४५ वटा बैंक तथा वित्तीय संस्था मर्ज भई १८ वटा बन्दै, अधिकांश विकास बैंक र फाइनान्स कम्पनी वाणिज्य बैंकमा गाभिदै

  २०७३ कार्तिक ९ गते १५:१७     विकासन्युज

nrbकाठमाडौं, ९ कात्तिक । ४५ वटा बैंक तथा वित्तीय संस्था मर्जभई १८ वटा बन्ने प्रक्रियामा रहेका छन् । त्यस क्रममा २७ वटा विकास बैंक तथा फाइनान्स कम्पनी विलय हुदैछन् । राष्ट्र बैंकका अनुसार अहिलेसम्म ७७ वटा बैंक तथा वित्तीय संस्थाको लाईसेन्स खारेज गरेको छ । २०७३ भदौ मसान्तसम्ममा कुल ११८ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा ४१ वटा मात्र भएको छ ।

राष्ट्र बैंकका सहायक प्रबक्ता राजेन्द्र पण्डितले दिएको जानकारी अनुसार हाल ४५ वटा बैंक तथा वित्तीय संस्था मर्ज तथा एक्विजिशन प्रक्रियामा रहेका छन् । त्यसमा १८ वटा विकास बैंक तथा फाइनान्स कम्पनी ८ वटा वाणिज्य बैंकमा मर्ज हुँदैछन् । प्राइम कमर्सियल बैकले बिराटलक्ष्मी विकास बैक र कन्ट्री डेभलपमेण्ट बैकलाई प्राप्ति गर्दैछ । दुई विकास बैंक प्राप्तिपति बैंकको नाम प्राइम कमर्सियल बैंक नै रहने छ ।

ग्लोबल आईएमई बैकले प्यासिफिक डेभलपमेण्ट बैकलाई प्राप्ति गर्दैछ । त्यस्तै बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने विषयमा दुई पक्षबीच सम्झौता भएको छ । उक्त प्रक्रिया राष्ट्र बैंकमा पुगे रिलायबल डेभलपमेन्ट बैंकको हकप्रद सेयर निश्काशन सम्बन्धमा विवाद उत्पान्न भएको छ । नेपाल धितोपत्र बोर्डले रिलायबल डेभलपमेन्ट बैंकलाई यसअघि साधारणसभाले पारित गरेअनुसार हकप्रद सेयर जारी गरेर मात्र मर्ज मर्ज तथा प्राप्तिको प्रक्रिया अगाडि बढाउने निर्देशन दिएको छ ।

कुमारी बैकले काष्ठमण्डप डेभलपमेण्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई प्राप्ति गर्दैछ । यसअघि काष्ठमण्डप डेभलपमेण्ट बैंकले महाकाली विकास बैंक र काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स प्राप्ति गर्ने प्रक्रिया अगाडि बढेको थियो । काष्ठमण्डप डेभलपमेण्ट बैंकले महाकाली विकास बैंक र काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स प्राप्ति गर्ने प्रक्रिया रोकेर सबैलाई कुमारी बैंकमा गाभिने नयाँ प्रक्रियामा राष्ट्र बैंकले सहमति दिएको काष्ठमाडप डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले बताए ।

नेपाल इन्भेष्टमेण्ट बैकले एस डेभलपमेण्ट बैकलाई प्राप्ति गर्दैछ । सेन्चुरी कमर्सियल बैकमा दुई विकास बैंक गाभिदै छन् । यस बैंकले इन्नोभेटिभ डेभलपमेण्ट बैक र अरनिको डेभलपमेण्ट बैकलाई प्राप्ति गर्दैछ ।

आईएलएफसीलाई एक्वाएर गरेपछि हालै एकिकृत कारोबार गरेको सिभिल बैकले थप दुई वटा फाइनान्सलाई प्राप्ति गर्दैछ । सिभिल बैंकमा युनिक फाइनान्स र हामा मर्चेन्ट एण्ड फइनान्सलाई विलय हुँदैछन् ।

सनराइज बैकले एनआइडिसि क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गर्दैछ । यसअघि सनराईज बैंकले नारायणी नेशनल फाइनान्सलाई प्राप्ति गरेको थियो । त्यस्तै, लक्ष्मी बैंकले प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गर्दैछ । सानिमा विकास बैंकले बाग्मती डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्दैछ ।

एनसीसी बैंकमा इन्टरनेशनल डेभलपमेन्ट बैंक, इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंक मर्ज हुँदैछन् । यो मर्ज प्रक्रिया लगभग पुरा भईसकेको छ । उनीहरु एकिकृत कारोबार गर्न राष्ट्र बैंकको स्वीकृति कुरेर बसेको छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार ८ वटा विकास बैंक मर्ज भई चार वटा बन्दैछन् । त्यसमा टुरिजम् डेभलपमेण्ट बैकले कालिञ्चोक डेभलपमेण्ट बैक र मातृभूमी विकास बैकलाई प्राप्ति गर्दैछ । प्राप्तिपछि टुरिजम डेभलममेन्ट बैंक बन्दैछ । सहयोगी विकास बैक र सहारा विकास बैकबीच मर्ज भई सहयोगी विकास बैंक बन्ने प्रक्रिया जारी छ ।

त्यस्तै फेवा विकास बैक र गण्डकी विकास बैक गाभिएर फेवा विकास बैंक बन्दैछन् । ओम डेभलपमेण्ट बैक र मनास्लु डेभलपमेण्ट बैक मर्ज भई ओम डेभलपमेन्ट बैंक बन्दैछन् ।

त्यस्तै ६ वटा फाइनान्स कम्पनी मर्ज भई ३ वटा फाइनान्स कम्पनी बन्दै छन् । सेन्ट्रल फाईनान्स र भक्तपुर फाइनान्स गाभिएर सेन्ट्रोल फाइनान्स बन्दैछ । त्यस्तै इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी र एभरेष्ट फाइनान्स कम्पनी मर्ज भई श्री फाइनान्स कम्पनी बन्दैछ । प्रोग्रेसिभ फाइनान्सले वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लाई प्राप्ति गर्दैछ ।

वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जर/प्राप्ति नीति कार्यान्वयनमा आएसँगै मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुने बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ । असार मसान्तमा २८ वटा वाणिज्य बैंक, ६६ वटा विकास बैंक, ३९ वटा वित्त कम्पनी, ४२ वटा, माइक्रो फाइनान्स छन् ।

आर्थिक वर्ष २०६९/७० सम्म २ सय १४ ओटा बैंक तथा वित्तीय संस्था रहेकोमा अहिले १ सय ७३ मा सीमित भएका छन् । प्रक्रियामा रहेको मर्जर टुंगिदा बैंक तथा वित्तीय संस्थाको संख्या १४६ मा सीमित हुने राष्ट्र बैंकले जनाएको छ । गाभिनेमा पनि विकास बैंक र फाइनान्स कम्पनी बढी छन् । माइक्रो फाइनान्सको संख्या भने डब्बल वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.