कहाँ अड्कियो मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने महत्वकांक्षी योजना

  २०७३ भदौ २४ गते ०:१२     विकासन्युज

NTA_NTC_MOU!!काठमाडौं २४, भदौ । गत असार १३ गते नेपाल दुर सञ्चार प्राधिकरण र नेपाल टेलिकमले मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने महत्वकांक्षी योजनामा हस्ताक्षर गरे ।

पाँचथरदेखि गोरखाको आरुघाटसम्म अप्टिकल फाइबर बिछ्याउने योजनाको प्रारम्भिक सम्झौता पत्रमा नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले हस्ताक्षर गरेका थिए ।

साउन १५ गते दुबै निकायबिच व्यवसायीक सम्झौतामा हस्ताक्षर गर्ने सहमति समेत गरिएको थियो ।

तर भदौको अन्त्यतिर आईपुग्दा पनि यी दुई निकायबिच व्यवसायीक सम्झौता सम्पन्न हुन सकेको छैन् । अझै पछिल्लो समय त प्राधिकरण र टेलिकमबिच अप्टिकल फाइबर बिछ्याउने सम्झौताबारे छलफल समेत भैरहेको छैन् ।

आखिर कहाँ अड्कियो हलो ? भन्ने प्रश्न गर्दा नेपाल दुर सञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने ‘प्राधिकरणले सबै काम सम्पन्न गरिसकेको छ, बोर्डका कारण सम्झौता रोकिएको होइन, अब बल टेलिकमको कोर्टमा छ ।’

उता, नेपाल टेलिककमकी प्रवक्ता प्रतिभा वैद्यले टेलिकमका कारण सम्झौता नरोकिएको दावी गरिन । ‘हाम्रो कारण सम्झौता अघि नबढेको होइन, हामी तयारी गरिरहेका छौं’, वैद्यले भनिन् । तयारी कहाँ पुग्यो भन्ने प्रश्नको जवाफ थियो–‘अहिलेका लागि तयारी भैरहेको छ भन्ने मान्नुस् ।’

श्रोतका अनुसार नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यको पदावधी र नयाँ सरकार गठनको कारण सम्झौता रोकिएको हो । वुद्धिप्रसाद आचार्यको कार्यकाल सकिनै लाग्दा सम्झौताको प्रक्रिया अघि बढेको थियो । सोही अवधीमा सरकार पनि परिवर्तन भयो । शेरधन राईका ठाउँमा राम कार्की सञ्चार मन्त्रालयको जिम्मेवारीमा आए ।

‘एमडीको कार्यकाल सकिएको छ, नयाँ मन्त्री आएका छन् उनलाई ब्रिफिङ गर्नु पर्छ त्यसैले रोकिएको हो’,श्रोतले भन्यो ।
गाउँ गाउँसम्म आधुनिक सूचना प्रबिधीको पहुँच विस्तार गर्ने सरकारी योजना अनुसार ग्रामिण दुर सञ्चार कोषको रकम प्रयोग गर्नेगरि टेलिकमसँग प्रारम्भिक सम्झौता गरिएको थियो ।

मध्यपहाडी लोकमार्गको पुर्वी खण्ड अन्तर्गत पर्ने सो क्षेत्रमा सडक निर्माण भएका ठाउँमा अप्टिकल फाइबर बिछ्याइने र सडक निर्माण नभएका क्षेत्रमा माइक्रो वेभका माध्यमबाट इन्टरनेट सेवा विस्तार गर्ने योजना त्यसमा समावेश गरिएको थियो ।

टेलिकमसँग गरिएको सम्झौता अनुसार प्राधिकरणले अप्टिकल फाइबर बिछ्याउन लाग्ने उपकरण खरिदको रकम, कामदार तथा जडान शुल्क टेलिकमलाई उपलब्ध गराउनु पर्ने थियो । परामर्श दाता लगायतको खर्च भने टेलिकम आफैंले व्यहोर्नु पर्नेछ ।
कति क्षमताको फाइबर बिछ्याउने ?

मध्य पहाडी लोकमार्गमा बिछ्याइने अप्टिकल फाइबर ९६ कोर क्षमताका हुनेछन् भने जिल्ला सदरमुकाममा बिछ्याइने फाइबरको क्षमता ४८ कोर हुनेछ । नगरपालिका क्षेत्रमा बिछ्याउने अप्टिकल फाइबर भने २४ कोर क्षमताका हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.