पुल निर्माण नहुँदा जलविद्युत्मा गरिएको २२ अर्बको लगानी प्रभावित

  २०७३ भदौ २२ गते ८:११     विकासन्युज

बेसीशहर, २२ भदौ । पूर्वी लमजुङको दोर्दीखोलामा निर्माणाधिन नौथर–सेरा जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण विगत– ५ वर्षदेखि अलपत्र छ ।

दोर्दी करिडोरका एक दर्जन गाविस जोड्ने उद्देश्यले निर्माण गर्न लागिएको सो पुलको काम ठेकेदारले समयमै अघि नबढाउँदा स्थानीय वासिन्दाले सास्ती खेप्नुपरेको छ । एउटै ठेकेदारले धेरै काममा ठेक्का पार्ने अनि काम सुरु गरेर वर्षौसम्म अलपत्र छाड्दा समस्या भएको हो ।

ठेकेदार पाएजति सबै ठेक्का आफैं लिने र कामदारको अभाव देखाएर वर्षौँसम्म काम अपलपत्र पार्ने प्रक्रियाको अन्त्य हुनुपर्ने माग सांसद लालबहादुर तमुको छ । ६ वर्षअघि रु पाँच करोडको लागतमा निर्माण सुरु गरिएको पुल यतिबेला अलपत्र छ । छ वर्षको अवधिमा पुलमा तीनवटा पिलर बन्नुबाहेक अन्य कुनै पनि काम भएको छैन ।

विसं।२०७० असार मसान्तसम्ममा पुल निर्माण गरिसक्न थप म्याद दिइएको थियो तर २०६८ देखि २०७० सम्म ठेकेदार कम्पनी सपना जयबाबा जेभीले एक÷एक वर्षको फरकमा एउटा एउटा खाडल खन्दै पिलर राख्दै आएपनि विगत दुई वर्षदेखि पुल बनाउने कार्यमा सिन्को पनि नभाँचेको स्थानीय राजनीतिक दलका प्रतिनिधिको भनाइ छ ।

काँग्रेस सभापति भेषबहादुर पौडेल भन्छन्– “ हामीले चारवर्ष अघि नै पुलः निर्माणका लागि भन्दै खाडल खनेको देखेका थियौँ तर अहिलेसम्म खाडल खन्ने र पुर्ने बाहेक पुलःनिर्माणको काम अघि बढेको पाइएन । त्यस्ता ठेकेदारलाई तत्काल कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाउनुपर्छ । ”

ठेकेदार कम्पनीले बारम्बारको चेतावनीलाई समेत बेवास्ता गरेपछि ठेक्का प्रक्रियानै रद्द गरेर नयाँ प्रक्रियामा जाने तयारी भएको जिल्ला विकास समितिले बताएको छ । दोर्दी करिडोरमा मात्र जलविद्युत् क्षेत्रमा निजी क्षेत्रबाट रु २२ अर्ब भन्दा बढी लगानी भएको तर पुलःनिर्माणले गति नलिँदा वर्षायाममा सबै जलविद्युत् आयोजनाको काम रोक्नुपर्ने बाध्यता छ ।

स्थानीय विकास अधिकारी शेखर पौड्यालका अनुसार जिल्लाको दोर्दी करिडोरमा मात्र जलविद्युत् आयोजनका लागि रु २२ अर्ब लगानी भइसकेको छ तर नदीमा पुलःनिर्माण नहुँदा वर्षायाममा काम रोक्नुपर्ने बाध्यता छ । पुल निर्माण छिटो गर्न बारम्बार ताकेता गरे पनि ठेकेदारले कानमा तेल हालेर बसेको छ । सडक डिभिजन कार्यालयले पनि ठेकेदारलाई बारम्बार ताकेता गरिएको तर उसले कुनै सुनुवाई नगरेकाले ठेक्का प्रक्रिया खारेजी गरेर नयाँ बोलपत्र आह्वानको तयारी रहेको जनाएको छ ।
सो पुलःनिर्माण नहुँदा पूर्वी लमजुङका दर्जन भन्दा बढी गाविस सडक सञ्जालसँग जोडिन सकेका छैनन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.