दशैमा घर जान नपाउनको नाममा…

  २०७३ असोज २४ गते ११:३४     विकासन्युज

विछोडको पिडा नसकी खप्न दशैको बेलामा
तिमीलाई भेट्न आउदैछु फर्कि रमाइलो गाउमा ।
टाढा छ साथी, ती दिन र राती निद छैन आखामा
मनको कुरो बुझ्दैन कोही पहरे पाखामा… ।
dashain_ping
स्वर सम्राट नारायण गोपाल र तारदेबीको युगल स्वरमा रहेको यो गीतले दशैको महत्व र गरिमा दर्शाउछ । पेशा, ब्यवसायको लागि आफन्तभन्दा टाढा रहेकाहरु दशैमा घर जान कति ब्यग्र प्रतिक्षा रहन्छन् भन्ने आशय यो गीतमा छ । दशैको बेलामा ढाटाका आफन्तसँग हुने भेटको रमाइलो अनुभूति गर्दै मायालुहरु मनको वह कसरी ब्यक्त गर्छन् भन्ने कुरा पनि गीतले दर्शाउछ ।

यो गीतले गएको सालबाहेकको दशैको प्रतिनिधित्व गर्ने गर्छ । गएको बर्षको सन्दर्भ फरक थियो । भारतको अघोषित नकाबन्दीको कारण इन्धनको चरम अभाव थियो । यसले गर्दा सर्वसाधारणले सहज आवत जावत गर्न पाएका थिएनन् ।

अघिल्लो सालको १२ बैशाखको भूकम्प र त्यसपछिका निरन्तर पराकम्पनले सर्वसाधारणको धन, सम्पत्ति र आफन्त मात्र लगेको थिएन, मन पनि भाचिदिएको थियो । सर्वसाधारणका करिब ८ लाख घर भत्किएका छन् । भूकम्पको कारण घरवार विहिन भएकाहरु अझै पनि पाल वा अस्थायी टहरामा छन् । कुनै पेशा ब्यवसायका कारण घरभन्दा टाढा रहेकाहरुलाई दशै मान्न घर जान सहज छैन । बृद्ध बाबुआमा र साना केटाकेटी एउटा सानो छाप्रामा बसेका छन् । शहरमा बसेकाहरु दशैको लागि घर जाने हो भने बस्ने, खाने र सुत्ने ठाउकै अभाव छ अझै पनि ।

‘भूकम्पले भत्काइ दिएको घर बनाएको छैन, दुखजिलो गरेर बाबाआमा बस्नु भएको छ, अब हामी पनि थपिने हो भने कहाँ बस्ने, कहाँ खाने भन्ने समस्या आउछ, यसपाली दशैमा घर आउदिन भनेर आमालाई फोनमा भनेको छु,’ काठमाडौंको कोटेश्वरमा जुत्ता पसल गर्ने सर्लाहीका जगदीश अधिकारी भन्छन् । यसपालीको दशैमा पाउना लाग्न जाने वा आएका पाउनालाई उचित सत्कार गर्न सक्ने अवस्था देखिदैन ।

काठमाडौंको वसाइ पनि सहज छैन । चामल, तेल, मसला, दाल जस्ता दैनिक उपभोग्य बस्तुको मूल्य आकाशिएको छ । काठमाडौ उपत्यकामा हरियो तरकारीको उत्पादन कम हुन्छ । किसान दशैको रमाइलोमा भुल्दा तरकारीको आपूर्ति कम हुन्छ । आपूर्ति कम भएपछि मूल्य आकाशिएको छ ।

अघिल्लो बर्षको भूकम्प पछि बन्द भएको चीनसँगको नाका खुलेको छैन । चीनसँगको नाका खुल्ला नहुदा चीनवाट आउने सस्तो मूल्यका कपडाको अभाव भएको छ । खासगरी पहाडी क्षेत्रमा दशैमा नयाँ कपडा किन्ने पराम्परा छ । चीनीया कपडा नआउदा दशै महंगो भएको छ ।

कम आयस्तर भएका नेपालीलाई सस्तो चिनिया कपडाको अभावले थप गरिब बनाएको छ । यस्तै अवस्था हिमाली क्षेत्रको पनि छ । समग्रमा नेपालीका लागि यसपालीको दशै योगेश्वर अमात्यले गाएको ‘दशै नै हो कि यो मेरो दशा, किन आएको…,’ बोलको गीत जस्तै बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.