नेपाल टेलिकमको नयाँ एक्सचेन्ज रुपन्देहीको नहरपुरमा

  २०७३ कार्तिक १० गते १७:०२     विकासन्युज

काठमाडौं, १० कात्तिक । नेपाल टेलिकमले रुपन्देही जिल्लाको नहरपुरमा नयाँ एक्सचेन्ज सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्की (राम कार्की) ले सो एक्सचेन्जको उद्घाटन गरेका हुन् । मन्त्री कार्कीले नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदीलाई टेलिफोन कल गरेर सो एक्सचेन्जको उद्घाटन गरेका छन् ।

nahar_pur_pic-1

सो अवसरमा मन्त्री कार्कीले सूचना तथा सञ्चार प्रविधिलाई आफ्नो सीप र क्षमता अभिवृद्धिका लागि अधिकतम प्रयोग गर्न आग्रह गर्दैै यसबाट मात्रै नेपाली युवाहरुलाई श्रम बेच्नका लागि विदेश जानबाट कम गर्न सकिने बताएका छन् ।

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीले आफ्ना भइरहेका सेवालाई गुणस्तरीय बनाउन विभिन्न कार्य गरिरहेको बताइन् । साथै थ्रिजी सेवालाई प्रत्येक क्षेत्रमा पुर्याउन र फोरजी सेवा छिट्टै नै सञ्चालनमा ल्याउन तयारी गरिरहेको बताइन् ।

बुधबार उद्घाटित नहरपुर एक्सचेन्ज ९६ लाइन क्षमताको रहेको छ । यस मध्ये ६४ लाइन टेलिफोन र ३२ पोर्ट एडीएसएल डाटा क्षमता रहेको छ । अब सो क्षेत्रका ग्राहकहरु पनि टेलिफोन तथा इन्टरनेट सेवाबाट लाभान्वित हुने भएका छन् ।

लामो समयदेखि प्रतिक्षारत ग्राहकले समेत सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले कम्पनीले विभिन्न स्थानमा यस्ता एक्सचेन्ज स्थापना तथा सञ्चालन गर्दै आएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.