महानगरमा शौचालय अभाव, सर्वसाधारणलाई शौचालन नहुँदा सास्ती

  २०७३ कार्तिक २९ गते ७:५७     विकासन्युज

काठमाडौं २९, कात्तिक । काम विशेषले न्युरोड आउनु भएका ह्विलचियर प्रयोगकर्ता अर्जुन सुवेदी पिसाब गर्न सार्वजनिक शौचालयको खोजीमा निकै बेर तड्पिनुभयो । केही उपाय नलागेपछि खुलामञ्च नजिकको सडक छेउमा बसेर पिसाब फेर्नुभयो तर उहाँलाई निकै लज्जाबोध भयो ।

रत्नपार्क पुग्नसक्दा त्यहाँ चारवटा सार्वजनिक शौचालय त छन् तर सुवेदीले ह्विलचियर प्रयोग गर्ने भएकाले ती शौचालय उहाँका लागि उपयुक्त भएनन् । सडक छेउमा लाजै पचाएर पिसाब गर्नु रहर नभएर बाध्यता भएको बताउँदै सुवेदीले भन्नुभयो– ‘यस्तो व्यस्त ठाउँमा धेरै नभए पनि एउटा शौचालय त मजस्ता व्यक्तिले प्रयोग गर्न सक्ने बनाउनुपर्छ नि । ’toilet-of-ktm

उहाँ त केटा मान्छे हुनुभयो, सडक छेउमा पिसाब गर्नुभयो, उहाँजस्ता शारीरिक अपाङ्गता भएका महिलालाई यस्तो समस्या अझ बढी छ । कीर्तिपुर नगाउँ बस्ने ह्विलचियर प्रयोगकर्ता कमला नगरकोटी त घरबाहिर निस्किन पर्योभने बिहानदेखि पानी नपिई हिड्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पानी पियो भने पिसाब लाग्छ, ठाउँ छैन, त्यसैले तिर्खा लागे पनि सहनुपर्छ ।

सार्वजनिक शौचालय नहुँदाको पीडा अपाङ्गता भएका व्यक्तिको त छँदैछ, अन्य व्यक्तिका लागि पनि पर्याप्त शौचालय छैनन् । भएका पनि प्रयोग गर्न नसकिने फोहोर, पानी नभएको र ढोकाको चुकुलसमेत नलाग्ने खालका छन् ।

नयाँसडक, रत्नपार्क, नेपाल एयरलाइन्स, इन्द्रचोक, जमल, असनलगायत ठाउँमा प्रतिघण्टा दुई लाख मानिस सवारी वा पैदलै विभिन्न काम विशेषले ओहोरदोहोर गर्ने गरेको एक अध्ययनले देखाएको छ तर त्यस क्षेत्रमा ओहोरदोहोर गर्नेका लागि अति आवश्यक सार्वजनिक शौचालयको सङ्ख्या छवटा मात्रै छन् । ती पनि प्रयोग गर्न लायका छैनन् ।

निजीस्तरबाट सञ्चालित एउटा मोबाइल शौचालय छ, त्यो पनि फोहोर र भीडभाड हुने । काम विशेषले कहिलेकाहीँ आउनेले त पानी नपिइ हिँडे पनि भयो तर सधैँ त्यही क्षेत्रको सडकमा व्यापार गर्नेका ठूलो समस्या छ । यस्तैमध्येका एक व्यापारी रञ्जना गुरुङको अनुभवमा सार्वजनिक शौचालय गई साध्य नहुने भए पनि जानैपर्ने हुन्छ । पैसा तिरिन्छ र पनि सफाइ छैन ।

थानकोटबाट वृद्धा हजुरआमालाई रत्नपार्क घुमाउन लिएर हिडेकी पुजा अमात्यले उहाँलाई शहरतिर ल्याउँदा डाइपर लगाएर हिँडाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘बुढाबूढी मान्छे एकैछिन पनि पिसाब रोक्न सक्नुहुन्न्, सबैतिर सार्वजनिक शौचालय छैनन् । पसल वा घरमा गएर धेरै नै अनुरोध गरेपछि शौचालय प्रयोग गर्न दिए पनि निकै अप्ठयारो ठाउँमा हुन्छन् त्यसैले केही उपाय त सोच्नु पर्यो नि । गोरखापत्र दैनिकबाट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.