क्यासिनोबाट पहिलोपटक आकस्मिक लाभकर, तीन क्यासिनोले तिरे ५५ लाखको आकस्मिक लाभकर

  २०७३ मंसिर ४ गते १५:३४     विकासन्युज

काठमाडौं ४, मंसिर । नेपालमा संचालनमा रहेको क्यासिनो सरकारी नियमावली अनुसार संचालनमा नै समस्या देखिएको भएपनि पछिल्लो समय संचालनमा आएका तीन क्यासिनोले भने आकस्मिक लाभकरसमेत तिरेका छन् ।

सरकारले क्यासिनो नियमावली २०७० ल्याएपछि यसको पालना गर्न नसकिने र व्यवहारिक नभएको भन्दै सबै क्यासिनोले विरोध स्वरूप संचलानमा रहेको व्यापार व्यवसाय नै बन्द गरे । सरकारले नियमावलीको अनिवार्य कार्यान्वयन गर्न बाध्य बनाएपछि एकपछि अर्को गर्दै क्यानिसो नयाँ व्यवस्थापन खोज्दै संचलान हुन थाले ।casino-money

क्यासिनो नियमावली संचालमा आएका यी क्यासिनोले पहिलोपटक आकस्मिक लाभकरसमेत तिरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकालले बताए ।

क्यासिनो नियमावली पालन गरेर क्यासिनो संचालन हुन थालेपछि सोल्टी होटलमा रहेको क्यासिनो माजोङ, सांग्रीला होटको क्यासिनो मिलेनियर्स क्लव र तारागाँउ रिजेन्सी होटलको क्यासिनो प्राइडले गरी ५५ लाख रुपैयाँ आकस्मिक लाभकर तिरेको जानकारी पर्यटन विभागलाई प्राप्त भएको उनको भनाइ छ । विभागका अनुसार क्यासिनो मिलेनियर्स क्लबले २० लाख, क्यासिनो माजोङले २५ लाख र क्यासिनो प्राइडले १५ लाख रुपैयाँ गरी करीब ५५ लाख रुपैयाँको आकस्मिक लाभकर आएको छ ।

आन्तरिक राजस्व विभागले संकलन गरेको यो रकमको जानकारी सम्बन्धित क्यासिनोले क्यासिनोको नवीकरण गर्दा पर्यटन विभागमा जानकारी गराएको प्रवक्ता ढकालले बताए ।

उनका अनुसार क्यासिनो नियमावली पूर्व सरकारलाई कुनै पनि शुल्क नतिर्ने क्यासिनोबाट इजाजत शुल्क, नवीकरण शुल्क, आकस्मिक लाभकर, जरीवानासहितका शीर्षकमा सरकारी ढुकुटीमा रकम आउन थालेको छ ।

चालू आर्थिक वर्षको पहिलो चार महिनामा क्यासिनो नवीकरण, पर्वतीय पयटनको अनुमति, ट्राभल टे«किङको शुल्क गरेर २४ करोड ७ लाख ७४ हजार रुपैयाँ संकलन भएको पनि ढकालले बताए ।

यो रकममा सबैभन्दा ठूलो हिस्सा चार वटा क्यासिनोबाट १५ करोड रुपैयाँ रहेको छ । यस मध्ये क्यासिनो र्याडले पुरानो तीन करोडको वक्यौता तिरेको हो भने माजोङ, प्राइड र मिलेनियर्स क्लवले चालू आवको लागि नवीकरण शुल्क ३/३ करोड रुपैयाँ चुक्ता गरेका हुन ।

विभागका अनुसार पछिल्लो समय नेपालमा क्यासिनो सरकारी नियमावली अनुसार संचालन हुन थालेका र सरकारी राजस्व पनि तिर्न थालेका छन् । सरकारी मापदण्डको विरोध गरेका अन्य क्यासिनोले पनि एकपछि अर्को गर्दै संचलनको तयारी गरिरहेका छन् ।

क्यासिनो भेनस पुनः बन्द
सरकारले क्यासिनो नियमावली २०७० ल्याएपछि यसको पालना नगरेर बन्द भएको मल्ल होटलमा रहेको क्यासिनो भेनस पुनः तीन महिना अगाडि मात्रै अदालतको अन्तरिम आदेशले खुला भएको थियो ।

क्यासिनो संचलानको तयारी भइरहेको समयमा होटल र क्यासिनो व्यवस्थापनबीच विवाद देखियो । त्यसपछि अदालत पुगेको यो मुद्दामा सरकारी नियम पालन गरेर र राजस्व तिरेरै मात्र संचालन गर्न निर्देशन दिएपछि पुनः बन्द भएको ढकालले बताए । उनका अनुसार अब यो क्यासिनो सरकारी नियमावली अनुसार नै संचालन हुन पाउँछ, अन्यथा बन्द नै गर्नुुपर्ने ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.