकी छन् । बिहान के खाउँ, बेलुका के खाउँ भन्ने चरम दुःख पाएकी उनले भने – “कैयौँ रात त भोकै पनि बसियो ।”

बानियाँले ऋण लिएको रकम सदुपयोग गर्न सुझाव दिँदै जीवनमा ठूलो आर्थिक परिवर्तन भएको सुनाइन्।

पनौतीकी लक्ष्मी सापकोटाले यो लघुवित्तले दुःख पीडा भुलाउने काम गरेको उल्लेख गर्दै अहिले मसँग गाडी पनि छ जग्गा पनि किनेको बताइन् । छिमेक लघुवित्त विकास बैकले स्थापनाकालदेखि नै महिलाको आर्थिक जीवनसँग जोडेर कार्यक्रम सञ्चालन गरिरहेको छिमेक लघुवित्त विकास बैंकका अध्यक्ष भुवनेश्वरी पन्तले बताइन् ।

बैंकका कार्यकारी निर्देशक रामचन्द्र जोशीले लघुवित्त विकास बैंकले २० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने जानकारी दिँदै ब्याज घटाउने विषयमा छलफल भइरहेको बताए । बैंकका नायब महाप्रन्बधक शोभा मिश्रले बैंकका कारण महिलाको आर्थिक सशक्तीकरणसँगै नेतृत्व विकास पनि भएको बताइन् ।

छिमेक लघुवित्त विकास बैंक बनेपाका प्रबन्धक रामकृष्ण पाण्डेले महिलालाई लक्षित गरेर कृषि, पशुपालनलगायतका क्षेत्रमा लगानी भएको बताए ।

सो अवसरमा उत्कृष्ट काम गरेबापत पहिलोलाई चार हजार रुपैयाँ, दोस्रोलाई तीन हजार रुपैयाँ, तेस्रोलाई दुई हजार रुपैयाँ, चौथोदेखि छैठौँलाई एक हजार रुपैयाँ, सातौँदेखि दशौँलाई ५०० रुपैयाँका दरले पुरष्कृत गरिएको थियो भने १० समूहका विपन्न सदस्यका छोराछोरीलाई पढाउनका लागि दुई हजार ४०० रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.