कुमारी बैंकमा चार वटा वित्तीय संस्था गाभिने, कुमारीको ५० प्रतिशत हकप्रद सेयर जारी

  २०७३ असोज १७ गते २२:०९     विकासन्युज

काठमाडौं, १७ असोज । कुमारी बैंकमा काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स गाभिने भएका छन् । यी चार बैंक तथा वित्तीय संस्थाबीच एक्विजिशन सम्बन्धमा सोमबार सम्झौता भएको छ ।

kumari-bankसम्झौता पत्रमा कुमारी बैंकको तर्फबाट मर्जर कमिटिका संयोजक डा शोभाकान्त ढकाल, काष्ठमाडप डेभलपमेन्ट बैंकको तर्फबाट कृष्ण ज्ञवाली, महाकालि विकास बैंकको तर्फबाट सुरेन्द्र जोशी, काँक्रेबिहार विकास बैंकको तर्फबाट राजकुमार गुरुङ र पश्चिमाञ्चल फाइनान्सको तर्फबाट ज्ञानेन्द्र कसजुले हस्ताक्षर गरेको छन् ।

यसअघि कुमारी बैंक एनसीसीसहित ४ विकास बैंकहरुसँग मर्जप्रक्रियाबाट वाहिरीएको थियो । त्यस्तै महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स काष्ठमण्डप डेभलपमेन्ट बैंकमा मर्ज हुँदै थिए ।

आईतबार नै नेपाल राष्ट्र बैंकले महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स काष्ठमण्डप डेभलपमेन्ट बैंकमा मर्ज हुँदै गरेको प्रक्रिया रोकेर कुमारी बैंकमा गाभिन स्वीकृति दिएको काष्ठमाडण्प डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले बताए । ‘राष्ट्र बैंकसँग सहमति लिएर कुमारी बैंकसँग एक्जिशनमा जाने सहमति पत्रमा हस्ताक्षर भएको हो’ उनले विकासन्युजसँग भने ।

मर्जप्रक्रिया सँगै कुमारी बैंकले निश्काशन गर्न लागेको ५० प्रतिशत हकप्रद सेयर प्रक्रिया पनि अगाडि बढ्ने भएको छ । हाल कुमारी बैंकको सेयर पुँजी २ अर्ब ६९ करोड रुपैयाँ छ । हकप्रद सेयर जारीपछि कुमारी बैंकको मात्र सेयर पुँजी ४ अर्ब ४ करोड रुपैयाँ हुनेछ ।
काष्टमाण्ड डेभलपमेन्ट बैंकको करिब १ अर्ब, पश्चिमाञ्चल फाइनान्सको ४० करोड, महाकालि विकास बैंकको २२ करोड, काक्रेविहार विकास बैंकको ८ करोड सेयर पुँजी छ ।

भण्डारीका अनुसार चार वित्तीय संस्था कुमारी बैंकमा गाभिएपछि बैंकको चुक्ता पुँजी करिब ६ अर्ब रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको नाफा र चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिएर आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने योजनासहित यो मर्ज अगाडि बढेको उनले बताए ।

चार संस्था एक्वायरपछि कुमारी बैंकको निक्षेप ५० अर्ब र कर्जा ४२ अर्ब रुपैयाँ पुग्नेछ । आठ अर्बको पँुजी हुँदा निक्षेप ७५ अर्ब र कर्जा ६५ अर्ब पुग्ने अनुमान गरिएको छ । त्यसैगरी, देशभरमा ८० वटा शाखा पुग्नेछन् । करिब ७०० जना कर्मचारी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.