९ अर्ब खर्चेर त्रिपुरेश्वर–माइतीघर सडकमा अत्याधुनिक फ्लाईओभर

  २०७३ कार्तिक १० गते १०:०६     नारायण पौडेल

flyoverकाठमाडौं, १० कात्तिक । सरकारले काठमाडौं उपत्यकामा व्यवस्थित शहरीकरण र सोही अनुसारको पुर्वाधार निर्माण गर्ने योजना अनुसार त्रिपुरेश्वर–माइतीघर सडक खण्डको विस्तार योजनाको खाका बनाइरहेको छ । जापान सरकार(जाइका)को सहयोगमा तयार हुँदै गरेको त्रिपुरेश्वर–माइतीघर सडक खण्डको सो योजनाका लागि ९ अर्ब रुपैंयाँ खर्च हुने प्रारम्भिक प्रक्षेपण गरिएको छ ।

जापानी सहयोगमा अर्बान ट्रान्सपोर्टेशन इम्प्रुभमेन्ट फर काठमाडौं भ्याली नामको प्रोजेक्ट खडा गरेर सडक विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणसँगको सहकार्यमा त्यस्तो योजना निर्माणको काम अघि बढेको हो । ‘प्रारम्भिक अध्ययन सम्पन्न भैसकेको छ, अब डिपिआर निर्माणको काम अघि बढ्छ’, यातायात विभागका महानिर्देशक देबेन्द्र कार्कीले भने ।

उनका अनुसार सो आयोजनाका लागि ८ देखि ९ अर्ब रुपैंयाँ बजेट आवश्यक पर्ने प्रक्षेपण गरिएको छ । ‘फ्लाईओभरसहितको अत्याधुनिक शहरी पुर्वाधारसहितको सो योजनाले काठमाडौंको शहरी व्यवस्थापनमा नयाँ अध्याय थप्नेछ’, महानिर्देशक कार्कीले भने । सो योजनाले त्रिपुरेश्वर–माइतीघर सडक खण्डलाई युरोपियन–अमेरिकन मापदण्डको निर्माण गर्नेछ । जसमा अत्याधुनिक सुबिधा र सुरक्षाका प्रबन्ध मिलाइएका हुनेछन् ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले पनि दुई लेन र चार लेनको विकल्पसहित जाइकासँगको सहकार्यमा विस्तृत अध्ययन भैरहेको बताए । सो क्षेत्रमा फ्लाईओभरसहितको विश्वस्तरिय सडक निर्माण गर्ने पुर्व योजना अनुसार काम अघि बढेको उनले बताए ।

सरकारले चार बर्ष अघि नै बानेश्वरमा फ्लाईओभर बनाउन भन्दै ४ करोड रुपैंयाँ बजेट बिनियोजन गरेको थियो । बंगलादेशी कम्पनीसँग मिलेर सडक विभागले एक चरण अध्ययन पनि गरेको थियो । तर त्यो अध्ययन विवादमा आएपछि बिचमै रोकियो र सडक विस्तारको नयाँ कार्यक्रम सुरु भएको थियो ।
पछि फेरी जाइकाले नै बानेश्वरमा फ्लाईओभरसहितको सडक निर्माणबारे नयाँ अध्ययन गरेको छ । त्यो अध्ययन पनि सडक विभागमै पुगेर थन्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.