सुबिसु क्यान कमटेकको शूभारम्भ, पहिलो दिन ३९ हजार १६७ जना अवलोकनकर्ता

  २०७३ भदौ २४ गते ९:५७     विकासन्युज

can_federationकाठमाडौं, २४ भदौ । बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” को शुभारम्भ भएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा शुरु भएको प्रदर्शनीको माननीय सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्की (राम कार्की)ले समुद्धघाटन गरेका छन् ।

महासंघका अध्यक्ष विनोद ढकालले सूचना तथा संचार प्रविधिको विकास ग्रामीण भेगसम्म विस्तार नभएसम्म क्यान महासंघले बोकेको इ–नेपालको परिकल्पना साकार नहुने बताए । सरकार प्रतिवद्ध भएर काम गर्ने हो भने इ–नेपाल बनाउन गाह्रो नहुने बताउँदै अध्यक्ष ढकालले भने– “यदि नेपाल सरकारको सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याउने हो भने आजको ५ वर्षमा हामी इ–नेपालका बनाउन सक्छौं ।” उनले नेपालले पनि उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने र त्यसका लागि क्यान महासंघ हातेमालो गर्न तयार रहेको बताए ।

कमटेकमा शीर्ष प्रायोजक सुबिसुले क्लियर टिभि तथा ईन्टरनेट सेवामा विशेष आकर्षक योजना ल्याएको छ । यसै गरि एशोसिएट स्पोन्सर सामसुङले नेपालका लागि जे–सेरिजका फोनहरु सार्वजनिक गरेका छन् । कमटेकको डायमण्ड स्पोन्सर नेपाल टेलिकमले ५० रुपैयाँमा ५० कै ब्यालेन्स भएको जि. एस. एम. प्रिपेड सिमकार्ड उपलब्ध गराएको छ । त्यस्तैगरी मेलामा सहभागी अन्य कम्पनीहरुले पनि विभिन्न आकर्षक अफरहरु सार्वजनिक गरेका छन् । कमटेकको गोल्ड स्पोन्सर– जेट टि ई स्मार्ट फोन, सिल्भर स्पोन्सरहरु– नेटिस र स्टार अफिस ईन्टरनेशनले पनि नयाँ उत्पादनहरु विशेष सहुलियतमा उपलब्ध गराएको छ ।

प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, इलेक्टिोनिक्स सेक्यूरिटी तथा सेफ्टी एण्ड सोलुसन्स, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् लगायत गरी एक सय वटा स्टलहरु रहेका छन् ।

कमटेकको अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क ५० रुपैयाँ र विद्यार्थीहरुलाई २५ रुपैयाँ तोकिएको छ । त्यस्तै सरकारी विद्यालयहरुबाट अग्रिमरुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कमटेक अवलोकनका लागि अनलाईन टिकटको व्यवस्था मिलाईएको छ भने सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्धेश्यले अनलाईन टिकट खरीदमा २० प्रतिशत छुटसमेत प्रदान गरीने छ ।

यस प्रदर्शनीको आकर्षणको रुपमा सुचना तथा संचार प्रविधिमा आधारित इलेक्ट्रोनिक सेक्यूरिटी तथा सेफटि एण्ड सोलुसनका अत्याधुनिक उपकरण तथा सेवा उपलब्ध छन जसका लागि छुट्टै प्याभिलिअनको व्यवस्था गरिएको छ । जसबाट अवलोकनकर्ता र सहभागि कम्पनीहरुले सहजता महशुस गर्ने छन् भन्ने कुरामा हामी आशावादी छौ । यसै गरि केहि सूचना तथा संचार प्रविधि सम्बन्धित स्टार्ट अप कम्पनीहरुको लागि निशुल्क स्टलको ब्यवस्था गरिएको छ ।

“सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” मा प्रदर्शनी गरिने सामानहरु तथा सेवाहरुका विषयमा जानकारी एस.एम.एस.बाट पनि प्राप्त गर्न सकिने छ ।

यसैबीच प्रदर्शनीको पहिलो दिन ३९ हजार १६७ जनाले मेलाको अवलोकन गरेका छन् । यस पटकको प्रदशनीमा १ लाख ५० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा कम्पनीले गरेको छ । उक्त प्रदर्शनी आगामी २६ गतेसम्म संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.