एसएलसीको हौवा सकियो, एसएलसी कक्षा १० र १२ मा बनाउने प्रस्ताव

  २०७३ असोज १३ गते ७:०८     विकासन्युज

काठमाडौं १३, असोज । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षदेखि कक्षा १० को अन्तिम परीक्षालाई एसएलसी ग्रेड १० र १२ को अन्तिम परीक्षालाई एसएलसी ग्रेड १२ गर्ने भएको छ।

सरकारले माध्यमिक तहमा ‘एसएलसी कक्षा १०’ र ‘एसएलसी कक्षा १२’ बनाउने प्रस्ताव अगाडि सारेको छ। जेठमा व्यवस्थापिका–संसद्बाट पारित भएको शिक्षा ९आठौँ संशोधन० ऐनले राष्ट्रिय परीक्षा बोर्डको व्यवस्था गरेको छ ।
Grade-System-SLC-Result-207
विद्यालय तहको कक्षा १० र १२ को अन्तिम परीक्षा बोर्डले लिने व्यवस्था संशोधित ऐनमा छ ।

अबदेखि कक्षा १० को अन्तिम परीक्षाका रूपमा एसएलसी परीक्षा सञ्चालन नहुने भनी चर्चा चलिरहेका बेला सरकारले कक्षा १० र १२ लाई एसएलसी परीक्षाका रूपमा सञ्चालन गर्ने प्रस्ताव अगाडि सारेको हो।

राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव सूर्यप्रसाद गौतमले कक्षा १० बाट विद्यार्थी बाहिरिने भएकोले त्यसलाई एसएलसीका रूपमा कायम गर्नुपर्ने तर्क गर्दै भने, ‘त्यसैले एसएलसी कक्षा १० र एसएलसी कक्षा १२ गर्ने व्यवस्था प्रस्ताव गरेका हौँ । यस्तो अभ्यास विदेशका थुप्रै मुलुकमा छ।’

यस्तो प्रस्ताव बुधबार शिक्षा मन्त्रालयमा बुझाइएको छ । प्रस्तावलाई राष्ट्रिय परीक्षा बोर्डले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । बोर्डको अध्यक्ष रिक्त छ भने उपाध्यक्षमा मन्त्रालयका सचिव छन्।

परीक्षा नियन्त्रक अम्बिका रेग्मीले १९९० सालदेखिको व्यवस्थालाई तत्काल भत्काउन कठिन हुने भन्दै थपे, हाललाई परीक्षा नियन्त्रण कार्यालयले नै कक्षा १० को अन्तिम परीक्षा सञ्चालन गर्नेछ ।

देशभरिमा करिब आठ हजार विद्यालयमा कक्षा १० सम्मको पठनपाठन हुँदै आएको छ भने करिब तीन हजार छ सय विद्यालयमा कक्षा ११ र १२ को शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको छ ।

सबै विद्यालयमा माध्यमिक तह अर्थात् कक्षा १२ सम्मको कार्यक्रम सञ्चालन नभएकाले लाखौँ विद्यार्थीले कक्षा १० बाट आफू पढेको विद्यालयबाट बाहिरिनुपर्ने हुन्छ ।

बोर्डका सदस्यसचिव गौतमले कक्षा १० को परीक्षा हाललाई पनिकाले सञ्चालन गरे पनि पछि प्रदेशस्तरमा सञ्चालन हुने बताउँदै भने,‘सङ्क्रमणकालीन अवस्थामा कक्षा १० को अन्तिम परीक्षा पनिकाले नै सञ्चालन गर्नेछ । परीक्षा पनिकाले सञ्चालन गरे पनि प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी गरिनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.