गुणस्तरीय पर्यटनका लागि नेपालको ब्राण्डिङ गर्नु आवश्यक

  २०७३ भदौ ११ गते ६:२७     भरत बस्नेत

 

भरत बस्नेत

भरत बस्नेत

नेपालमा पर्यटन विकासको इतिहास त्यति लामो छैन । पर्यटन विकास विस्तारै मान्छेहरू एक ठाउँबाट अर्को ठाँउमा जाने क्रमसँगै भएको हो । विश्वमा औद्योगिकरणको सुरुआतसँगै बढेको व्यस्थताले गर्दा नजिकका स्थान विदाको दिन घुम्न र विश्रामका लागि जान थाले । घुम्न जान थालेपछि सुविधाको पनि विस्तारै विकास हुँदै गयो । काम गर्ने र फूर्सद कम हुने भएपछि बार्षिक रूपमा हुने छुट्टीलाई एक देशबाट अर्को देशमा घुम्न जाने क्रमसँगै नेपालमा पनि पर्यटन विकास हुन थालेको पाइन्छ ।

नेपालको सन्दर्भमा अंग्रेजले शासन गरिरहदाँ नेपालमा आउने पर्यकको ढोका बन्द नै थियो । एक ठाउँबाट अर्को ठाँउमा घुम्न जाने संस्कृति त त्यतिवेलको नेपालमा कल्पना पनि थिएन । नेपालीलाई त्यतिबेला कहिँ घुमघाममा जानुपर्ने आवश्यकता पनि थिएन । तर, गोरखालीले लडेको विश्वयुद्ध र यसबाट पाएको वीरताको पहिचानले भने नेपालसम्मको पहुँच चाहिँ त्यतिबेलै विकास भैसकेको थियो । पहिलो र दोस्रो विश्वयुद्धमा नै नेपालको प्रचार चाहिँ भएकै हो ।

सन् १९५० पछि जब नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रसम्मको लागि खुला भयो । त्यसपछि केही विदेशीको नेपाल आउने इच्छा पनि बढ्दै गयो । नेपालमा आउने विदेशीको चाहना भ्रमण र घुमघाम भन्दापनि नेपालको अध्ययन गर्न आए । यसलाई नेपाल अध्ययन भ्रमण भनेर बुझ्न सकिन्छ ।

अर्को थरी कस्ता व्यक्ति आए भने नेपाल विश्वमा नै अग्ला शिखरको भूमि भनेर त्यसको नामले आए । जसको इच्छा विश्वकै अग्ला शिखर चुम्ने र आफ्नो कृतिको पनि पहिचान गर्ने उद्देश्य रह्यो । विदेशीले गर्ने अध्ययन भ्रमण र आफ्नो कृतिको लागि गर्ने काम नै नेपालको पर्यटन बजार बन्यो । यूरोप तथा अमेरिकाका अग्ला हिमाल आरोहण गरिसकेपछि विश्वकै अग्लो हिमाल पनि चढौं न त भन्दै आउने थालेका विदेशीको टेण्ड नै नेपालमा व्यवासायिक रूपमा विस्तारित र स्थापित पर्यटन बजार बन्न पुग्यो ।

महङ्गोबाटै सुरु भयो नेपाल प्रवद्र्धन

जब नेपाललाई विदेशीले चिन्न थाले र नेपालीको पहिचान बाहिर जान थाल्यो त्यतिबेला हाम्रो पर्यटन शिशु अवस्थामै थियो । त्यसबेला अर्थात सुरुमा नेपालको प्रचार हुँदा र नेपाल आउन भनेको निकै महङ्गो थियो । नेपालको साँस्कृतिक विविधिता, प्राकृतिक विविधता र यहाँका कला संस्कृतिको प्रचार हुन सकेन ।

पहिलेदेखी नै नेपाल ठूला र विशाल हिमाल भएको देश नै भनेर प्रचार हुन थाल्यो । यसले गर्दा नेपाल हिमालै हिमालको देश रहेछ भनेर प्रचार भयो । यसले गर्दा नेपाल अरु व्यत्तिका लागि भन्दा पनि आरोहण र पर्वतीय पर्यटनकै लागि रहेछ भनेर पनि चिनिन थालियो ।

नेपालमा अध्ययन भ्रमणमा आउन थालेका विदेशीले किताव पनि लेख्न थाले । नेपालको बारेमा पुस्तक छापिन थाल्यो । नेपालको बारेमा हिमाल मात्रै नभएर काठमाडौं, चितवत, पोखरासहितका पर्यटकीय गन्तव्य पनि रहेछ भनेर चिनिन थाल्यो । विस्तारै पर्यटनले नेपाल पनि घुम्न लायक गन्तव्य रहेछ भनेर बुझ्दै जाने र आउन पनि थाले ।

गुणस्तरीय पर्यटक बढाउनकै लागि त्यतिबेला नेपालमा विश्वकै सबैभन्दा अग्लो ठाँउमा होटल खुल्यो । यही होटलका लागि स्याङबोचे विमानस्थल बनेको थियो । होटल एभरेष्ट भ्यू नामको यो होटलमा आउने विमानस्थल आवश्यक पनि भयो । यो निकै महङ्गो होटल हो । त्यसैगरी अमेरिकनकै स्वामित्वमा चितवनको राष्ट्रिय निकुञ्जमा टाइगरटप्स होटल थियो ।

यो होटलमा जाने आउने बाटो नभएको कारण चितवनमा नै मेघौली विमानस्थल बन्यो । यो विमानस्थल बनाउन सरकारले लगानी गरेको भएपनि चाहना भनेको चितवनको वाइल्डलाइफ पर्यटनकै विकास गर्ने गरी पर्यटक ल्याउने नै पहिलो उद्देश्य थियो । यो स्थान पनि निकै महङ्गो पर्यटकीय स्थल बन्यो ।

एक त विमानस्थालसम्म चार्टर उडान गरेर जानुपर्ने र सेवा सुविधाका लागि धेरै रकम खर्च गर्नुपर्ने अवस्था थियो । यसको अर्थ नेपालमा सुरु भएको पर्यटन गुणस्तरीय पर्यटनबाटै भएको हो । जब नेपाल पर्यटकबीच चिनिन सुरु भएको त्यतिबेला महङ्गो गन्तव्यबाट नै सुरु भएको हो ।

नेपालकै पहिलो पाँचतारे होटल

नेपालकै पहिलो पाँचतारे होटल थियो कान्तिपथमा रहेको रोयल होटल । अहिले निर्वाचन आयोग रहेको स्थानमा अवस्थित पहिलो पाँचतारे होटल हाल बन्द भैसकेको छ । यो होटल बनाउन सरकारले विदेशीलाई जग्गा उपलव्ध गराएको थियो । यो होटल रसियन नागरिक बोरिस लिक्षनाभेजले संचालन गरेका थिए ।

बोरिसले सरकारी जग्गा भाडामा लिएर अहिले निर्वाचन आयोग भएकै ठाउँ बहादुर भनवमा नेपालको पहिलो पाँचतारे होटल संचालन गरेका थिए । राजा त्रिभुवनले निम्तो गरेर नेपालमा लगानी गर्न विदेशीलाई ल्याएका थिए । यस होटलमा सरकारका विशिष्ट पाहुना र पर्यटक बस्ने गर्थे ।

यो होटल सन् १९८० को दशमा बन्द भएको हो । सरकारले बोरिसबाट जग्गा फिर्ता लियो र उनको होटल बन्द भयो । सरकारले यो होटल बहादुर भवनबाट हटाएपछि दरबारमार्गमा अहिले संचालनमा रहेको याक एण्ड यतिको लाइसेन्स बोरिसलाई दिएको थियो । यो होटल संचालन गर्ने चरमा भने राधेश्याम सर्राफले बोरिसमार्फत लाइसेन्स लिएर संचालन गरेका हुन ।

त्यतिबेला रोयल र सेल्टीमा मात्रै पाँचतारे होटल थिए । रोयल बन्द भएर याक एण्ड यति खुलेपछि भने विस्तारै पाँचतारे होटल बढ्दै गएका हुन । पाँचतारे होटल एभरेष्ट, अन्नपूर्ण, ह्यात रिजेन्सी हुँदै अहिले १० वटा पुगेका छन् । निर्माणधिन पाँचतारे होटल पनि प्रसस्त मात्रामा आउदै छन् । यसर्थ, नेपालको पर्यटन क्वालीटी पर्यटनबाट नै भएको हो ।

पहिले सगरमाथा क्षेत्रको एभरेष्ट भ्यू होटलले पर्यटकलाई गुणस्तरीय सेवा दिन सुरु गर्दा निकै महङ्गो शुल्क ग¥यो । चितवनको पर्यटन टाइगर टप्सनामक वाइल्डलाईफबाट सुरु भयो । पोखरामा पनि फिस्टेल लज थियो । अहिलेसम्म संचालनमा रहेको यो लजले पनि पोखरामा पर्यटन विकास गर्ने अग्रणी भूमिका निर्वाह गरेको छ । यो होटल पुरानै हो । पोखरामा होटल न्यु क्रिस्टल पनि निकै पुरानो हो । यो होटल संचालन हुँदा पोखरामा बाटो नै पुगेको थिएन ।

एड्भेञ्चर टुरिजमको विकास त्यतिबेला महङ्गो नै थियो । राफ्टिङमा पनि टाइगरटप्स संचालन गर्ने कम्पनीले नै माउन्टेन रिभर संचालन गरेको हो । नेपालमा जतिबेला पर्यटनको सुरुआत भयो सबै महङ्गो पर्यटकीय सेवा र सुविधाबाट नै भएको थियो ।

सस्तो पर्यटनको सुरुवात

जब नेपालमा विदेशबाट गाडि चढेर आउने र यहाँ आएर त्यो गाडि नै बेचेर मोजमस्ती गर्ने हिप्पीहरु आउन थाले तब पर्यटनक बिस्तारै बढ्दै जान थाल्यो । पयर्टक बढ्न थालेपछि पर्यटकीय सेवा पनि बढ्दै गए । काठमाडौंकै ठमेलमा रहेको काठमाडौं गेस्ट हाउसको सुरुवातपछि महङ्गोदेखि सस्तो प्याकेज संचालन हुन थाल्यो ।

पर्यटकीय सेवाप्रदायक संस्था एकपछि अर्को गर्दै बिस्तारै बढ्न थाले जसले गर्दा गुणस्तरमा होइन व्यवसायिक प्रतिस्पर्धा हुन थाल्यो । पर्यटकलाई सेवा दिने नाममा सस्तो महङ्गो जुन आए पनि त्यसबाट नेपालमा पर्यटनको संस्कृति बस्दै गयो ।

सुरुको नेपालको पर्यटकीय गन्तव्य गुणस्तरीयबाट सुरु भएपनि पर्यटक बढ्दै जादाँ सस्तो पनि हुन थाल्यो । पहिले टी हाउस ट्रेकिङ हुन्थ्यो । पछि लज टे«किङ हुन थाल्यो । त्यतिबेला लजमा बस्न जाँदा खाना खाएको पैसा मात्र लिने बसेको पैसा नलिने गरि सेवा सुरु भएको हो ।


नेपालको आवश्यकता सस्तो ट्रेकिङ नै होइन

नेपालको आवश्यकता सस्तो टे«किङ होइन । नेपालको ब्राण्डिङ गर्ने उपयुक्त माध्यम क्याम्पिङ टे«क नै हो । जब नेपालमा क्याम्पिङ गर्ने स्थानमा पनि लज हुन थाल्यो । तब असली टे«किङ विस्तारै हराउँदै गयो । मेरो मान्यता चाँहि पर्यटकलाई नेपाल चिनाउने र साँच्चे पर्यटकीय सेवा दिन हो भने लज टे«किङ नगरौ क्याम्पिङ मात्रै गर्नुपर्छ भन्ने हो ।

नेपाल टे«किङको उत्कृष्ट गन्तव्य हो । नेपालमा लज टे«किङ गर्नु हुँदैन भनेर मैले आफ्नो अडान अझै छोडेको छैन । लज ट्रेकिङ गर्दा स्थानियले लाभ लिन सक्ने तर्क गर्न थालेर यो सेवा सुरु भएको थियो । मेरो बुझाईमा त नेपालको पहिचान दिने र वास्तविक पदयात्राको भोग भनेकै क्याम्पिङ टे«किङ नै हो । मैले लज टे«किङ नगर्दा दुर्भाग्यवस नै भन्नुपर्छ म यो व्यवसायबाट नै अलग्गिए । मेरो सरोकार मैले व्यापार गर्न नपाएको भन्दा पनि पर्यटकीय सेवामा गुणस्तरीयता जोगाउँनु पहिलो प्राथमिकता हो ।

अबको आवश्यकता : गुणस्तरीय कि संख्यात्मक ?

हामीले खोज्ने पर्यटन संख्यात्मक होइन गुणात्मक नै हो । नेपालले पर्यटकीय पूर्वाधार विकास गर्दै संख्या बढाउदै जाने क्रममा गुणस्तरीय मात्रै बढाउँदै गयो भने अवश्य पनि यो क्षेत्रको भविष्य राम्रो छ । उदाहरणको रूपमा हेर्ने हो भने, फ्रान्समा सबैभन्दा बढी पर्यटक पुग्छन र त्यहाँ सोही अनुसारको पर्यटकीय पूर्वाधार पनि बनेको छ । स्पेन, टर्की तथा युरोपेली र अमेरिकी मुलुकले पूर्वाधार अनुसार नै गुणत्मक पर्यटक खोज्ने गरेका छन् । भारतले अहिले संख्यात्मक खोजिरहेको छ ।

अहिलेको हाम्रो अवस्था हेर्दा एउटा मात्र विमानस्थलबाट लाखौ पर्यटक बढाउँन सकिदैन । हवाई जहाज पनि ठूलो हुनुपर्छ । नेपालमा विमानस्थ, हवाईजहाज, पर्यटकीय गन्तव्यमा पुग्न सक्ने सुविधा पर्यटकलाई खानेबस्ने सेवा सुविधा सबैको अवस्थाबाट हेर्ने हो भने नेपालले संख्यात्मक नभएर गुणात्मक पर्यटकमै जानुपर्छ ।

गुुणात्मक पर्यटक मात्रै पुग्दा यस क्षेत्रबाट हुने लगानी सिमित ठाउँमा मात्रै पुग्ला भन्ने प्रश्न पनि आउँन सक्छ । यसका लागि आएका पर्यटकबाट राज्यले लाभ लिन सक्नुपर्छ । नेपालका सबै पर्यटकीय गन्तव्य, हिमाल, ताल, प्रकृतिक छटा सबै राज्यका सम्पती हुन । यसर्थ, राज्यले पहिले पर्यटन क्षेत्रबाट लाभ लिन सक्नुपर्छ । राज्यले पर्यटन क्षेत्रबाट लिएको लाभलाई शिक्षा, स्वस्थ्य, रोजगारका क्षेत्रमा खर्च गर्नुपर्छ । पर्यटकीय पूर्वाधारमा खर्च गर्नुपर्छ । जसबाट राज्यले र जनताले नै लाभ पाउँछन् ।

भुटानमा हरेक दिन २५० डलर खर्च गर्नुपर्ने व्यवस्था छ । यसबाट राज्यले ४० प्रतिशत लिने र आवश्यक पूर्वाधार तथा जनताले प्रत्यक्ष लाभ पाउने क्षेत्रमा खर्च गर्छ । जसबाट पर्यटनको आम्दानी माथिल्लो तहदेखि तल्लो तहसम्म नै नेपालको साँस्कृतिक, विविधिता, विशाल हिमाल तथा सबै पर्यटन र पर्यटकीय क्षेत्र राज्यको हो ।

यसर्थ, पर्यटकीय सेवा र सुविधाका लागि राज्यले उचित नीति तथा कार्यक्रम लागू गर्नुपर्छ । नेपालको सन्र्दभमा पनि राज्यले पर्यटकीय क्षेत्रबाट लिने लाभलाई उचित सदूपयोग गर्ने गरी प्रयोग गर्न सकिन्छ । नेपालमा अहिले पर्यटक नबढेको भएपनि पर्यटन व्यवसायीको भने संख्या बढेको छ । यसले गर्दा व्यवसायिक प्रतिस्पर्धा बढेको देखिन्छ । एक सय डलर आउने ठाँउमा व्यवसायीकै कारण ५० डलर पनि नआउँने अवस्था छ । प्रतिस्पर्धा भन्दैमा नोक्सानमा काम गर्ने त होइन नि ?

विदेशी मुलुकसँग तुलाना गर्ने हो भने प्रतिस्पर्धा सेवा र सुविधामा हुन्छ । कम रोजगारी दिने, प्रविधिको प्रयोग ज्यादा गर्ने र गुणस्तरीय सेवा दिने उद्देश्य हुन्छ । विदेशीले प्रविधिको प्रयोग गरेका छन भन्दैमा हामी पनि उनिहरूको पछि लाग्नुपर्छ भन्ने छैन ।

मेसिनबाट आतिथ्यता हुँदैन । आतिथ्यता मान्छेबाट नै हुन्छ । विदेशमा मानव स्रोतकै कम प्रयोग गर्ने उद्देश्य हुन्छ । तर, हामीले त आतिथ्यता नै बेच्न सक्छौ । नेपालमा लामो समय गुणस्तरीय पर्यटनको मात्रै काम गर्दै जाँदा राम्रा होटल तथा रिसोर्ट बन्छ । होटलले दिने सेवा सुविधा पनि गुणस्तरीय नै हुन्छ ।

आज भन्दा भोली धेरै लगानी हुने र पर्यटकीय संख्या र गुणस्तर बढ्न सक्छ । यही अभियान जारी रहे लामो समयपछि सबै स्तरीय होटल, पर्यटकीय सेवा सुविधा हुन्छ । सीमित पाँचतारे होटल हुने, पर्यटकीय सेवामा सीमित व्यक्तिको मात्रै पहुँच पुग्ने भन्ने होइन ।
नेपालमा क्वालीटीलाई मात्रै फोकस गर्ने हो भने तल्लो तहले पनि लाभ पाउछन् ।

वास्तवमा सबै क्षेत्रले खोजेको आर्थिक सम्पन्नता नै हो । पर्यटन क्षेत्रबाट पाउनु प्रतिफल नै सबैको उद्देश्य हो । यसका लागि गुणस्तरीय पर्यटक नै बढाउनुपर्छ । नेपालमा धेरै खर्च गर्ने र गुणस्तरीय पर्यटक भित्र्याउन सकेमा आजका दिनसम्म सस्तोमा होटलको भन्दा कम पैसा भनेर चिनिएका होमस्टे होटल भन्दा महङ्गा हुन सक्छन् । आज दुई हजार रुपैयाँ तिरेका पर्यटकले भोली त्यही होमस्टेलमा दुई सय डलर तिर्ने अवस्था बनाउन सकिन्छ ।

गुणस्तरीय पर्यटनमै केन्द्रित हुनुपर्छ

अहिले भइरहेकै सेवा सुविधाबाट देशलाई समुन्नत बनाउनुपर्छ भन्ने हो । नेपालको धारण क्षमता अनुसार पर्यटक ल्याउनुपर्छ । नेपालले कति पर्यटक धान्न सक्छ सोही अनुसार ल्याउने हो । नेपालमा लाखौं पर्यटक ल्याउने भन्दा पनि गुणस्तर बढाउँदै अगाडि जानुपर्छ ।

सस्तोमा लगानी गरेर पनि बढी प्रतिफल आउदैन । यसका लागि सस्तो भन्दा पनि महङ्गो नै गर्नु राम्रो । हाम्रो चाहना बढी प्रतिफल लिने नै हुनुपर्छ । राज्यलाई होस् कि नहोस मलाई होस् भन्ने मात्रै पनि हुनु हुँदैन । पहिले राज्यलाई लाभ भयो भने त्यसको फाइदा व्यक्तिगतसम्म पुग्नु राम्रो हुन्छ । अहिले हामीकोमा राज्य भन्दा पनि व्यक्ति बलियो भएको अवस्था छ ।

अहिलेको आवश्यक भनेको नै गुणस्तरीय पर्यटक नै हो । राज्यले लगानी गर्ने, स्रोत साधनको विकास गर्ने सबै काममा गुणत्मकलाई ध्यान दिनुपर्छ । व्यवसायीले पनि पाँच जनाले छुट्टाछुटै १० कोठाको होटल बनाउनुभन्दा पाँचै जना मिलेर ५० कोठाको होटल बनाएर गुणस्तरीय सेवा नै दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.