१०० मा डायल गर्दै हुनुहुन्छ भने होसियार बन्नोस्

  २०७३ भदौ २६ गते ८:४६     विकासन्युज

काठमाडौं, २६ भदौ । तपाई १०० नम्बरमा फोन गरेर गलत सूचना दिने वा फाल्तु कुरामा गफिने गर्नुहुन्छ भने सचेत हुनुहोला । तपाई पक्राउ पर्न सक्नुहुन्छ ।

प्रहरीसँग सम्पर्क गर्न तोकिएको १०० नम्बरमा अनावश्यक फोन आउने र गफिने प्रवृति बढ्दै गएपछि त्यसलाई रोक्न सो नम्बरमा हुने सबै कुराकानी स्वतः रेकर्डिङ हुने व्यवस्था मिलाइएको छ ।

सो नम्बरको गलत प्रयोग नहोस् भनेर अहिले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा फोन रेकर्डिङ गर्न थालिएको महानगरीय प्रहरी कार्यालयका आयुक्त अतिरिक्त प्रहरी महानिरीक्षक प्रताप सिंह थापाले जानकारी दिए ।

अब त्यस्तो फोन आए उनीहरुलाई पक्राउ गर्नेदेखि आवश्यक कारबाही समेत गरिने प्रहरीले जनाएको छ ।

लामो समय गफिँदा टेलिफोन लाइन व्यस्त हुने र कतिपय बेला दुर्घटना भएको खबर दिनसमेत पीडितले लामो समय कुर्नुपर्ने अवस्था हुन्थ्यो । प्रहरीलाई गोली चलेको, सडक दुर्घटना भएको भनी गलत सूचना दिने तर प्रहरी त्यस स्थानमा जाँदा केही नभेटिने समस्या समेत अब रोकिने प्रहरीले विश्वास लिएको छ ।

विशेषतः साँझपख १०० मा डायल गरेर पुरुषले महिला प्रहरीसँग गफिने, महिलाले पुरुष प्रहरीसँग गफिने र घन्टौ कुराकानी गर्नेजस्ता प्रवृत्ति बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न रेकर्डिङ सुरु गरिएको हो ।

रेकर्डिङ हुन थालेपछि पछिल्लो समय १०० नम्बरको दुरुपयोग उल्लेख्य रुपमा घटेको आयुक्त थापाले जानकारी दिए ।

घटनापछिको संवेदनशील अवस्थाका कारण पीडितले सानो स्वरमा बोल्ने, उसले बोलेको नबुझिने, नम्बर, सङ्केत टिप्न नभ्याइने, र फोन गर्नेसँग दोहोरो संवाद हुन नसकेको अवस्थामा समेत रेकर्डिङ सुनेर पीडितको उद्धार गर्न अहिलेको पद्धतिले सहयोग गरेको आयुक्त थापाको भनाइ छ ।

उपत्यकामा १०० मा डायल गर्दा एकै पटक १६ जनाको फोन लिन मिल्ने व्यवस्था मिलाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.