आन्तरिक विवादले राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्न सकेन, राष्ट्र बैंक ऐन समेत उल्लंघन

  २०७३ कार्तिक १९ गते १३:०४     विकासन्युज

काठमाडौं, १९ कात्तिक । आन्तरिक विवादमा फसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक लामो समयदेखि बस्न सकेको छैन । सामान्य अवस्थामा सातामा दुई पटक बस्ने राष्ट्र बैंक सञ्चालक समितिको बैठक विगत अढाई महिनादेखि नियमित बस्न सकेको छैन ।

nrb-actराष्ट्र बैंक ऐन अनुसार सञ्चालक समितिको बैठक आवश्यकता अनुसार बस्न सक्छ, तर महिनामा कम्तिमा एक पटक बस्नै पर्नेछ । राष्ट्र बैंक सञ्चालक समितिले यतिबेला ऐनको दफा २० उल्लंघन गरिरहेको पाईएको छ । (हेनुहोस कानुनी व्यवस्था)

राष्ट्र बैंक सञ्चालक समितिको बैठक नबसेको एक महिनाभन्दा बढी समय भएको र कानुनको पालना गर्न समेत नसकिएको राष्ट्र बैंकका एक डेपुटी गभर्नरले स्वीकार गरे । राष्ट्र बैंकका दुबै डेपुटी गर्भनर सञ्चालक समितिका सदस्य हुन् ।

‘बैठक नियमति बस्न नसकेको  त साढे दुई महिना भयो । बीचमा कार्यालय खुल्नुभन्दा अगाडि नै दुई पटक बैठक बसेका थियौ । पछिल्लो ढेड महिनामा एक पटक पनि बैठक बसेको छैन’–उनले भने ।

nrb_bord

कर्मचारी संघको अवरोधका कारण बैठक नियमित बस्न नसकेको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले बताए । राष्ट्र बैंकका कर्मचारीहरुको सेवा सुविधा वृद्धिको माग गर्दै संघले विरोधका विभिन्न कार्यक्रम गर्दै आएको छ । पछिल्लो समय संघले अन्य विरोधका कार्यक्रम रोकेर सञ्चालक समिति बैठक कक्ष अगाडि धर्ना दिँदै आएका छन् ।

तर सञ्चालक समितिको बैठक बस्नै नसक्ने गरी धर्ना तथा विरोधका कार्यक्रम नरहेको संघका अध्यक्ष बसन्त पाण्डेले बताए । ‘कि गभर्नर कि डेपुटी गभर्नरहरु पालै पालो विदेश गईरहनु भएको छ । कोरम नपुगेर गर्भनरले बैठक राख्न सक्नु भएको छैन, उहाँले चाहेको अवस्थामा सार्वजनिक विदाको दिन वा कार्यालय समय अघिपछि पनि बैठक राख्नु नै भएको थियो’ पाण्डे भन्छन्–‘उहाँहरु आफै बैठक राख्न सक्नुहुन्न, वहाना हामीलाई देखाउनुहुन्छ ।’

स्रोत अनुसार कर्मचारीसँग आन्तरिक सहमति भएपछि मात्र बैठकमा आउने भन्दै विज्ञ सञ्चालकहरु श्रीराम पौडेल, रामहरि अर्याल र बालकृष्ण मान सिंह बैठकमा आउन मानेका छैनन् । कर्मचारी व्यवस्थापनको विषयमा आफूहरु संलग्न नहुने उनीहरुले बताएका छन् ।

‘दुई÷तीन पटक बैठक बस्ने भनेर आउनु भयो, कर्मचारीको विरोधका कारण बैठक कक्षमा प्रवेश गर्नै पाउनु भएन, दुई पटक कार्यालय खुल्नु अगाडि नै बैठक बस्यो । त्यसपछि उहाँहरुले कर्मचारी समस्या हल भएपछि मात्र बैठकमा आउने बताउँदै आउनु भएको छ’ स्रोतले भन्यो ।

सञ्चालक समितिकाे बैठक बस्न नसक्दा  गम्भिर समस्या देखिन थालेकाे एक डेपुटी गभर्नरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.