डाटा सेवामा ध्यान केन्द्रित गर्दै एनसेल, फोजी सेवा सञ्चालनमा ल्याउने तयारी

  २०७३ भदौ ७ गते ७:२१     विकासन्युज

काठमाडौं, ७ भदौ । ईन्टरनेट सेवाको माग र ग्राहक संख्या बढीरहेको अहिलेको अवस्थामा एनसेलले यो वर्ष आफुले डाटा सेवामा विषेश ध्यान दिने जनाएको छ । एनसेलद्वारा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक साईमन पर्किन्सले उक्त कुरा बताएका हुन् । पर्किन्सले भने, ‘यो वर्ष डाटा सेवामा थप सुधार गर्नु कम्पनीकोे पहिलो प्राथमिकता हो ।’

अहिले फोरजी व्यापक चर्चाको विषय बनेको छ । यही विषयमा बोल्दै पार्किन्सले नियमक निकायको अनुमति पश्चात कम्पनीले फोरजी सेवा शुरु गर्ने तयारीमा रहेको बताए । सरकारले गरेको फ्रिक्वेन्सी नीतिको परिमार्जन अनुरुप फोरजी सेवा सञ्चालनका लागि कम्पनीले १ हजार ८ सय मेगाहर्ज ब्याण्डमा थप फ्रिक्वेन्सी र आवश्यक अनुमतिका लागि नेपाल दूरसञ्चार प्राधिकरण समक्ष निवेदन दिई सकेको छ । सरकारले अनुमति दिएमा २ महिना भित्रै सेवा सञ्चालनमा ल्याउन सकिने एनसेलले बताउँदै आएको छ ।

केही महिना अघि एनसेलले आफ्नो सेवा ग्रामिण तथा दुर्गम स्थानमा विस्तार गर्न पुर्वाधारमा सन् २०१६ भित्र १२ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । शहरी क्षेत्रमा नेटवर्कको क्षमता अभिवृद्घि गर्दै उच्च गतिका डाटा सेवा प्रदान गर्ने कार्यमा समेत यो लगानीको उपयोग गरिने कम्पनीले जनाएको थियो । अहिले एनसेलको मोबाईल डाटा सेवा देशका ७५ जिल्लामा र थ्रीजी प्रविधीमा आधारित उच्च गतिको डाटा सेवा ६३ जिल्लामा पुगि सकेकोे छ ।

एनसेलले काठमाडौं उपत्यका र सगरमाथा क्षेत्रका आफ्ना उपभोक्तालाई थ्रीजी प्रविधिमा आधारित २१ एमबी प्रति सेकेन्ड सम्मको डाटा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले काठमाडौं उपत्यका बाहिरका शहरहरुमा पनि क्रमशः नेटवर्क आधुनिकिकरण गर्दै लैजाने बताएको छ । अहिले ५६ लाख ३८ हजार ग्राहकले एनसेलको ईन्टरनेट सेवा प्रयोग गरिरहेका छन् । थ्रीजी प्रविधि अन्तर्गत नेटवर्कमा आधुनिकिकरण र फोरजीको शुरुवात पछि डाटा सेवाको माग र ग्राहक संख्यामा थप वृद्धि हुने कम्पनीको अपेक्षा छ ।

“फोरजीमा मोबाईल ईन्टरनेटको गति सुधार हुन्छ यसले गर्दा उपभोक्ताले सजिलैसँग अनलाईन भिडियो हेर्न तथा गेमहरु खेल्न सक्छन्,” पर्किन्सले आजीयाटा गु्रप अन्तर्गत फोरजी सेवा सञ्चालन गरिसकेका देशहरुको अनुभव सुनाउदै भने । नयाँ ब्राण्ड लोगोको औपचारिक रुपमा अनावरण पश्चात एनसेलले आफ्ना ग्राहकलाई उच्च गुणस्तरीय सेवा सुनिश्चित गर्न आगामी २ वर्ष भित्रै थप ७० अर्ब रुपैयाँ पुँजीगत तथा सञ्चालन लगानी गर्ने उद्घोष पनि गरेका छ ।

यस अन्तर्गत कम्पनीले सन् २०१७ र २०१८ मा औसतमा प्रत्येक वर्ष ३५ अर्ब रुपैयाँ लगानी गर्नेछ । हाल सम्म एनसेलले नेपालमा रु ७४ अर्ब लगानी गरिसकेको जानकारी दिएकोे छ । एनसेलमा ८० प्रतिशत शेयर लगानी रेनोल्डस् होल्डिङ्गको र २० प्रतिशत नेपालीको शेयर रहेको छ । गत चैत्रमा मलेशियन कम्पनी आजीयाटाले रेनोल्डस् होल्डिङ्को शतप्रतिशत स्वामित्व किने पछि गत साउन ३२ गते एनसेलको नयाँ ब्राण्ड लोगो अनावरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.