एकै दिन ८४ हजार चेक क्लियरिङमा, खातामा पैसा आउन ५ दिनसम्म लाग्न थाल्यो

  २०७३ असोज १८ गते ११:१०     विकासन्युज

काठमाडौं, १८ असोज । दशैको मुखका बैंकिङ कारोवार अत्याधिक बढ्दा चेक क्लियरेन्समा समस्या उत्पन्न भएको छ । सामान्य अवस्थामा सोही दिन वा भोलिपटसम्ममा चेक क्लियरेन्स हुने गरेकोमा अहिले ५ दिनसम्म पनि चेक क्लियरेन्स नभएको हो ।

यसअघि शुक्रवार बाहेक कार्यालय खुलेको दिन १ बजे अघि क्लियरेन्समा पठाएको चेक सोही दिन क्लियरेन्स हुने गरेको थियो । यस्तै १ बजेपछि क्लियरेन्समा पठाएको चेक भोलिपल्ट सम्बन्धित खातावालाको खातामा जम्मा हुने गरेको थियो । तर अहिले ५ दिनसम्म पनि चेक क्लियरेन्स नभएर ढिला हुन थालेको छ ।

दशैको समयमा एकै दिन अत्याधिक चेक क्लियरेन्समा आउने गरेको नेपाल क्लियरिङ हाउस (एनसिएचएल) का प्रमुख कार्यकारी अधिकृत निलेससिंह मान प्रधानले जानकारी दिए । अहिले एकै दिनमा ८४ हजारसम्म चेक क्लियरेन्सको लागि आएको र सवै चेक क्लियरिङ भएको उनको भनाइ छ ।

दैनिक औसतमा ३७ हजार चेक क्लियरेन्सको लागि आउने गरेका एनसिएचएलले जानकारी दिएको छ । गत १६ असोजमा एकै दिन ८४ हजार तथा १७ असोजमा ६० हजार चेक क्लियरेन्सको लागि आएको प्रमुख कार्यकारी अधिकृत प्रधानले जानकारी दिए ।

चेकको संख्या अत्याधिक बढी आएपनि एनसिएचएलमा क्लियरिङमा समस्या नभएको प्रधानको भनाइ छ । उनले दैनिक १ लाख ५० हजारसम्म चेक क्लियरेन्स गर्ने क्षमता एनसिएचएलको रहेको पनि जानकारी दिए ।

तर बैंकमा नगद राख्ने र झिक्ने तथा नयाँ नोट साट्ने भिड अत्याधिक बढेका कारण बैंकहरु आफैले चेक क्लियरेन्समा पठाउन ढिलाइ भएको कारण सर्वसाधारणलाई समस्या भएको बताइएको छ । चेकको संख्या अत्याधिक भएपछि बैंकहरुवाट क्लियरिङमा पठाउनै ढिलाइ भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.