‘जतिवटा उद्योग चलायो, दैनिक त्यतिथरी औषधि खानुपर्छ’ उद्यमी प्रबलजंग पाण्डे भन्छन्–‘तरपनि म हरेक वर्ष नयाँ उद्योग खोल्छु’

  २०७३ मंसिर २३ गते १३:२१     रामकृष्ण पाैडेल

काठमाडौं, २३ मंसिर । ‘एउटा नयाँ उद्योग खोल्नु भनेको बल्ड प्रेसरको अर्को एउटा औषधि थप्नु हो । मैले अहिले ३ वटा उद्योग हेर्छु र मैले दैनिक ४ प्रकारका औषधि खान्छु । अब मैले नयाँ उद्योग खोले भने ५ प्रकारका औषधि खानुपर्ने हुन्छ’ युवा उद्यमी प्रवलजंग पाण्डे भन्छन्–‘नयाँ उद्योग खोल्नु भनेको अर्को तनाव लिनु हो । तरपनि म नयाँ उद्योग खोल्छु । यो मेरो अठौट हो । आज सरकारले बुझेको छैन, तर कुनै दिन सरकारले बुझ्ने छ ।’

प्रबलजंग पाण्डे

प्रबलजंग पाण्डे

हरेक वर्ष एउटा उद्योग खोल्दै जाने उदेश्य आफूले लिएको बताए । ‘सानो होस वा ठूलो, प्रत्यक वर्ष एउटा उद्योग खोल्छु’ उनले आफ्नो अठोट सुनाए । उनी र उनका परिवारले औषधि, सिमेन्ट, जलविद्युत् क्षेत्रमा लगानी विस्तार गरिरहेको छ । साथै, बैकिङ, बीमा र सूचनाप्रविधि जस्ता सेवा मुलक क्षेत्रमा पनि लगानी विस्तार गर्दै आएको छ ।

आफूले लगानी गरेको सबै कम्पनीहरुको पर्फमेन्स राम्रो रहेको बताए । ‘हामीले लगानी गरेको जुनसुकै बिजनेश वार्षिक १५÷२० प्रतिशत वृद्धि भईरहेको छ । उद्योग होस्, बैकिङ होस् वा बीमा’ पाण्डे भन्छन्–‘हामीले औषधिको उत्पादनमा हरेक वर्ष २५ प्रतिशतले वृद्धि गर्दै आएका छौं । पहिला जनकपुरमा मात्र सिमेन्ट उद्योग थियो, अहिले विराटनगरमा पनि सिमेन्ट उद्योग लगाएका छौं । जनकपुरमा पहिला ४०० मेट्रिकटन उत्पादन हुन्थ्यो, अहिले उत्पादन क्षमता वृद्धि गरेर ८०० मेट्रिकटन पुर्याएका छौं । एकमहिना भित्र क्लिङकर उद्योग सञ्चालन गर्दैछौं ।’

‘हामीले उत्पादन गरेको औषधि विश्व बजारमा प्रतिस्पर्धा गरिरहेको छ । हामी ८ भन्दा बढी देशमा औषधि निर्यात गर्दै आएका छौं’ पाण्डेले भने–‘हामी संलग्न भएको शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा सबैभन्दा अगाडि छ, बैंकले पनि राम्रो गरिरहेको छ ।’

व्यवसायको लागि उद्योग भन्दा सेवाको क्षेत्र सजिलो भएको उनले बताए । ‘सेवा क्षेत्रमा प्रतिस्पर्धा स्वदेशमा मात्र हुन्छ । उद्योगले विश्व बजारसँग प्रतिस्पर्धा गर्नुपर्छ । त्यसैले उद्योग चलाउन गाह्रो छ’ उनले भने ।

उद्योग चलाउँदा धेरै समस्याहरुसँग जुध्नु पर्ने उनले बताए । उत्पादन लागत बढी हुनु सबैभन्दा ठूलो समस्या भएको उनले बताए । बजार सानो भएकोले ठूलो परिमाणमा उत्पादन गर्न नसक्नु, उद्योमा विद्युत आपूर्ति नियमित नहुनु, अधिकांश नेपाली उद्योग विदेशी कच्चा पदार्थमा आधारित हुनु र कच्चा पदार्थ नै महँगो पर्नु, ढुवानी तथा यातायातको लागत बढी हुनु, नीतिगत अस्तिरता हुनु, जग्गा व्यापारीलाई भन्दा उद्योगीलाई आयकर दोब्बर हुनु मुख्य समस्या भएको बताए ।

उद्यमीलाई इज्जत नदिने संस्कारले व्यवसायीहरुको मनोबल गिरेको उनले बताए । ‘नेता, प्रशासकहरु नै उद्योगी व्यवसायीलाई चोर, ठग भनेर गाली गर्छन’ युवा उद्यमी पाण्डे भन्छन् ‘जतिसुकै दुःख भएपनि हामी उद्योग बन्द गर्दैनौ । हामी जस्ता धेरै उद्यमी, जो निरन्तर उद्योगमा लागेका छन्, उनीहरु नै यो देशका सच्चा देशभक्त र देश निर्माता हुन् ।’

‘जुनदिन औषधिको एउटा केसमा मलाई प्रहरीले एक दिन समातेर लग्यो र भोलि पल्ट छोडिदियो । त्यहि वेला मैले भनेको थिए, नेपालमा उद्योगमा लगानी गर्नु भनेको पाप गर्नु हो । अहिलेसम्म मेरो बुझाई त्यहि हो कि उद्योगमा लगानी गर्नु पाप गर्नु नै हो’ उनले निरासा व्यक्त गरे ।
उनीसँग गरिएको ‘विकास वहस’ विकास मिडियाको प्रिन्ट संस्करण देशविकास पत्रिका र डिजिटल संस्करण विकासन्युज डटकममा अागामी आईतबार प्रकाशित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.