प्रत्यक्ष वैदेशिक लगानीमा गर्नेमा चीन सबैभन्दा अगाडि, डेढ महिनामा एक अर्ब १३ करोड लगानीको प्रतिबद्धता

  २०७३ असोज १८ गते १२:३६     विकासन्युज

काठमाडौं, १८ असोज । चालू आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा बढी प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता जनाउनेमा सबैभन्दा अगाडि चीन अग्रस्थानमा रहेको छ । चालू आवको डेढ महिनामा उद्योग विभागमा दर्ता भएको कुल ६८ उद्योगमध्ये ४४ ओटा चीनबाट प्रतिवद्धता भएका उद्योगहरु छन् । उक्त उद्योगहरूमा २९ करोड ७३ लाख ६० हजार रुपैयाँ चालू पूँजी तथा ८३ करोड ४१ लाख रुपैयाँ स्थिर पूँजी गरी कुल १ अर्ब १३ करोड १४ लाख ६० हजार रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भएको विभागको तथ्याङ्क छ ।

चीनपछि दोस्रो धेरै वैदेशिक लगानी प्रतिबद्धता आउने मुलुकमा भारत देखिएको छ । भारतबाट हालसम्म सातओटा उद्योगका लागि लगानी प्रतिबद्धता भएको छ । उक्त उद्योगहरूमा ४ करोड ९ लाख ८० हजार रुपैयाँ चालू तथा १२ करोड ८५ लाख ८० हजार रुपैयाँ स्थिर गरी कुल १६ करोड ९५ लाख ६० हजार रुपैयाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ । उक्त रकममध्ये भारत र नेपालको साझेदारीमा पनि केही लगानी भएको छ । सो लगानीमध्ये ११ करोड ७० लाख ५० हजार रुपैयाँ लगानी भारतीय र बाँकी स्वदेशी लगानी हो ।

त्यस्तै यस अवधिमा प्रत्यक्ष लगानी प्रतिबद्धता आउने मुलुकहरूमा अमेरिका, जापान, बेलायत, जर्मनी, पाकिस्तान, रूस, दक्षिण कोरिया, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड रहेका छन् । उनीहरुको लगानीको हिस्सा यी दुई मुलुककोभन्दा थोरै देखिएपनि उनीहरको उपस्थितिलाई सकारात्मक पक्ष मान्नु पर्ने विभागको भनाइ छ । उद्योग विभागका अनुसार प्रत्यक्ष वैदेशिक लगानीतर्फ भदौ १५ गतेसम्ममा ६८ ओटा उद्योग दर्ता भएका छन् । त्यसमध्ये एउटा ठूलो उद्योग रहेको छ भने बाँकी पाँचओटा मझौला र ६२ ओटा साना उद्योग दर्ता भएका छन् ।

गएको वर्ष २०७२÷७३ मा वैदेशिक लगानीका ३ हजार ६ सय ७५ उदोगहरुले उद्योग विभागबाट नेपालमा उद्योग सञ्चालन गर्छु भनी स्वीकृत लिएका थिए । ती उद्योगले १ खर्ब ९७ करोड ६४ लाख लगानी गर्ने प्रतिवद्धता जनाएका थिए भने २ लाख १७ हजार ५ सय ५४ जनालाई रोजगारी दिने प्रतिवद्धता गरेको विभागले बताएको छ ।

नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रमा चालू आर्थिक वर्षको शुरूको राम्रो देखिएकोले अबका समयमा लगानी बढ्न सक्ने देखिएको अनुमान विभागको छ । ‘आर्थिक वर्षको पहिलो डेढ महीनाको अवधिमा नै भएको लगानी प्रतिबद्धता आधारमा यो अनुमान गर्न सकिन्छ ,’ उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले भने ‘अघिल्लो आर्थिक वर्षमा भूकम्प, नाकाबन्दी र तराई आन्दोलनका कारण वैदेशिक लगानी प्रतिबद्धता घटेको थियो । ’ यस वर्ष त्यस्तो किसिमको कुनै प्रतिकूलता नदेखिएकाले शुरूको तथ्याङ्कलाई बढ्ने संकेत गरेको हो ।

वैदेशिक लगानी सहज बनाउन अर्थात बढी भन्दा बढी वैदेशिक लगानी भित्र्याउन आवश्यक कानूनी व्यवस्थाको तयारी भइरहेको न्यौपानेले जानकारी दिए । ‘वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनको मस्यौदामा विभागका तर्पmबाट आवश्यक सुझावसमेत मन्त्रालयमा पठाइसकेका छौं,’ उनले भने, ‘पुस–माघसम्ममा सो ऐन विधेयकका रूपमा पेश हुन्छ होला ।’ वैदेशिक लगानीलाई सरल बनाउने दिशामा विभागले निरन्तर पहल गरिरहेको न्यौपानेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.