भूकम्पपीडितलाई खुलाएको ट्याक्सी दर्तामा नौ गुणाले बृद्धि

  २०७३ भदौ ३ गते ९:०५     विकासन्युज

taxiकाठमाडौं, ३ भदौ । सरकारले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितलाई ट्याक्सी दर्ता नम्बर उपलब्ध गराउने गरी दर्ता खुलाएकामा नौ गुणा बढी निवेदन दर्ता भएको छ । बुधबारसम्म एक लाख ३१ हजारले आवेदन दर्ता भएको यातायात व्यवस्था कार्यालय, साना/ठूला सवारी, वागमतीका कार्यालय प्रमुख तिलक पौडेलले जानकारी दिए ।

“लामो समयदेखि ट्याक्सी नम्बर दर्ता बन्द रहेकाले अति प्रभावित १४ जिल्लाका भूकम्पपीडितले कार्यालयमा सोचेभन्दा बढी आवेदन दर्ता गराएका हुन्”– उनले भने । चौध वर्षपछि गत वर्ष विभागले एक हजार ८०० ट्याक्सी दर्ता नम्बर गोलाप्रथाद्वारा छनोट गरी आवेदकलाई बाँडेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रिस्तरीय निर्णयअनुसार साउन ५ गतेदेखि ट्याक्सी दर्ताको प्रक्रिया सुरु भएको हो । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितले दर्ता गर्न पाउने गरी २०७२ जेठ २८ र सोही वर्षको चैत २१ को मन्त्रिस्तरीय निर्णयअनुसार दर्ता खोलिएको मन्त्रालयले जनाएको छ ।

ट्याक्सी दर्ताका लागि साउन ५ गतेदेखि आजसम्मको समय तोकिएको थियो । गत वर्ष वैशाख १२ गतेको भूकम्पबाट पीडित भई आधिकारिक प्रमाणपत्र पाएकालाई अहिलेको भन्दा गुणस्तर र क्षमता कम नहुने गरी एक हजार ५०० ट्याक्सी दर्ता सुरु भएको विभागले जनाएको छ ।

भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुरका आधिकारिक प्रमाणपत्र भएका भूकम्पपीडितले आवेदन दर्ता गराएका छन् । आज जनैपूर्णिमा र शुक्रबार गाईजात्राको सार्वजनिक बिदा परेकाले आइतबार अन्तिम दिन आवेदन दिन सकिने कार्यालय प्रमुख पौडेलले बताए।

यसका लागि यातायात व्यवस्था कार्यालय, साना÷ठूला सवारी, वाग्मतीमा आवेदन दिन सकिनेछ । आवेदनका लागि प्रत्येक आवेदकबाट उठाएको रु १०० का दरले सवा करोड राजस्व उठेको समेत कार्यालयले जनाएको छ । आवेदन दर्ता गर्दा भूकम्पपीडित परिचयपत्र भएका व्यक्तिले नै आवेदनमा हस्ताक्षर र ल्याप्चे लगाउनुपर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.