करोडौको सम्पत्ति गुमाउँदै बीमा समिति, आयव्यय सबै गोप्य, ठूला करदाता कार्यालयले भाडा दिएन

  २०७३ मंसिर ८ गते १४:१९     विकासन्युज

काठमाडौं, ८ मंसिर । बीमा समितिले करोडौ मूल्य पर्ने सम्पत्ति गुमाएको छ । समितिको नाममा रहेको चावहिलस्थित दूई रोपनी जग्गामा बनेको घर अर्थमन्त्रालय अन्तर्गत ठूला करदाता कार्यालयले हडपेको छ । तर समिति भने त्यसबारे केही बोलेको छैन ।

बीमा समितिले गुमाएकाे चावहिल कार्यालय

बीमा समितिले गुमाएकाे चावहिल कार्यालय

काठमाडौंको रिङरोडमा जोडिएको चावहिलको कार्यालय अपाएक भएको भन्दै समितिले ललितपुर जिल्लाको कुमण्डोलमा कार्यालय सारेपछि पुरानो कार्यालय भवन वेवारिसे अवस्थामा थियो ।

२०७२ साल बैशाख १२ गतेको भूकम्पपछि उक्त वेवारिसे भवनमा ठूला करदाता बसेको छ । ‘भूकम्पले ठूला करदाता कार्यालयमा क्षति पुग्यो, अर्थमन्त्रालयका सहसचिव मुकुन्द प्रसाद पौडेलको आग्रहमा समितिले ठूला करदाता कार्यालयलाई भाडामा बस्ने गरी भवन उपलब्ध गराएको हो ।

“हामीलाई अहिलेसम्म कर कार्यालयले बहाल बुझाएको छैन”, समितिका एक कर्मचारीले भने ‘‘एक वर्ष भन्दा बढी भइसक्यो तर सो कार्यालयले अहिलेसम्म भाडा बुझाएको छैन ।’’ कति रुपैयाँमा सो भवन भाडामा लगाएको हो भन्ने जानकारी बीमा समितिले दिएन ।

बीमा समितिले भाडामा दिएको भने पनि उक्त भवन भाडामा लिने दिनेसम्बन्धी कुनै करार सम्झौता नै नभएको ठूला करदाता कार्यालयकाे भनार्इ छ । कार्यालय प्रमुख युवराज श्रेष्ठका अनुसार बीमा समितिले नक्सा पास नगरी भवन बनाएकाे रहेछ । नक्सा पास नभएकाे कारणा प्रक्रिया पूरा गरी भवनकाे भाडा दर निर्धारणा हुन सकेन । भाडा दर निर्धारणा नभर्इ वहाल सम्झौता हुन सक्दैन । सरकारी निकायले प्रक्रिया नै नपुर्याइ भाडा  दिन पनि सक्दैन ।

नक्सा पास गराउने  विषयमा दुर्इ पटक पत्रचार पनि गरेकाे, समितिका अध्यक्षा डा फत्तबहादुर केसीलार्इ अाफैले भेटेर कुरा पनि गरेकाे तर समितिले ठाेस पहल नगरेकाे उनले बताए । ‘बीमा समितिले नक्सा पास गरेर ल्याअाेस्, हामी पुरै भाडा  दिन तयार छाैं’ ठूला करदाता कार्यालय चावहिल शाखा प्रमुख श्रेष्ठले भने ।

तर बीमा समितिकाे दावी अर्कै छ । ‘अन्य कार्यालयलाई भाडामा दिएको भएपनि रकम उठ्थ्यो र समितिलाई केही फाइदा पुग्थ्यो तर कर कार्यालयले हामीलार्इ टेरेन’  समितिका एक कर्मचारीले भने । भाडाका लागि पटक पटक ताकेता गरेपनि करदाता कार्यालयले वास्ता नगरेको ती कर्मचारीले दुखेको पोखे । सो घरमा पहिले पुनर्विमा कम्पनीले पनि भाडामा बस्न खोजेको थियो तर समितिले दिएको थिएन । मन्त्रालयले नै निर्णय गरेपछि आफूहरुले केही बोल्ने बाटो नभएको ती कर्मचारीले भने ।

समितिले सो भवनलाई बीमा अनुसन्धान तथा तालिम केन्द्र बनाउने सोचेको थियो । ‘सो भवनमा बीमा अनुसन्धान तथा तालिम केन्द्र बनाउने भनेर अध्यक्षज्यूले धेरै पटक भन्नु भयो, सार्वजनिक रुपमा पनि बोल्नु भयो । तर कुरा मात्र भयो, काम केही पनि भएको छैन’ समितिको उच्च अधिकारीले भने ।

समितिको अध्यक्ष डा फत्तबहादुर केसीको असक्षमताको कारणले चवहिलस्थित पुरानो कार्यालय समितिका कर्मचारीहरु बताउँछन् । बीमा समितिको हालको कार्यालय रहेको कुपण्डोलको समितिको कार्यालय भने नेपाल बैंकसँग अध्यक्ष केसीको विशेष पहलमा किनिएको हो । कुपण्डोलको पुरानो भवन प्रयोग बनाउन बीमा समितिले झण्डै एक करोड रुपैयाँ खर्च गरिसकेको स्रोतले बतायो ।

हालकाे कार्यालय

हालकाे कार्यालय

‘यही नयाँ भवन बनाउने भनिएको छ । तर ठोस काम भएको छैन, पुरानो भवन मर्मत र सजावटमा मात्र झण्डै करोड रुपैयाँ खर्च भईसक्यो’ स्रोतले भन्यो । ‘हामी त अध्यक्षले अराएको काम गर्ने हो, उहाँले भनेको काम गरेन वा फरक विचार राख्यो भने त्यो कर्मचारीको विरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियारमा बेनामी उजुरी परिहाल्छ, यहाँ त कोही बोल्नै सक्दैन’ उनले गुनासो सुनाउन थाले ।

समितिले बीमा कम्पनीहरु मार्फत बीमा ग्राहकसँग लिएको बीमा शुल्कको १ प्रतिशत रकम अनिवार्य असुल्दै आएको छ । ‘बीमितसँग उठाएको अबौं रुपैयाँ बीमा समितिसँग छ । मनलाग्दी खर्च भएको छ’ एक बीमकले भने–बीमा कम्पनीको पारदर्शिता खोज्ने नियामक निकाय आफू पारदर्शी हुनुपर्दैन ?

बीमा समितिको वार्षिक आयव्यय पनि सार्वजनिक नभएको, समितिको आर्थिक पारदर्शीताको विषयमा कसैले प्रश्न पनि नगरेको, पत्रकारले समाचार पनि नलेखेको टिप्पणी उनले गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.