निगमको आन्तरिक उडान ३३ करोड घाटामा, घाटाको कारण चिनियाँ जहाज

  २०७३ भदौ २४ गते ४:०३     विकासन्युज

nac-1काठमाडौं २४, भदौ । नेपाल वायुसेवा निगमको आन्तरिक उडानमा वार्षिक करिब ३३ करोड घाटा भएको छ । निगमले गत आर्थिक वर्ष २०७२/७३ को एक वर्षमा ३२ करोड ९० लाख रुपैयाँ आन्तरिक उडानमा घाटा व्यवहोरेको तथ्यांकले देखाएको छ ।

निगमको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/०७२ मा आन्तरिक उडानका जहाज उडाएर निगमले १४ करोड १२ लाख रुपैयाँ घाटा व्यहोरेको छ । त्यसको एक वर्षमा नै निगमको आन्तरिक उडान घाटा १८ करोड ७८ लाख रुपैयाँ बढेर यस्तो घाटा ३२ करोड ९० लाख पुगेकोछ ।

निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको एक तथ्यांकमा हरेक वर्ष आन्तरिक उडान घाटामा रहेको उल्लेख छ । गत वर्षमा मात्रै निगमले व्यहोरेको यो घाटा चिनियाँ जहाज आउनु र आन्तरिक उडानमा सरकारी प्राथमकिता नहुनु भएको उल्लेख गरेको छ ।

वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले विहिबार पर्यटन मन्त्रालयमा भएको वार्षिक सममिक्षा कार्यक्रमा पनि निगमको आन्तरिक उडानमा वार्षिक घाटा हरेक वर्ष बढ्दै गएको बताए । उनका अनुसार एकै वर्ष करिब ३३ करोड रुपैयाँ घाटामा जाँदा पनि अन्तर्राष्ट्रिय उडानबाट कमाएको नाफाबाट पूर्ति भइरहेको जानकारी दिए ।

उनका अनुसार अन्तर्राष्ट्रिय उडानबाट नाफा कमाएकोले आन्तरिक उडानमा त्यसैलाई खर्च गरिरहेका छौ । सरकारको नीति नै अन्तर्राष्ट्रिय उडानबाट नाफा कमाएर आन्तरिक उडानमा खर्च गर्ने रहेको छ । सोही अनुसार निगमले आन्तरिकमा घाटा भएपनि सेवामूलक उडान गरिरहेको जानकारी दिए ।

अन्तर्राष्ट्रिय उडानमा दुईवटा एयरवस नामक न्यरोबडी जहाज थप गरेर उडान गर्न थालेपछि निगमको छविमा सुधार हुँदै गएको नाफा कमाउन थालेको छ । निगमको अन्तर्राष्ट्रिय उडानमा भने ५४ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ ।

यो नाफा आन्तरिक उडानको घाटा पूर्तिमा प्रयोग गरेर पनि निगमले समग्रमा वार्षिक सवा २५ करोड रुपैयाँ नाफा गर्न सफल भएको उल्लेख छ । तर, आन्तरिकमा गर्नुपर्ने खर्चका कारण निगमको उडान नाफा खर्च कटाएर २१ करोड मात्रै देखिएको छ ।

निगमको अन्तर्राष्ट्रिय तर्फको उडान संख्या एक वर्षको अवधिमा ७५ प्रतिशतले बढेकोले नाफा भएको हो । निगमले ग्राउन्ड ह्यान्डलिङमा पनि दैनिक आठ हजार यात्रुलाई सेवा प्रदान गरिरहेको छ ।

निगमले आव २०७१/७२ मा सात अर्ब नौं करोड रुपैयाँ आम्दानी गरेको थियो । यसले आव २०७२/७३ मा अन्तर्र्रािष्ट्रय उडामार्फत यस्तो आम्दानी १० अर्ब ५२ करोड रुपैयाँ पुर्याएको तथ्यांक सार्वजनिक गरेको छ ।

आन्तरिक उडान प्राथमिकतामा परेन

निगमको आन्तरिक उडान सरकारी प्राथमितकता नपर्नुले पनि हरेक वर्ष घाटा बढ्दै गएको उल्लेख छ । सरकारले निगमलाई दुईवटा चिनियाँ जहाज अनुदानमा दिएको छ । यो जहाज नेपाल भित्रिएको दुई वर्षसम्म पनि उडान समय भन्दा थन्किएर बस्ने समय धेरै छ । nac-office

एउटा चिनियाँ जहाज वर्षमा मुस्किलले ४ महिना उड्ने गरेको छ भने अर्को करिब एक वर्षदेखि थन्किएको निगम स्रोतकै भनाइ छ । निगमको ५६ सिट क्षमताको चिनियाँ जहाज एमए ६० तोकिएको समयभन्दा निकै थोरै समय उड्ने गरेको छ भने १८ सिट क्षमताको वाई १२ भने झण्डै एक वर्षदेखि विमानस्थलमै थन्किरहेको छ ।

यो जहाज कहिले पाइलटको कारण, कहिले जहामा प्राविधिक समस्याले त कहिले सरकारी असहयोग तथा चिनियाँ पक्षको असहयोगले थन्कने गरेको छ । निगमका अनुसार आन्तरिक उडान घाटामा जाने गरेको भएपनि चिनियाँ जहाज आएपछि भने अधिक घाटा चुलिएको उल्लेख छ ।

निगमले हरेक वर्ष अन्तर्राष्ट्रिय उडानका वायुसेवाका उडानलाई मात्रै प्राथमिकतामा राखेर तथ्यांक सार्वजनिक गर्ने गरेको छ । निगम अन्तर्राष्ट्रिय उडनामा राम्रो छवि बनाउन सके आन्तरिक उडान पनि विस्तारै सुध्रन सक्ने मान्यतामा निगम छ । तर, निगमले नै हरेक वर्ष घाटामा गइरहेको आन्तरिक उडानको तथ्यांकलाई भने नसमेट्नुले यसको आन्तरिकमा प्राथमिकता नै नभएको देखाउने गरेको छ ।

सरकारले निगमको आन्तरिक उडानमा जहाज थप नगर्नु र भएका ट्वीनअटर जहाजको संख्या पनि घट्दै जानु तथा त्यसलाई सञ्चालन गर्न लाग्ने शुल्क नै अधिक हुनुले निगम घाटामा गएको निगमकै उच्च पदाधिकारीको दाबी छ ।

निगमसँग जहाज कम हुनु र भाडा पनि सस्तो राखिनुका कारण अन्तर्राष्ट्रिय उडानबाट फाइदा कमाएर आन्तरिक उडानको घाटा पूर्ति गर्नुपरेको निगमले जानकारी दिएको छ । निगमका जहाजले दुर्गम क्षेत्रका स्थानीयलाई सेवामूलक उडानको सुविधा गर्नुपर्ने भएकै कारण २०४७÷०४८ देखिनै आन्तरिक उडान घाटामा जान थालेको निगमको भनाइ छ ।

निगमले दिएको जानकारी अनुसार आन्तरिक उडामा एकैपटक एक दर्जन जहाज उड्दा निगमको लागत कम थियो । लागत बढ्दै जानु, भाडादर समयसापेक्ष वृद्धि गराउन नसक्नु तथा अन्तर्राष्ट्रिय उडानबाट कमाएर आन्तरिक उडानमा पूर्ति गरिँदै आउनुले पनि समग्रमा निगममा घाटा नदेखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.