खुशीयाली साट्न देशका प्रमुख शहरमा एनसेल मेला हुने, भाद्र ३० गतेबाट सुरु

  २०७३ भदौ १६ गते १३:५३     विकासन्युज

काठमाडौं, १६ भदौ । देशकै अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले देशका विभिन्न ५ शहरहरुमा एनसेल मेलाको आयोजना गर्ने भएको छ । कम्पनीले रि—ब्राण्डिङ्ग पश्चात नजिकिदै गरेको चाँडपर्वको अवसर पारेर नारायणघाट, पोखरा, बुटवल, धरान र बिर्तामोडमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुसीयाली साट्न, शुभकामना आदान प्रदान गर्न र आफ्नो नयाँ ब्राण्ड स्थानिय स्तरमा चिनाउन एनसेल मेला गर्न लागेको हो ।
Ncell_mela
मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेला यही भाद्र ३० गते नारायणघाट (नारायणी किनार) मा आयोजना गरिने छ । यो मेला असोज १ गते पोखरा (प्रदर्शनी केन्द्र, नयाँ बजार), असोज ३ गते बुटवल (सिद्घेश्वरी मैदान, दीपनगर) र असोज ६ गते धरान (पब्लिक हाई स्कुल मैदान) मा आयोजना हुनेछ र असोज ८ मा बिर्तामोड (सुगम पेट्रोल पम्प मैदान) मा आयोजना पश्चात मेलाको समापन हुनेछ । प्रत्येक शहरमा मेला बिहान ११ बजे शुरु हुनेछ र कन्सर्ट सहित साँझसम्म चल्ने एनसेलले जनाएको छ ।

चर्चित कलाकार तथा संगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका केही विषेश आर्कषणहरु हुन् । यसदेखि बाहेक मेलामा आउने आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउने छन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विषेश हाईटेक जोनमा चलाएर टेष्ट गर्न सक्नेछन् ।

मेलामा कलाकारहरु सुगम पोख्रेल, शिव परियार, सन्दिप क्षेत्री, मिलन अमात्य, लाउरे, रेमोन दास श्रेष्ठ, समृद्घी राई र एक्स व्याण्डको प्रस्तुतीहरु रहने छन् । त्यसैगरी, युभि एन्जल्स् र डिजे रुपेशले आफ्नो प्रस्तुतीबाट दर्शकलाई मनोरन्जन प्रदान गर्नेछन् । मेलामा बालबालिका लगायत सबै उमेरका लागिविविध कार्यक्रमहरु समाबेश गरिएका छन् । बालबालिकालागि इन्फ्लेटेड क्यासल, मेरी गो राउण्ड र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका छन् । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाउन सक्नेछन् ।

गीत संगीत, गेमहरु र अन्य आर्कषण बाहेक, मेलामा नेपाली, ईण्डियन र चाईनिज परिकारका स्टलहरु पनि रहनेछन् ।

“हाम्रा आदरणीय ग्राहकमाझ पुगी खुसीयाली साट्न र सबैसँग चाडपर्वको शुभकामना आदानप्रदान गर्न एनसेल मेला आयोजना गर्न लागिएको हो,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “विविध आकर्षक कार्यक्रमहरु समावेश गरिएको यो मेलामा आउने दर्शकले भरपुर मनोरन्जन पाउने कुरामा हामी विश्वस्त छौ र सबैलाई आफ्ना परिवारजन, आफन्त र साथीभाईसंग रही खुसी साट्न थप उर्जा दिने विश्वास लिएका छौ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.