धान उत्पादन बढेपछि किसान उत्साहित, ३३ हजार पाँच सय ७२ मेट्रिक धान उत्पादन

  २०७३ मंसिर १२ गते १५:५१     आदित्य दाहाल

dhaanमेलम्ची, १२ मंसिर । धान उत्पादन राम्रो भएपछि यहाँका किसान उत्साहित भएका छन् । भूकम्प पछिकोे पुनः निर्माण भन्दा पाकेको धान धान भित्र्याउन लागेका कृषक सोचेजस्तो धान उत्पादन भएपछि खुसी भएका हुन् । खेतमै पोकेको धानमा मुसा, चराले झारेर सखाप हुने डरले पुनः निर्माणका कामलाई समेत बेवास्था गरेर धान भित्र्याउन लागिपरेको फटकशिलाका कृषक गणेश घोरासैनी बताउछन् ।

त्यस्तै मेलम्ची नगरपालिका–१२ बस्ने टोमशङ्खर दुलाल पनि घर बनाउन अलपत्र छोडेर बाली भित्र्याउन नै तल्लिन छन् । भूकम्प आएका वर्ष उनले रोपाइँ गर्न सकेनन् । अहिले बिटा लगाएर धान झार्न पाउँदा उहाँका परिवार आनन्दित छन् । पहिरोले जोखिम रहेको दुलालको टहरो मै धानको भकारी कसिँदैछ । उनी मात्र होइन, चीनसँगको सीमावर्ती गाउँ घुम्थाङ, मानेश्वरा, पिस्कर, राम्चे, कर्थलीदेखि फुल्पिङकट्टी, चाकु, गाती, मार्मिङसम्मका सीमा क्षेत्रका सबै किसान धान भित्र्याउने हतारोमा छन् ।

सदरमुकाम चौतारासँग जोडिएका ग्रामीण सेलाङ, सिम्पालकाभ्रे, नवलपुरदेखि इर्खु गाविसका किसान पनि धान भित्र्याउने कार्यमै जुटिरहेका छन् । जिल्लाको अत्यधिक धान उत्पादन हुने मेलम्ची क्षेत्रमा पनि धान भित्र्याउन उस्तै चटारो छ । तीन बालीसम्म धान उत्पादन गर्ने गरेका मेलम्चीका बासिन्दा धान उत्पादन जीवन निर्वाहको राम्रो स्रोत रहेको बताउँछन् ।

मेलम्ची नगरपालिका फट्केश्वरका किसान नकुलेश भट्टराइले भने, “अहिले धान दुई बाली भित्र्याइसकेका छौँ ।” अघिल्लो वर्षको तुलनामा धान राम्रै भएको छ । उनी प्रत्येक मंसिरमा तीनबाली धान भित्र्याउने गर्छन । धानखेतीका लागि मेलम्ची उर्वर भूमि मानिन्छ । भूकम्पलगत्तै डेढ वर्ष टहरामा बिताएका भूकम्पपीडितलाई विगत झैँ अहिले पनि धान राख्न समस्या भएको छ । ग्रामीण भेगका पीडितलाई धान भित्र्याउने उचित स्थान नभएपछि कहाँ राख्ने अन्यौल भएको छ ।

जिल्लाभर ३३ हजार पाँच सय ७२ मेट्रिक धान उत्पादन भएको छ । गत सालको तुलनामा यस वर्ष सात हजार पाँच सय मेट्रिक टनभन्दा बढी धान उत्पादन भएको कृषि विकास कार्यालयका बाली विज्ञ हेमराज शर्मा तिवारी बताउछन् । यस वर्ष कृषि कार्यालय र अन्य विभिन्न सङ्घसंस्थाले ७० मेट्रिक बीउ कृषकलाई वितरण गरेको थियो । कृषकलाई उन्नत जातको बीउ र समयमा नै मल उपलब्ध गराउँदा यस वर्ष धान उत्पादन बढेको कृषि विकास कार्यालयको अनुमान छ । कृषि विकास अधिकृत हिक्मतबहादुर श्रेष्ठले बीउ र मल समयमै उपलब्ध गराएको उत्पादनका पूर्वाधारमा समेत सहज पहुँच भएकाले पनि उत्पादन वृद्धि भएको हो ।

जिल्लाभर ६० प्रतिशत मकावनपुर–१ त्यसपछि खुमलटार, राधा–४, हर्दिनाथलगायतका हाइब्रिड जातका धानखेती हुने गरेको छ । कृषि विकास कार्यालयका अनुसार गत वर्ष नौ हजार नौ सय ११ हेक्टर जमिनमा धान खेती भएकामा आहिले ११ हजार नौ सय ९० हेक्टरमा धान खेती गरिएको छ । भूकम्पपछि दुई हजार रेक्टर जमिन बाँझै थियो । गत वर्ष २६ हजार चार सय मेट्रिक टन मात्रधान उत्पादन भएको थियो भने यो वर्ष ३३ हजार पाँच सय ७२ मेट्रिक धान उत्पादन भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.