नेपाल घुम्दाको ट्राभल बीमा शुल्क दोब्बर महंगियो

  २०७३ भदौ ४ गते ६:२९     विकासन्युज

Travel_Insuranceकाठमाडौं ४, भदौ । नेपाल आउने विदेशी पर्यटकको बीमा रकम अस्वभाविक ढंगले बढिरहेको पदयात्रा पर्यटन व्यवसायीले बताएका छन् । अघिल्लो वर्षको भूकम्प, नाकाबन्दी, वर्षातको समयमा हुने बाढी पहिरोको जोखिम र राजनीतिक अस्थिरतले पर्यटकको बीमा रकम दुई गुणसम्मले बढेको नेपाल पर्वतारोहण संघका अध्यक्ष तथा एसियन टे«किङका संचालक आङछिरिङ शेर्पाले बताए । ‘विदेशी पर्यटकलाई नेपाल ल्याउँदा लाग्ने बीमा रकमको शुल्क अप्रत्यासित रूपमा बढकोछ’, शेर्पाले भने । यसले गर्दा नेपालको प्याकेज बेच्न पनि निकै गाह्रो हुन थालिसकेको छ । पर्यटकले सम्बन्धित देशबाट नै बीमा रकम भुक्तानी गरेर आउने गरेका छन् ।

 

पर्यटनक नेपाल आउँदा स्थान, क्षेत्र, बसाई अवधि तथा ट्रेकिङ ह्याण्डलिङ गर्ने कम्पनीमा उसको बीमा रकम कति हुने भन्ने तय हुने गरेको पनि शेर्पाले बताए । उनका अनुसार नेपाल आउन बीमा रकम बढ्नु र राष्ट्रिय ध्वजाबाहकको अभावमा नेपाल आउने प्याकेज नै महङ्गो पर्ने गरेको हो । नेपाल आउने विदेशी पर्यटकको लागि बीमा रकम बढ्नु, सेवाको लागत बढी पर्नुले नेपालका व्यवसायीले प्याकेज विक्री गर्न पनि निकै गाह्रो भएको छ ।

बीमा रकम मात्रै नभएर भूकम्प र नाकाबन्दीको कारण नेपाल आउने पर्यटकको खर्चसमेत बढाएको छ । भूकम्पले थला परेको पर्यटन क्षेत्रलाई नाकाबन्दीले झन पछाडि धकेलेको समग्र पर्यटन व्यवसायीले भोगेरै आएको पनि हो । यस भन्दा अघि पनि नेपालको अस्थिर राजनीतिको कारण बीमा रकम बढी नै थियो ।

नेपालमा भइरहने बन्द हड्ताल र राजनीति अस्थितरताले पर्यटनलाई निकै ठूलो असर पारेको छ । अहिलेको अस्थिर सरकारका कारण पनि पर्यटनले गति लिन नसक्नु र नेपालप्रतिवको विदेशी पर्यटकको विश्वास निकै थोरै हुनुले पनि विमा रकम अस्वभाविक रुपमा बढीरहेको भनाइ शेर्पाको छ ।

हवाई उड्डयन सुरक्षा नै नेपालमा पर्यटकको बीमा रकम बढाउने माध्यम बनेको पर्यटन व्यवसायी बताउँछन् । पछिल्लो समय नेपालमा देखिएको हवाई यात्राको असुरक्षा पनि यसको कारण हो । गत फेब्रूअरीमा तारा एयरको दुर्घटना भएको दुई दिनमै काष्टमण्डपको जहाज दुर्घटना हुनु, दुई साता अघि मात्रै मकालु एयरको जहाज कर्णालीमा दुर्घटना पर्ने, फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना हुनु र विमानस्थलको धावनमार्ग तथा चराकै कारण पनि हवाई क्षेत्रलाई चुनौति बढ्नुले पनि पर्यटक आत्तिने गरेका छन् ।

पर्यटन व्यवसायीका अनुसार कुनै पनि सानो घटनाले पनि पर्यटक आत्तिने र डराउने गर्छन भने जोखिमको क्षेत्रमा जाने आउने विषयमा बीमा तथा खर्च बढ्नु सामान्य नै हो । यूरोपका नागरिकलाई नेपालको आन्तरिक वायुसेवा सकेसम्म प्रयोग नगर्नु भनेर एड्भाइजरी जारी गरेको अवस्था अझै जारी छ । नेपालका आन्तरिक वायुसेवा यात्रा गर्न चाहने ती यात्रुको लागि सम्वन्धित देशले बीमा शुल्क चर्को लिनुको कारण बनेको छ ।

बीमाकै कारण पर्यटकीय प्याकेज महङ्गो

बीमाकै कारण नेपालमा आउने विदेशी पर्यटकको खर्च प्याकेज महङ्गो हुने गरेको पनि पर्यटन व्यवसायी बताउँछन । पर्यटकले गर्ने सबैभन्दा ठूलो खर्च नै बीमा रकममा हुने गरेको पदयत्रा पर्यटनको प्याकेज बढेको ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपालको भनाइ छ । नेपाल बसाई जति लामो भयो उति धेरै बीमा शुल्क तिर्नुपर्छ । बीमा रकम बढेसँगै पर्यटकको नेपाल बसाई खर्च, नेपाल आउन लाग्ने शुल्क, राष्ट्रिय ध्वजाबाहक नहुँदा बढ्ने हवाई भाडासहित पर्यटकको खर्च निर्धारण हुने गरेको व्यवसायी बताउँछन् ।

पर्यटकको नेपाल बसाई अनुसार बीमा र पर्यटकीय प्याकेजको शुल्क निर्धारण हुने गरेकाले पनि बीमाको शुल्क दिन वा महिनामा तय हुने गरेको छ । नेपाल आउने पर्यटकले सम्वन्धित देशमा नै बीमाको शुल्क तिरेर आउने गर्छन । नेपालका पर्यटन व्यवसायीले त ह्याण्डेल मात्रै गर्ने पनि व्यवसायीको भनाइ छ । पर्यटकको समग्रमा नेपालमा पर्यटकीय प्याकेज भूकम्प र नाकाबन्दीपछि दोब्बर नै महङ्गो भएको छ ।

एक साताको शुल्क, दुई साताको र महिनाको शुल्कमा फरक फरक शुल्क हुने र सोही अनुसार बीमा शुल्क निर्धारण हुने गरको छ । टानका एक व्यवसायीका अनुसार सामान्यता एउटा पर्यटकले नेपालमा पाँच सय देखि एक हजार डलरसम्मको प्याकेजमा आधा बीमा शुल्क नै तिर्ने गरेको छ । यस्तो शुल्क दुइ वर्ष अगाडि १० देखि २० प्रतिशतमा मात्रै सिमिति थियो ।

बीमाबाटै पैसा अशुल्न उद्दार

नेपालामा आएका विदेशी पर्यटकको अन्नपूर्ण, सगरमाथा आधार शिविर तथा लाङटाङमा पदयात्रा जाने पर्यटक तथा सगरमाथा आरोहणमा जाने पर्यटकले गरेको बीमाकै पैसा अशुल्न व्यवसायीले पर्यटकलाई उद्दार गराउने गरेका छन् । साना र थोरै शूल्कमा प्याकेज बेचेको व्यवसायीले सगरमाथा क्षेत्रमा पुगेका पर्यटकलाई खानामा (दिसामा पाइने) कोलिफर्म मिसाएर खुवाउने र झाडापखाला लाग्यो भनेर हेलिकोप्टरबाट उद्दार गरेर ल्याउने गरेको टानका एक बरिष्ठ पर्यटन व्यवसायीले बताए । उनका अनुसार पर्यटक विरामी भएको बहानामा हेलिकोप्टरमा उद्दार गर्न पाइने, नेपालकै महङ्गो ग्राण्डि अस्पताल लैजाने गरेका छन् ।

अस्पतालसँगको मिलेमतोमा गरिने यस्तो कार्यले बीमाबाट रकम अशुल्न पाइने, व्यवसायीले पनि हेलिकोप्टर रेस्क्यु तथा अस्पतालबाट कमिशन लिने गरेकोले पनि अधिकांश पर्यटकलाई विरामीको बहानामा बीमा रकम अशुल्ने गरेको पाइएको छ । पर्यटकलाई विरामी बनाएर पैसा अशुल्नेमा सस्तो प्याकेज विक्री गर्ने पर्यटन व्यवसायी तथा पटकपटक पर्यटकलाई उद्दार गराएको बहानामा आर्थिक लाभ लिन चाहने व्यवासीको कारण पदयात्रा क्षेत्र विस्तारै बद्नाम हुँदै गएको पनि टानको भनाइ छ । नेपालमा आउने पदयात्रा पर्यटकमध्ये अधिकांशले बीमा रकम दाबी गर्न थालेका कारण पनि पर्यटकीय प्याकेज तथा बीमा नै महङ्गो हुन पुगेको पनि टानका एक पूर्व अध्यक्षको बुझार्ई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.