आश्रित विधयेक जस्ताको तस्तै पारित, विपक्षी एमाले चुपचाप बस्यो

  २०७३ असोज १४ गते १४:३१     विकासन्युज

काठमाडौं, १४ असोज । ब्यवस्थापिका संसदको शुक्रवारको बैठकले बजेटसँग आश्रित तीन विधयेक बहुमतले पारित गरेको छ । एमाले नेतृत्वको सरकारको समयमा संसदमा पेश गरिएको सो विधयेक तत्कालिन सत्ता साझेदार नेकपा माओवादी केन्द्र र तत्कालिन प्रमुख विपक्षी नेपाली काँग्रेसले विपक्षमा मतदान गरेको कारण अस्वीकृत भएको थियो ।

अहिले नेकपा माओवादी केन्द्रको नेतृत्वमा गठन भएको सरकारले सो विधयेक जस्ताको तस्तै संसदमा पेश गरेर पारित गरेको हो । सो सयममा विधयेक पेश गर्ने एमाले अहिले विपक्षमा छ । आजको बैठकमा एमालेले पक्ष वा विपक्षमा नबोली चुपचाप बसेको एमाले संसदीय दलको प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

 व्यवस्थापिका–संसद्को बैठकले अर्थतन्त्रसम्बन्धी तीन विधेयकलाई बहुमतले पारित गरेको हाे । ती विधेयकमा आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत (एक्काइसौँ संशोधन) विधेयक २०७३ रहेका छन् ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सदनको शुक्रबारको बैठकमा ती विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदन समक्ष प्रस्तुत गरेका थिए । ती विधेयकलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले समेत सदन समक्ष प्रस्तुत गरेको थियो । तर तत्कालीन सत्ता साझेदार प्रमुख दल नेकपा (माओवादी केन्द्र्) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएका कारण ती विधेयक पारित हुन सकेका थिएन ।

ती विधेयकका सैद्धान्तिक पक्षमाथिको छलफलमा नेपाली काँग्रेसका भरतकुमार साह र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भाग लिएका थिए । अर्थमन्त्री महराले आर्थिक समृद्धिमा सरकारले जोड दिएको, विलासीमा उपकरणमा उच्च कर लगाइएको, करका दरलाई समयसापेक्ष रुपमा परिमार्जन गरिएको बताए ।

उनले कर चुहावट नियन्त्रणमा सरकारले उच्च प्राथमिकता दिएको, कर प्रणालीमा सुधार भइराखेको पनि जानकारी दिए। व्यवस्थापिका–संसद्को अर्को बैठक २०७३ असोज १६ गते आइतबार दिनको १ बजे बस्ने छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.