सवारी हाँक्नेमा निगरानी बढ्दै, गाँजा खाएर सवारी चलाए पनि कारबाही

  २०७३ कार्तिक ३० गते ७:५६     विकासन्युज

काठमाडौं ३०, कात्तिक । मादक पदार्थ सेवन गरेर मात्र होइन, गाँजालगायत लागुऔषध सेवन गरेर सवारी चलाउनेलाई पनि प्रहरीले कारबाही गर्न थालेको छ । मदिराभन्दा लागुऔषध सेवन गरेर सवारी चलाउँदा दुर्घटनाको सम्भावना अझ बढी हुने भएकाले प्रहरीले उनीहरूलाई पनि कारबाही गर्न थालेको हो ।

नगरकोट सडक क्षेत्रमा गाँजा सेवन गरेर सवारी चलाउनेको संख्या धेरै रहेको खुलेपछि प्रहरीले कारबाही गर्न थालेको हो । ‘धेरैले गाँजा सेवन गरेर सवारी चलाउने र दुर्घटनामा पर्ने गरेको देखियो,’ महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी प्रमुख एसपी किरण बज्राचार्यले भनिन्, ‘गाँजा खाएर सवारी चलाउनेलाई पनि हामीले पक्राउ गरी कारबाही गर्न थालेका छौँ ।’traffic_police111

काठमाडौं उपत्यकाका धेरै युवायुवती गाँजा तथा अन्य लागुऔषध सेवन गर्न नगरकोट पुग्ने गरेको खुलेको छ । लागुऔषधमा लट्ठिएर उनीहरू सवारीसाधन चलाएर फर्कने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

हाल एक दिन थुनेर अभिभावकलाई जिम्मा लगाइएको एसपी बज्राचार्यले बताइन् । लागुऔषध सेवनकर्तालाई लागुऔषध मुद्दामा छुट्टै कारबाहीसमेत हुन सक्छ । नगरकोट क्षेत्रमा जाने युवायुवतीमाथि प्रहरीले निगरानी बढाएको छ । नगरकोटका कतिपय होटेलकै कर्मचारीले गाँजा बिक्री गर्ने सूचना प्रहरीले पाएको छ ।

गत ११ असोजमा चाँगुनारायणमा भएको बस दुर्घटना चालकले गाँजा पदार्थ सेवन गरेकै कारण भएको खुलेको थियो ।
दुर्घटनामा एकको मृत्यु र २२ जना घाइते भएका थिए । सजिलो बाटोमा चालकको लापरबाहीका कारण बस दुर्घटना भएको थियो । बसचालक गाँजा दुव्र्यसनी भएको प्रहरीले जनाएको छ ।

मदिराभन्दा लागुऔषधको नशा कडा हुन्छ, जसका कारण सवारी चलाउँदा दुर्घटनामा पर्ने धेरै सम्भावना हुन्छ । तर, नेपालको कानुनअनुसार लागुऔषध सेवन गरी सवारी चलाउँदा जरिवाना हुने प्रावधान छैन । ‘लागुऔषध सेवन गरेर सवारी चलाएको कसरी थाहा पाउनु रु’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी लोकेन्द्र मल्ल भन्छन्, ‘लागुऔषध सेवन गरेर सवारी चलाउँदा जरिवाना र कारबाही गर्ने हाम्रो कानुनी प्रावधान पनि छैन ।’ नयाँ पत्रिका दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.