नेपालका खानीमा पेट्रोलियम पदार्थ रहेको पुष्टि

  २०७३ कार्तिक २१ गते १२:४३     नारायण पौडेल

petroleumकाठमाडौं, २१ कात्तिक । सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका खानीहरुमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको छ ।
चाइना जियोलोजीकल सर्भेका विज्ञहरुले गरेको अध्ययनले ती खानीहरुमा पेट्रोलियम पदार्थ रहेको ल्याब रिपोर्टले देखाएको हो ।
‘चिनियाँहरुको अध्ययनले ती खानीहरुमा पेट्रोलियम पदार्थ रहेको रिपोर्ट तयार पारेको छ, तर त्यो रिपोर्ट आधिकारिक रुपमा नेपाललाई पठाएको छैन’, खानी विभागका एक अधिकारीले विकासन्युजसँग भने ।

विभागका ती अधिकारीले चाइना जिओलोजिकल सर्भेका विज्ञ सम्मिलित टोलीले तयार पारेको सो रिपोर्ट डेढ महिना अघि नै चीन सरकारलाई बुझाइसकेको अनौपचारिक जानकारी प्राप्त भएको पनि बताए । ‘चिनियाँ टोलीले चिनियाँ सरकारलाई डेढ महिना अघि नै रिपोर्ट बुझाएको जानकारी हामीले अनौपचारिक ढंगले पाएका छौं, तर हामीलाई औपचारिक रुपमा त्यसको पुष्टि हुने कुनै सूचना भने दिइएको छैन’, खानी विभागका महानिर्देशक राजेन्द्र खनालले विकासन्युजसँग भने ।

चाइना जिओलोजिकल सर्भेको टोलीले गत अप्रिलमा नेपालमा रहेका तीन वटा पेट्रोलियम खानीहरुको स्थलगत अवलोकन गरेको थियो ।
अप्रिल ३० तारिखमा नेपाल आएको ६ सदस्यीय चिनियाँ टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीहरुको अध्ययन गरेर मे २६ तारिखका दिन चीन फर्किएको थियो । उनीहरुले यी तीन क्षेत्रमा रहेका श्रोत चट्टान र पेट्रोलियम अन्वेषण परियोजनासँग भएका तथ्यांकहरुको गहिरो अध्ययन गरेका थिए । उनीहरुले ल्याब परिक्षणका लागि सो क्षेत्रका चट्टान र माटोको नमूना चीन लगेका छन् ।एक महिना भित्र नेपाललाई रिपोर्ट पठाउने भन्दै चीन गएको टोलीले रिपोर्ट भने अझै पठाएको छैन् ।

कसरी हुन्छ उत्खनन ?
तत्कालिन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपालमा रहेका पेट्रोलियम खानीहरुको उत्खननका लागि चीनले सघाउने सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा चीनियाँ टोलीले पहिलो चरणको अन्वेषण गरेको थियो । अब उत्खनन गर्दा पनि सोही सम्झौताका आधारमा दुई मुलुकबिच संयुक्त कम्पनी वा प्रोजेक्टको स्थापना हुनेछ । सो कम्पनी वा प्रोजेक्टले उत्खननको मोडल तथा व्यवसायीक आधार तयार पार्नेछ ।

त्यसमा उत्खननपछि प्राप्त पेट्रोलियम पदार्थको केहि प्रतिशत चीनियाँ कम्पनीले पाउने र केहि नेपाल सरकारले पाउने उल्लेख गरिनेछ । कसको हिस्सा कति हुने भन्नेबारे भने दुई मुलुकका विज्ञ सम्मिलित टोलीले निर्धारण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.