लाखौँको जुवा, दुई सय जरिवाना, जुवा ऐन, २०२० अनुसार अधिकतम दुई सय रुपैयाँसम्म जरिवाना 

  २०७३ असोज १४ गते ७:५९     विकासन्युज

काठमाडौं १४, असोज । भक्तपुर सूर्यविनायकको पाण्डुबजारस्थित एक घरमा ३० साउनमा छापा हानी प्रहरीले १० लाख ५४ हजार रकमसहित १६ जुवाडे पक्राउ गर्‍यो। अनुसन्धानका क्रममा सो जुवाघरमै दैनिक करोडको हारजित हुने गरेको खुल्यो । पक्राउ परेकालाई प्रहरीले जुवा ऐन, २०२० अनुसार मुद्दा चलायो।

भक्तपुर जिल्ला अदालतले उनीहरूलाई दुई–दुई सय रुपैयाँ जरिवाना लिएर छाड्ने आदेश दियो। मुद्दा चलेकै दिन उनीहरूलाई कम जरिवानाको फैसला भएको समाचार शुक्रबारको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

अदालतले जुवाडेलाई थोरै जरिवाना गरेको होइन, कानुनअनुसार त्यो नै अधिकतम सजाय हो। जुवा100-nepalese-rupees-1 ऐन, २०२० अनुसार जु100-nepalese-rupees-1वा खेल्ने तथा खेलाउनेलाई अधिकतम दुई सय रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । कैद सजायको प्रावधान नै छैन।

५३ वर्षअघिको उक्त कानुन अहिलेसम्म समयानुकूल संशोधन नहुँदा जुवा खेलाउने र खेल्ने सजिलै छुट्ने गरेका छन् । जसका कारण राजधानीमा अवैध जुवाघरहरू मौलाएका छन्।

जुवा ऐनअनुसार अभियुक्तलाई २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिन्छ । तर, उपत्यकाका प्रहरीको तथ्यांक हेर्दा उनीहरू एक साताभन्दा धेरै हिरासतमा बस्नुपर्दैन।

प्रहरीलाई समेत प्रभावमा पारी उनीहरू केही दिनमै छुट्ने गरेका छन् । गत ३० साउनमा सूर्यविनायकमा पक्राउ परेका १६ जना जुवाडे चौथो दिनमै छुटेका थिए । प्रहरीले रातभरि बयान लिएर उनीहरूको मुद्दा छिटै बुझाएको थियो ।

सोही कारण उनीहरू चार दिन मात्र हिरासतमा बस्नुपर्‍यो । आर्थिक प्रभावका आधारमा महानगरीय प्रहरी वृत्त जगातीले उनीहरूको मुद्दा छिटै बुझाएको स्रोत बताउँछ। उनीहरू पेसेवर जुवाडे हुन्, जो पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए । तर, जतिपटक पक्राउ परे पनि उनीहरूले जुवा खेल्न छाडेका छैनन्।

दसैँ नजिकिँदै गर्दा राजधानीमा जुवातासको खाल बढेको छ । प्रहरीले हरेक दिन जुवा अखडामा छापा हानी जुवाडेलाई पक्राउ गर्न थालेको छ । बुधबार मात्र प्रहरीले राजधानीका दुई जुवा अखडामा छापा हानी ११ जनालाई पक्राउ गरेको थियो ।

कालोपुलस्थित विमल थापाको घरमा तास खेलिरहेका बारा निजगढ–७ का प्रेमध्वज लामासहित ६ जना पक्राउ परेका थिए । जुवा खालबाट एक लाख पाँच हजार सात सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी, काठमाडौं महानगरपालिका–१६ नयाँ बजारस्थित वीरेन्द्र गुरुङले भाडामा लिएको घरमा जुवातास खेलिरहेका पाँचजना पक्राउ परेका छन् । ३२ हजार र तीन बुक ताससहित उनीहरू पक्राउ परेका हुन् । यस्तै, चन्द्रागिरीको किसिपिडी बस्ने सुकुमाया श्रेष्ठकोे होटेलमा जुवातास खेलिरहेका पाँचजना मंगलबार पक्राउ परेका थिए ।

काठमाडौं महानगरपालिका–३ महाराजगन्जस्थित कोहिनुर रेस्टुरेन्ट गेस्टहाउसको तेस्रो तलामा जुवातास खेलिरहेका सञ्चालक राधा पौडेलसहित १९ जनालाई शनिबार प्रहरीले नगद दुई लाख ४० हजार ६ सय ५० रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको थियो । घरहरू भाडामा लिएर, होटेल तथा रेस्टुरेन्टहरूमा व्यावसायिक रूपमा जुवा खेलाइने गरेको प्रहरीले जनाएको छ।