विश्वकै ठूलो शालिग्राम शिला सङ्कटमा, कालीगण्डकीले परिक्रमा स्थल भत्काउँदै

  २०७३ कार्तिक २१ गते १०:२५     विकासन्युज

shalikram-parbatपर्वत, २१ कात्तिक । पर्वत, गुल्मी र स्याङ्जाको सिमानामा रहेको ‘विश्वकै ठूलो’ शालिग्राम शिलाको अस्तित्व सङ्कटमा पर्न थालेको छ ।

गत बर्खायाममा कालीगण्डकी नदीमा आएको बाढीले शिला परिक्रमा गर्न निर्माण गरिएको परिक्रमास्थल भत्किएपछि शिलाको अस्तित्व सङ्कटमा परेको हो । शिला संरक्षण तथा भक्तजन परिक्रमा गर्नका लागि निर्माण गरिएको संरचना नदीतर्फको भागमा पूरै भत्किएको छ । जसले गर्दा कालीगण्डकीको बहावले सिधै शिलामा ठोक्किने भएकाले शिला नै बगाउने सम्भावना बढेर गएको स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।
भगवान् विष्णुको अवतारका रुपमा लिइने शिला परिक्रमा गरेमा मनोकामना पूरा हुने विश्वासमा दैनिक हजारौंको सङ्ख्यामा तीर्थालु आउने गरेकामा शिलाको परिक्रमा गर्न नपाएपछि तीर्थालुको सङ्ख्यासमेत ह्वात्तै घटेको छ । पर्वत, स्याङजा, गुल्मी, बागलुङ, पाल्पा, चितवन, नवलपरासी, अर्घाखाँची लगायत मुलुकभरबाट दैनिक हजाराँैको सङ्ख्यामा आउने भक्तजन र शैक्षिक भ्रमणमा आउने विद्यार्थी तथा अन्य तीर्थालुले समेत शिलाको उचित व्यवस्थापन नभएको गुनासो गरेका छन् ।

सुनेकै भरमा शिला शालिग्रामको दर्शन गर्न आएका नवलपरासीको खैरेनी माविमा कक्षा १० मा पढ्ने अनिष चौधरीले शिला शालिग्रामको चर्चा अनुसारको व्यवस्थापन रहेनछ, यसको तत्काल उचित व्यवस्थापन हुनु रहेको बताए । पाँच वर्षअघि शालिग्राम परिक्रमा गर्न कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको सहयोगमा करिब ५० लाख खर्चिएर बनाइएको परिक्रमास्थल गत साउन १२ गतेको बाढीले भत्काएपछि अहिले यहाँ पर्यटक आउनै डराउने गरेको शिलाका पुजारी भगवानहरि पराजुलीले बताए ।

“अघिल्लो बर्सातमा पनि परिक्रमास्थल केही भत्किएको थियो । उक्त समयमा बाँस तेस्र्याएर अल्पकालीन समस्या समाधान गरियो”, उनी भन्छन, “तर यस वर्षको शिला डुबाउने गरिआएको बाढीले परिक्रमा गर्नै नमिल्ने बनाएको छ । परिक्रमा स्थलमा थप सुरक्षा नहुँदा ज्यान पनि जोखिममा पर्ने गरेको छ ।”

उक्त शिलाको व्यवस्थापन तथा सुरक्षाको जिम्मा भने कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले लिएको उनले बताए । शिला जोखिममा परेपछि त्यसको सुरक्षाका लागि परियोजनालाई जानकारी गराइसकिएको तर हालसम्म पनि सुनुवाइ नभएको उनले उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.