पोखराको प्राकृतिक सुन्दरतामा भारतीय राष्ट्रपति मुखर्जी माेहित, ‘भगवानले फुर्सदमा बनाएकाे सुन्दर ठाउँ’

  २०७३ कार्तिक २१ गते १८:०४     वासुदेव पौडेल

पोखरा, २१ कात्तिक । अघिल्लो वर्ष सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) मा सहभागी सार्क राष्ट्रका विशिष्ट पाहुना र त्यसलगत्तै बेलायती राजकुमार ह्यारीलाई आकर्षित गरेको पोखराको सुन्दरताले पछिल्लो पटक भारतीय राष्ट्रपति मुखर्जीको मनलाई पनि लोभ्याएको छ ।

pokhara_tourist

विश्वका प्रमुख पर्यटकीय गन्तव्यमध्येमा एक महत्वपूर्ण गन्तव्यको रुपमा रहेकोे पोखरामा अन्तर्राष्ट्रियस्तरका विशिष्ट व्यक्तिको भ्रमणमध्ये यही शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट राजकीय भ्रमणको सिलसिलामा गरिएकोे भ्रमण सबैभन्दा पछिल्लो हो ।

जनकपुरबाट पोखरा विमानस्थलमा झर्नासाथ पोखरेली जनताको न्यानो स्वागत पाएका मुखर्जी पोखराको प्राकृतिक सुन्दरतामा मोहित भए ।

छोटो समयको भ्रमणका क्रममा यहाँस्थित भारतीय पेन्सन क्याम्पमा नेपाली भूतपूर्व भारतीय गोर्खा सैनिकलाई गरेको ११ मिनेटको सम्बोधनको सुरुमा नै राष्ट्रपति मुखर्जीले पोखराको सुन्दर नगरीको अवलोकनका लागि अवसर जुट्नु आफ्ना लागि सन्तोषको विषय भएको बताए ।

pranab_mukhargiविश्वका विभिन्न राष्ट्रका विशिष्ट व्यक्तिले प्राकृतिक सुन्दरताले भरिएको यस क्षेत्रको अवलोकनका गन्तव्यस्थल बनाउनु आफैमा महत्वपूर्ण उपलब्धि भएको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराल बताउछन् ।

यस्ता विशिष्ट व्यक्तिको भ्रमणका कारण यहाँको प्राकृतिक सुन्दरता विश्वका लागि थप चर्चाको विषय भएको छ भन्दै उनले यस्ता भ्रमणले यहाँको गरिमा र महत्व बढ्ने विश्वास व्यक्त गरे ।

गतवर्ष सम्पन्न सार्क मन्त्रिपरिषद्को बैठकमा सार्क राष्ट्रबाट प्रतिनिधित्व गर्ने परराष्ट्र एवम् विदेशमन्त्री तथा अन्य पाहुनाले मुक्तकण्ठले पोखराको प्रशंसा गरेर फर्केको विषय राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएको थियो ।

उक्त बैठकमा सहभागी हुन आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज लगायतका पाहुनाले पोखरालाई भगवानले फुर्सदमा बनाएको यो ठाउँ, प्रकृतिको अनुपम बरदान भएकाले महत्वपूर्ण निर्णय लिनका लागि उपयुक्त गन्तव्यजस्ता उपमा दिएकाले पनि यहाँकोे सुन्दरता विश्व माझ सबैको चासो र चर्चाको विषय बनेको थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा विश्वका पर्यटकलाई लोभ्याइरहेको पोखरामा अति विशिष्ट व्यक्तिको भ्रमण एवम् उच्चस्तरीय बैठकका लागि पनि छनोटमा पर्नु समग्र पोखराका लागि गौरवको विषय भएको बताउछन् ।

“पछिल्ला समयमा पोखरामा सम्पन्न सार्क शिखर सम्मेलन, बेलायती राजकुमार ह्यारीको भ्रमणसँगै सम्पन्न भारतीय राष्ट्रपतिको भ्रमणले पोखराको पर्यटकीय विकासका लागि थप ऊर्जा प्रदान गरेको छ”– उनले भने ।

इतिहास खोतल्दा यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीया र सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णनले पनि पोखराको भ्रमण गरेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.