बेलायत लगानीका लागि शीर्ष पाँच स्थानमा पर्न असफल, लगानीकर्ताको विश्वास गुमाउँदै

  २०७३ कार्तिक ३ गते २२:१९     विकासन्युज

काठमाडौं, ३ कात्तिक। युरोपेली संघ (ईयू) छोड्ने पक्षमा मतदान गरेपछि बेलायतले उत्कृष्ट लगानी गन्तव्यको शीर्ष पाँचको स्थान गुमाएको छ । व्यावसायिक कार्यकारीहरूको अर्धवार्षिक प्रतिवेदनमा परामर्शदातृ फर्म इवाईले ब्रेक्जिट मतदानसँग सम्बन्धित अन्योलले सम्भावित लगानीकर्तालाई निरुत्साहित गरेको उल्लेख छ ।

यो पनि विशेष गरी युरोपका लगानीकर्ता बेलायतमा कारोबार गर्नबाट निरुत्साहित भएको जनाइएको छ । ईवाईका अनुसार बेलायत आगामी वर्ष लगानी गन्तव्यको मामिलामा सातौं स्थानमा झर्नेछ । बेलायतभन्दा अगाडि अमेरिका, चीन, जर्मनी, क्यानडा, फ्रान्स र जापान रहनेछन् । अप्रिलमा गरिएको अघिल्लो सर्भेमा बेलायत दोस्रो स्थानमा थियो ।

Image result for united kingdom

ईवाईमा कारोबार पक्षका विश्वव्यापी प्रमुख स्टिभ क्रुस्कोले जुन २३ पछिको मतदानले नकारात्मक अवस्था सिर्जना गरेको बताएका छन् । अर्को सर्भेले भने आगामी ६ महिनाको अवधिमा बेलायतको स्थानमा सुधार आउने आशा देखाएको उनको भनाइ छ ।

“दीर्घकालीन अवधिमा बेलायत शीर्ष एम एन्ड ए गन्तव्यको रोजाइका रूपमा आउन सक्ने अपेक्षा हामीले गरेका छौं,” उनले भने, “तर, अल्पकालीन अनिश्चितताले लगानीकर्तालाई लगानी रोक्ने विषयमा सोच्नका लागि बाध्य बनाएको छ ।”

बेलायतले रियलइस्टेटबाहेक ८८ अर्ब डलरको सम्झौता गरेको ईवाईले जनाएको छ । यो सन् २०१३ र २०१४ कै हाराहारी हो । तर, सन् २०१५ को समान अवधिको २ सय ५५ डलरको दाँजोमा कम हो ।

विदेशी फर्महरूका लागि बेलायती फर्म लगातार आकर्षक बन्दै गएको ईवाईले जनाएको छ । यो पनि विशेष गरी उच्च बौद्धिक सम्पत्तिका कम्पनी, प्रविधि र स्वास्थ्य हेरचाहको क्षेत्रमा रहँदै आएको छ ।

जनमत–संग्रह ब्रेक्जिटको पक्षमा गएपछि जापानको सफ्ट बैंक ग्रुपले जुलाईमा २४ अर्ब पाउन्डमा लिएको बेलायती प्रविधि फर्म एआरएम होल्डिङलाई सबैभन्दा ठूलो कारोबार मानिएको छ ।

यो कारोबार ब्रेक्जिटको मतदानको एक महिनापछि भएको हो । अर्को ठूलो कारोबारमा अमेरिकी कम्पनी लिबर्टी मिडियाले ८ अर्ब डलरमा लिएको फर्मुला वनलाई लिइएको छ ।

ब्रेक्जिटको मतदानपछि धेरै सवाल उठाइएका छन् । यो विशेष गरी ब्रेक्जिटपछि ईयूका २७ सदस्यीय मुलुकसँग बेलायतको व्यापार सम्बन्धका बारेमा रहेको छ । यसमा व्यापारमा कस्तो किसिमको अवरोध आउने जस्तै भन्सार र नयाँ नियमन मापदण्डका विषयमा हुनेछन् ।

बेलायतस्थित व्यवसायमा यस किसिमको भन्सार र नियमन लागू हुन सक्ने आशंका व्यक्त गरिएको छ । ब्रेक्जिटको मतदानपछि अमेरिकी डलरसँगको विनियममा पाउन्ड झन्डै २० प्रतिशतले अवमूल्यन भइसकेको छ । हाल अमेरिकी डलर र पाउन्डको विनिमय दर १.२० हाराहारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.