यस्ता छन् दिल्लीमा प्रधानमन्त्रीका कार्यक्रम, राजासँगैटक्कर लिने क्षमता बीपीमा

  २०७३ भदौ २४ गते १:५१     विकासन्युज

काठमाडौं २४, भदौ । मन्त्रिपरिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयुक्त राष्ट्रसंघको महासभाका लागि ३ देखि १२ असोजसम्म न्युयोर्क भ्रमण तय गरेको छ । भारत भ्रमणबारे अर्को बैठकबाट निर्णय हुने भएको छ । भारत भ्रमणका अधिकांश कार्यक्रम भने तय भइसकेको छ ।

फाइल तस्बिर

फाइल तस्बिर

प्रधानमन्त्री प्रचण्डको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री डा। प्रकाशशरण महत २६ भदौमा नयाँदिल्ली जाने भएका छन् । भारतका विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा महत दिल्ली जान लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा परराष्ट्र मन्त्री महत दिल्लीमै सहभागी हुनेछन् । प्रधानमन्त्री भ्रमण सकेर २ असोजमा स्वदेश फर्किएपछि सोही दिन महत दिल्लीबाटै संयुक्त राष्ट्रसंघको महासभाका लागि न्यूयोर्क जाने भएका छन् ।

दिल्ली भ्रमणका कार्यक्रम

औपचारिक निर्णय हुन बाँकी रहे पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका अधिकांश कार्यक्रम तय भएका छन् ।

३० भदौको बिहान ११ बजे नेपाल एयरलाइन्सबाट प्रधानमन्त्री नयाँदिल्ली जानेछन् भने २ असोज दिउँसो १ बजेको उडानबाट स्वदेश फर्किने तय भएको छ ।

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा राष्ट्रपतिभवनमा बस्नेछन् । प्रधानमन्त्री प्रचण्ड ३० भदौमा दिल्ली जानासाथ तीन कार्यक्रममा सहभागी हुनेछन् ।

प्रधानमन्त्रीले दिल्लीमा रहेका माओवादी केन्द्रका अगुवा कार्यकर्तासँग भेटवार्ता गर्नेछन् । त्यसलगत्तै भारतका बुद्धिजीवी, सांसदलगायतसँग प्रधानमन्त्रीको भेट हुनेछ ।

साँझ नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा प्रधानमन्त्री सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्डका सबै उच्चस्तरीय भेटवार्ता ३१ भदौमा हुनेछन् । प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिभवनमा भारतीय सेनाले गार्ड अफ अनर दिनेछ ।

उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपतिभवनमा राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गर्नेछन् भने राष्ट्रपति विद्या भण्डारीका तर्फबाट मुखर्जीलाई नेपाल भ्रमणको निमन्त्रणा दोहोर्‍याउनेछन् ।

हैदराबाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा पत्रकार ब्रिफिङ गर्ने कार्यक्रमको गृहकार्य भइरहेको छ । ‘यसका लागि कोसिस भइरहेको छ,’ परराष्ट्र स्रोतले भन्यो ।

सोही दिन प्रधानमन्त्री प्रचण्डलाई भारतका विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, विदेशसचिव एस जयशंकर, मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटवार्ता गर्नेछन् । सोही दिन साँझ नेपाल र भारतबीच संयुक्त विज्ञप्ति प्रकाशन हुनेछ।

प्रधानमन्त्रीलाई भारतीय जनता पार्टी, भारतीय राष्ट्रिय कंग्रेस, कम्युनिस्ट पार्टी माक्र्सवादी, जनता दल युनाइटेडका शीर्ष नेताले पनि भेट्ने कार्यक्रम छ । भ्रमणको तेस्रो दिन प्रधानमन्त्री प्रचण्ड हिमाचल प्रदेशस्थित कोलड्याम हाइड्रोपावरको बाँध निरीक्षण गर्न जाने कार्यक्रम छ । बिहान बाँध हेर्न गएर अपराह्न दिल्ली नै फर्किने र राजनीतिक भेटवार्ता पनि हुनेछन् ।

प्रधानमन्त्री प्रचण्डलाई बेंग्लोर लैजाने भारतको प्रस्ताव थियो । तर, प्रचण्डको इच्छा नभएका कारण भारत सरकारले हिमाञ्चल लैजाने कार्यक्रम बनाएको हो । यसमा प्रधानमन्त्रीले कूटनीतिक च्यानलमार्फत सहमति जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्ड २ असोजको बिहान राजनीतिक भेटवार्ता सकेर दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।

फर्किएको भोलिपल्ट प्रधानमन्त्री न्युयोर्क जानेछन् । प्रधानमन्त्री प्रचण्डले ८ असोजमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् । न्युयोर्क पुग्नासाथ प्रधानमन्त्रीले आप्रवासन तथा शरणार्थीसम्बन्धी कार्यक्रममा सहभागिता जनाउने तय भएको उनका परराष्ट्र मामिला सल्लाहकार डा। ऋषि अधिकारीले जानकारी दिए ।

‘बीपीमा थियो राजासँगै टक्कर लिने क्षमता’
वीपी कोइराला अब धेरै दिन बाँच्न सक्दैनन् भनेर डा. मृगेन्द्रराज पाण्डेले तत्कालीन राजा वीरेन्द्रलाई भनेपछि उपचारका लागि अमेरिका पठाउने निधो भयो। जेलमा रहेका बीपीलाई राजाले बोलाउन पठाएपछि राजा र बीपीबीच भेट भयो।b_p

बीपी राजासँग राजनीतिक कुरा गर्न चाहन्थे। राजाले उपचार गरेर आऊ त्यसपछि अरू कुरा गरौँला भनेछन्। बीपीले राजनीतिक कुरा उठाएपछि राजा वीरेन्द्र जुरूक्क उठेर ‘मेरो कुरा नसुन्ने म यो देशको राजा हुँ’ भनेछन्। बीपी पनि जुरुक्क उठेर ‘म पनि यो देशको जनताको नेता हुँ’ भनेपछि बल्ल राजाले बीपीको कुरा सुन्न तयार भएछन्। यसरी बीपीमा राजासँग सिधै टक्कर लिने क्षमता थियो ।

नेपाली राजनीतिमा बीपी कोइराला र नेपाली साहित्य क्षेत्रमा विश्वेश्वरप्रसाद कोइरालाबाट परिचित बीपीको शुक्रबार १०२ औँ जन्म जयन्ती, नेपाली काँग्रेस तथा नेपाली साहित्यकारहरूले देश विदेशमा विभिन्न कार्यक्रमसाथ उनलाई सम्झँदैछन्।

पञ्चायती व्यवस्थाविरुद्ध लाग्दा आजीवन काराबास सजाय पाएर १० वर्षसम्म बन्दी जीवन बिताएका प्रजातन्त्र सेनानी श्रेष्ठ भन्छन्, ‘बीपी राणा प्रधानमन्त्रीद्वय पद्मशमशेर र मोहनशमशेरका पालामा दुई पटक जेल परे। त्यसैगरी, २०१७ सालमा बीपी प्रधानमन्त्री नै हुँदा पुनः जेल परे, त्यसबेला उनले नौवटा माग राखेका थिए, उनको एउटा माग पत्रपत्रिका पढ्न पाउनुपर्ने रहेछ । म पनि जेलमा थिएँ, पछि थाहा भयो बीपीको कारण हामीले पनि ‘गोरखापत्र’ पढ्न पायौँ।’

विसं १९७१ साल भदौ २४ गते जन्मिएका बीपीको असाधारण अभिव्यक्ति कला, लेख्य क्षमता, भाषिक ज्ञान र समर्पणभाव अनि दुःखदायी जीवनी पढ्दा जोकोही पनि भावुक हुन्छन्।

राणाशासन ढालेर देशमा प्रजातन्त्र स्थापना गर्न राजनीतिक आन्दोलनमा होमिएका सर्वाधिक लोकप्रिय नेताहरूमा बीपीको नाम अग्रपङ्क्तिमा आउँछ। बीपी नेपाली कांग्रेसका एक मुख्य संस्थापक मात्र नभएर कांग्रेसको राजनीतिक सिद्धान्त र रणनीतिका प्रमुख प्रवक्ता र व्याख्याकार पनि थिए।

२०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा दुई तिहाइभन्दा बढी मत आर्जन गरी पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाको राजासँग टकरावकै कारण २०१७ साल पुस १ गते प्रजातन्त्र अपहरण भयो र उनीलगायत नेताहरू पनि जेल परे। आठ वर्ष निरन्तरको जेलजीवनपछि उनी भारत निर्वासित भए।

राजनीतिमा मात्र होइन नेपाली साहित्यमा पनि बीपीको त्यत्तिकै ठूलो योगदान छ । साहित्यकार भुवन ढुङ्गाना भन्छन्, ‘बीपी कोइराला गतिशील नेता हुनुन्थ्यो, उहाँले राजनीति गर्नेलाई जत्तिकै साहित्यकारलाई पनि माया गर्नुहुन्थ्यो । उहाँ स्रष्टा र द्रष्टा दुवै हुनुहुन्थ्यो । नेपाली साहित्य क्षेत्रमा बीपीको योगदानलाई नेपाली साहित्यकारहरूले कहिल्यै भुल्न सक्दैनन् । जेलमा बसेर उहाँले नेपाली साहित्य भण्डारलाई समृद्ध बनाउनुभयो।’

‘चन्द्रवदन’ विश्वेश्वरप्रसाद कोइरालाको पहिलो नेपाली भाषाको कथा हो । ‘कथा कुसुम’, ‘दोषी चस्मा’ ‘श्वेत भैरवी’ कोइरालाका कथा सङ्ग्रहहरू हुन् । ‘नरेन्द्र दाइ’, ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘मोदिआइन’, ‘हिटलर र यहुदी’ तथा ‘बाबु आमा र छोरा’ कोइरालाका उपन्यास हुन् भने कथा र उपन्यासका साथै कविता, निबन्ध, आत्मवृत्तान्त प्रकाशित छन् । कोइरालाका केही निबन्ध र आत्मवृत्तान्त निधनपछि मात्रै प्रकाशित भएका हुन् ।

राष्ट्रपुकारका सम्पादक एवम् पूर्वमन्त्री होमनाथ दाहालका अनुसार, बीपी एकदमै विरोधी खेमाका पत्रकारलाई पनि उत्तिकै सम्मान गर्थे र आफ्ना भनाइ राख्थे। कल्पना, ज्वालाजस्ता पत्रिकामा उनका विचार आइरहन्थे । बीपी पत्रकारका लागि सुगम व्यक्तित्व थिए।
देशभित्र मृत्युदण्डको माग गर्ने तत्कालीन पञ्चहरूको जोखिम स्वीकार गर्दै उनी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नारा लिई नेपाल फर्किए।

संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रका पक्षमा जीवन समर्पित गरेका बीपी नेपालको राजनीतिमा समर्थन र विरोधको केन्द्रमा रहे। साथै उनी अन्तर्राष्ट्रिय स्तरमा पनि परिचित लोकप्रिय नेपाली राजनेता थिए। जीवनभर जनताका अधिकारका लागि लडेका कोइरालाले क्यान्सरसँग पनि लड्नुपर्‍यो र त्यही रोगबाट उनको २०३९ साउन ६ गते निधन भयो ।

संघीय निर्वाचनमा अदालतको चासो

संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सर्वोच्च अदालतले चासो देखाएको छ । दुवै तहको निर्वाचन गर्दा उचित आदेश माग्दै दायर एक रिटमाथि बिहीबार प्रारम्भिक सुनुवाईमा सर्वोच्च अदालतले निर्वाचनका लागि आवश्यक कानुन निर्माण र मिति घोषणामा भइरहेका प्रगतिबारे सरकार र संसदसँग जवाफ मागेको छ।

न्यायाधीश डा। आनन्दमोहन भट्टरार्यको एकल इजलासले निर्वाचनासमबन्धी कानुन निर्माणमा भएका प्रयास र निर्वाचन तालिकाबारे भएको प्रगतिको लिखित जानकारी मागेको हो।

कानुन निर्माणमा ढिलाई भएको र संविधानले तोकेको निर्वाचन गर्नुपर्ने अवधि आइपुग्न लाग्दासमेत बेवास्ता भएको भन्दै दायर रिटमा इजलासले निवेदकले उठाएका विषयलाई केकसो भएको हो १५ दिनभित्र लिखित जवाफ दिन भनेको हो।

चैतभित्र स्थानीय चुनाव गर्न प्रमुख तीन दल सहमत

प्रमुख तीन दल आगामी फागुन–चैतभित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार भएको छलफलमा कांग्रेस, एमाले र माओवादी केन्द्र चैतभित्र निर्वाचन गर्न सहमत भएका हुन् ।

तीन दलले स्थानीय तह पुनर्संरचना आयोगमा तीन दिनभित्र स्थानीय प्राविधिक समितिमार्फत प्रतिवेदन पठाउन आ–आफ्ना जिल्ला कमिटीलाई निर्देशन दिने सहमतिसमेत गरेका छन् ।

‘तीन दिनभित्र सहमति खोजेर प्रतिवेदन पठाउन सहयोग गर्न सबैले जिल्ला कमिटीलाई निर्देशन दिइनेछ,’ एमाले स्थायी समिति सदस्य तथा स्थानीय निकाय विभागका प्रमुख किरण गुरुङले भने, ‘फागुन–चैतभित्र निर्वाचन गर्ने प्रतिबद्धतासहित अघि बढ्ने सहमति भएको छ ।’

एमालेले स्थानीय तहको चुनाव गर्ने सर्तमा सरकारको तयारीलाई सहयोग पु(याउने प्रतिबद्धता जनाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । समाचार स्रोत: शुक्रबारका दैनिक पत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.