एनसीसी बैंकमा राजनीति छिर्यो, काँग्रेसका केन्द्रीय सदस्य संचालक समितिमा आए, मर्जपछिको व्यवस्थापन चुनौतिपूर्ण बन्दै

  २०७३ असोज ८ गते १४:४०     विकासन्युज

काठमाडौं, ८ असोज । एनसीसी बैंकमा मर्जपछिको गठन भएको संचालक समितिको अध्यक्ष उपेन्द्रकेशरी न्यौपाने भएका छन् । कानुन व्यवासायी न्यौपाने नयाँ सञ्चालक समितिको अध्यक्ष बनेका हुन । न्यौपाने नेपाल राष्ट्र बैंकको प्रस्तावमा अध्यक्ष भएका हुन् ।

सञ्चालक समिति सदस्यमा सांसद मोहनबहादुर बस्नेत आएका छन् । उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत हुन् । उनले गत संविधानसभाको चुनावमा सिन्धुपाल्चोकबाट प्रत्यक्षतर्फबाट निर्वाचित भएका थिए । जीतबहादुर समूहको लगानीकर्ताको समर्थनमा उनी बैंक सञ्चालक बनेका हुन् ।

नेपाल राष्ट्र बैंकले सांसदलाई बैंक सञ्चालक बन्न रोक्नु पर्ने भनेर लविङ गर्दै आएको समयमा बस्नेत एनसीसी बैंकको सञ्चालक बनेर आएका छन् ।

कैलाशपतिन्द्र अमात्य र कृष्ण श्रेष्ठ पनि सञ्चालक बनेका छन् ।  श्रेष्ठ निर्मल प्रधान समूहबाट सञ्चारलक बनेका हुन । शंकरदेव क्याम्पसका सहप्रध्यापक अमात्य हरिभक्त शर्मा लगायतको समर्थनमा सञ्चालक बनेका हुन् । बैंकमा मर्ज भएका चार विकास बैंकका वर्तमान अध्यक्षहरु सञ्चालक भएका छन् । विज्ञ सञ्चालक सदस्य भने नियुक्त हुन बाँकी छ ।

पहिला सञ्चालक समिति गठन भएर त्यसले अध्यक्ष छान्ने नियम र प्रक्रिया भएपनि राष्ट्र बैंकको प्रस्तावमा न्यौपाने सोझै अध्यक्षमा नियुक्त भएको समाचार स्रोतले बतायो ।

‘आधारभूत सेयरधनीको चाहाना अनुसार भन्दै संसाद तथा सबैभन्दा ठूलो पार्टीको केन्द्रीय सदस्यलाई बैंक सञ्चालक बनाइयो । यसले मर्जपछिको व्यवस्थापन चूनौतिपूर्ण बन्दै गएको छ’ स्रोतले भन्यो ।

बैंकमा नयाँ सञ्चालक समिति गठनसँगै असन्तुष्टि बढेको छ । मर्जपछि गरिने साधारणसभा नभएसम्म यो सञ्चालक समितिले काम गर्ने भएको छ । साधारणसभाले नयाँ सञ्चालक समिति गठन गर्नेछ । मर्जपछिको एकिकृत कारोबार असोज ३० गते हुने निश्चित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.