रिलायबल डेभलपमेन्ट बैंकले लगानी कर्तालाई अन्याय गरेको आरोप, चिठ्ठी काट्दै धितोपत्र बोर्ड

  २०७३ असोज १६ गते १५:२९     नारायण पौडेल

काठमाडौं, १६ असोज । गत असार १७ गते सम्पन्न रिलायलब डेभलपमेन्ट बैंकको १० औं बार्षिक साधारण सभाले एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । तर सो मात्रामा हकप्रद सेयर निष्काशन नै नगरि रिलायबल डेभलपमेन्ट बैंकले ग्लोबल आइएमई बैंकसँग अक्वाएरमा जाने सम्झौतामा हस्ताक्षर गरिसकेको छ ।

globle

हकप्रद सेयर दिने निर्णय सार्वजनिक भएसँगै रिलायबलको सेयरमा लगानी गरेको लगानी कर्ता भने यतिबेला अन्यायमा परेको बताईरहेका छन् । पुर्व घोषित हकप्रद सेयर निष्काशन गरेर मात्रै रिलायबल डेभलपमेन्ट बैंकले ग्लोबल आइएमईसँग अक्वाएरमा जानुपर्ने माग राखेका छन् । ‘हकप्रद सेयरको आसमा लगानी गरेका हामी लगानी कर्तामाथी अन्याय भएको छ, पहिले हकप्रद सेयर निष्काशन गरेर मात्रै एक्वायरमा जाने व्यवस्था धितोपत्र बोर्डले गर्नुपर्छ’, लगानी कर्ता ज्योति दाहालले भने ।

तर रिलायबल डेभलमपेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले भने लगानी कर्तालाई अन्याय नहुने बताए ।‘ठुलो बाणिज्य बैंकसँग एक्वायरमा जाने भएकाले लगानी कर्तालाई मर्का पर्दैन’, प्रमुख कार्यकारी अधिकृत लोहनीले विकासन्युजसँग भने ।

बैंकले आफ्नो पुँजी वृद्धिको योजनामा मर्ज, हकप्रद, बोनस वा अक्वाएर सबै विकल्प खुल्ला राखेकाले अक्वायरमा गएको पनि बताए ।‘क्यापिटल प्लानमा सबै विकल्पमा जाने भनिएको थियो, त्यसैले राइट सेयर नदिई अक्वायरमा किन गएको भन्न मिल्दैन’, लोहनीले भने ।

उता, नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले हालसम्म केन्द्रिय बैंकमा ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंक अक्वायर गर्ने सम्बन्धी जानकारी नआएको बताए । ‘अक्वाएर सम्बन्धी निर्णयको फाइल हामी कहाँ आएको छैन, फाइल हेरेर मात्रै केहि भन्न सकिन्छ’, राष्ट्र बैंक प्रवक्ता पंगेनीले भने ।

सम्झौतामा उल्लेख गरिएका सर्त, डिडिए रिपोर्ट, ऐन कानुन सबै हेरेर राष्ट्र बैंकले निर्णय गर्ने पनि उनले स्पष्ट पारे ।‘राष्ट्र बैंकले मौजुद ऐन कानुन अनुसार सबै मर्ज र एक्वाएरलाई हेर्दै आएको छ, यसमा पनि त्यस्तै हुन्छ’, पंगेनीले भने ।
चिठ्ठी काट्दै धितोपत्र बोर्ड
नेपाल धितोपत्र बोर्डले पुर्व घोषणा अनुसार हकप्रद सेयर जारी नगरि अक्वाएरमा जाने सम्झौताबारे बुझ्न रिलायबल डेभलपमेन्ट बैंकलाई चिठ्ठी लेख्ने तयारी गरेको छ । बोर्डका प्रवक्ता निरज गिरिले रिलायबललाई चिठ्ठी लेख्ने तयारी भैरहेको जानकारी दिए ।‘पहिले हकप्रद घोषणा गरेर अहिले किन निष्काशन नगरि अक्वाएरमा जान लागेका हो भन्ने प्रश्न सोधेरे रिलायबलसँग जानकारी माग्नेबारे छलफल भैरहेको छ, एक दुई दिनभित्रै पत्र काट्छौ, पत्रको जवाफका आधारमा बोर्ड अगाडी बढ्छ’, बोर्डका प्रवक्ता गिरिले भने ।

उनले लगानी कर्तालाई गलत सूचना दिने छुट कसैलाई नभएको पनि बताए । बोर्डले हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेर पनि जारी नगरि बसेका सबै सूचिकृत कम्पनीहरुबारे छानबिन थालिएको पनि जानकारी दिए ।

असोज १४ गते मात्रै रिलायबल डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष राधेश्याम अग्रवालले ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालसँग अक्वायर सम्झौतामा हस्ताक्षर गरेका थिए । दुवै बैंकबीच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारबाही ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य र्निधारण गरिएको छ ।

राष्ट्रिय स्तरको विकास बैंकको रुपमा विगत १० वर्षदेखि कारोबार गर्दै आईरहेको रिलायबल डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ७८ करोड ८५ लाख रुपैयाँ रहेको छ । रिलायबल डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पूँजी ८ अर्व रुपैयाँ भन्दा बढी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.