एनसीसी बैंक र चार विकास बैंकबीच मर्जर विवाद अदालतमा, प्रक्रिया रोक्न अदालतको अन्तरिम आदेश

  २०७३ मंसिर २ गते १९:२३     विकासन्युज

laxmi_bahadur_shrestha

लक्ष्मीबहादुर श्रेष्ठ

काठमाडौं, २ मंसिर । एनसीसी बैंक र चार वटा विकास बैंकहरुबीच मर्जर प्रक्रियामा नयाँ झमेला आईपरेको छ । विवादास्पद व्यवसायी तथा एनसीसी बैंकका प्रवद्र्धक लक्ष्मीबहादुर श्रेष्ठले मर्जर प्रक्रिया त्रुटीपूर्ण भएको दावी गर्दै एनसीसी बैंक विरुद्ध जिल्ला अदालत काठमाडौं मुद्दा हालेका छन् । अदालतले पनि मर्जर प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश ल्याएपछि समस्या सिर्जना भएको अधिकारीहरुले बताएका छन् ।

‘लक्ष्मीबहादुर श्रेष्ठले मर्जर प्रक्रिया विरुद्ध जिल्ला अदालतबाट अन्तरिम आदेश ल्याएकोले मर्जरको अन्तिम स्वीकृत दिन मिलेन’ नेपाल राष्ट्र बैंक स्रोतले भन्यो–‘यस विषयमा राष्ट्र बैंकले कानुनी प्रक्रिया मिलाएर निर्णय गर्छ ।’

एनसीसी बैंक सम्बद्ध स्रोतका अनुसार लक्ष्मी बहादुर श्रेष्ठले डीडीए रिपोर्ट र स्वाप रेसियो, हरिसिद्धीको जग्गा टेण्डर, गत असार मसान्तसम्मको लाभांश वितरण र विशेष साधारसभाको बारेमा अदालतमा कानुनी प्रश्न उठाएका छन् ।

उनले डीडीए रिपोर्टमा एनसीसी बैैंकको सेयरको भ्यालुएशन कम गरेको र स्वाप रेसियो कम भएको आरोप लगाएका छन् ।

त्यस्तै, मर्जर प्रक्रियामा सहभागी सबै बैंकहरुले असार मसान्तसम्मको नाफा आ–आफ्ना सेयरधनीलाई वितरण गर्न पाउनु पर्ने माग गरेका छन् । तर डीडीए गरि स्वाप रेसियोमा सहमति जनाईसकेपछि मर्ज सम्पन्न भएपछि मात्र लाभांश वितरण गर्नुपर्ने र सबै सेयरधनीलाई समान दरमा लाभांश वितरण गर्नु पर्ने राष्ट्र बैंकको निर्देशन छ ।

त्यस्तै, मर्जरको क्रममा विशेष साधारणसभा गर्दा कुमारी बैंकसहित मर्ज हुने निर्णय भएको तर अन्तिममा कुमारी बैंक मर्जर प्रक्रियाबाट बाहिरीएकोले पुनः विशेष साधारणसभा हुनुपर्ने श्रेष्ठको दावी छ ।

त्यस्तै, उनले हरिसिद्धीको जग्गा बिक्री प्रक्रियामा आफूले हालेको टेण्डर सदर गर्न माग गरेको छन् । स्रोतको अनुसार एनसीसी बैंकले लिलामीको लागि टेण्डर आह्वान गरेको हरिसिद्धीको जग्गामा लक्ष्मीबहादुर सम्वद्ध कम्पनीले ४२ करोड रुपैयाँ कबोल गरि टेण्डर हालेको छ । अर्को कम्पनीले ७९ करोड रुपैयाँमा टेण्डर हालेको छ ।

श्रेष्ठले अदालतमा मुद्दा हाल्दा एनसीसी बैंकलाई मात्र विपक्षी बनाएकोले मर्जरको लागि अन्तिम स्वीकृत दिन मिल्ने राष्ट्र बैंकका कानुनी सल्लाहकारको राय छ । जिल्ला अदालतको आगामी आईतबारको लागि विपक्षीलाई बलाएकोले अदालतको अन्तिम निर्णय आगामी साता आउन सक्ने सम्भावना औल्याउदै केही समय अदालतको निर्णय कुर्ने र उचित निर्णय लिने मनस्थितिमा राष्ट्र बैंक रहेको स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.