सिम्रिक वायुसेवाको उडान तीन दिन देखि ठप्प, १५ महिनादेखि लाइसेन्स नवीकरण नगरी जहाज उडान

  २०७३ भदौ १ गते ५:०९     विकासन्युज

काठमाडौं, १ भदौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी सिम्रिक एयरलाइन्सको सम्पूर्ण उडान तीन दिनदेखि ठप्प रहेको छ । यो वायुसेवाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लिनुपर्ने वायुसेवा संचालन अनुमतिपत्र नवीकरण नगरेका कारण नेपाल नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गर्ने उडान संचालन अनुमति (एओसी) नवीकरण नुहुँदा सम्पूर्ण उडान नै ठप्प भएको हो ।
simrik-airlines
उड्डयन क्षेत्रको नियम अनुसार मन्त्रालयबाट पाएको वायुसेवा संचालनको लाइसेन्सका आधारमा प्राधिकरणले एओसी प्रदान गर्नुपर्छ । प्राधिकरणले एओसी दिएपछि मात्रै वायुसेवाले उडान गर्न पाउँछन् । ‘सिम्रिक एयरलाइन्सले भने १५ महिनादेखि लाइसेन्स नवीकरण नगरी जहाज उडान गरिरहेको थियो’, प्राधिकरणका एक उच्च अधिकारीले भने ।

हामीले पटकपटक सचेत गराउँदा र लाइसेन्स नवीकरण गर्न आग्रह गर्दा पनि सिम्रिकले समयमा नै नगरेकोले हामीले एओसी नवीकरण गर्न मन्त्रालयको अनुमति मागेको हौं । मन्त्रालयका अनुमति ल्याउन नसक्दा आइतबाट यो वायुसेवा ठप्प नै भएको छ । सिम्रिकले हाल चार वटा वायुसेवामार्फत उडान गरिरहेको छ ।

आन्तरिक उडान भर्ने सिम्रिकसँग गुण एयरलाइन्सबाट किनेको दुईवटा र अग्नी एयरबाट किनेको दुईगरी चार वटा स्थिर पंखा भएको (फिक्सविंग्स) जहाज छ । पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईका अनुसार यो वायुसेवाले चार वर्षका लागि लिएको इजाजतपत्रको समय १५ महिनाअघि नै सकिएको छ ।

मन्त्रालयको इजाजत नवीकरण गर्न थप १ वर्ष मौका दिएको र सो समयमा पनि इजाजत नवीकरण गर्न सकेन । मन्त्रालयले पछिल्लो सयम तीन महिनाका लागि समय दिँदा पनि सिम्रिकले इजाजत नवीकरण नगरेका कारण अहिले एयरलाइन्सको सम्पूर्ण उडान नै बन्द हुन पुगेको हो ।

सिम्रिकलाई एक वर्षको समय दिइसकिएको र यो समयमा कुनै काम नभएको तथा सम्वन्धित वायुसेवा चुप लागेर बसेका कारण उड्डयन नियम अनुसार एक वर्षसम्म नवीकरण नभएको वायुसेवाको इजाजत खारेजीमा जान्छ । मन्त्रालयले इजाजत खारेजीको प्रकृयामा लगेकोले अब सिम्रिकले नयाँ कम्पनीसरह इजाजत लिनुपर्छ ।

नयाँ इजाजन लिन मन्त्रालयलमा प्रस्ताव गर्ने, २० करोड रुपैयाँको चुक्ता पुँजी देखाउँने, २० लाख रुपैयाँ बैंक ग्यारेन्टी, १० हजार निवेदन शुल्क तिरेर नयाँ प्रक्रिया अनुसार नै इजाजतपत्र लिनुपर्ने मन्त्रालयको भनाइ छ ।

नयाँ अनुमति लिन उडान गर्ने क्षेत्र अनुसार प्रति सेक्टर ३० हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । सिम्रिकले हाल काठमाडौंबाट पोखरा, जोमसोम, भैरहवा, लुक्ला, सिमरा र माउन्टेन फ्लाइट गर्छ । पोखराबाट जोसोम र नेपालगन्जबाट सिमिकोट उडान गर्दै आएको छ ।

सिम्रिकले नयाँ प्रक्रिया अनुसार अनुमति लिन आवश्यक मापदण्ड पु¥याउँन पनि कम्तिमा १५ देखि २० दिन लाग्छ । यो समय भने सिम्रिकले पाउने सबै लाभ गुमाउने अवधि हो भने भएका जहाज पनि विना प्राविधिक कारण अर्थात प्रशासनिक कारणले थन्किएर बस्नु हो ।

प्राधिरणले गत शुक्रबार नै सिम्रिकलाई पत्र पठाएर आइतबारबाट एसोसी नवीकरण नगरे उडान संचालन गर्न नपाइने जानकारी दिएको थियो । सिम्रिकले मन्त्रालयको नवीकरणलाई वेवास्था गरेकै कारण जहाज ग्राउण्डेड गर्नुपरेको प्राधिकरणको भनाई छ ।

सिम्रिकले यो नवीकरण गर्न साढे २ लाख रुपैयाँ राजस्व तिर्नुपर्ने उल्लेख छ । सिम्रिकले चारवटा जहाजमार्फत दैनिक दुईदर्जन भन्दा बढी उडान गरिरहेको थियो । एयरलाइनसको हेलचेक्राइ गर्दा कुनै उडान सुरक्षा (सेफ्टी)का कारणले नभई प्रशासनिक कारणले जहाज ग्राउन्डडेड भएको सिम्रिकले स्वीकार गरेको छ । जहाज र प्राविधिक विषयमा कुनै समस्या छैन, मन्त्रालयको इजाजतपत्र नवीकरण नभएका कारण जहाज ग्राउन्डेड गर्नुपरेको सिम्रिककै भनाई छ ।

कमजोरी सुधार गरेर छिट्टै उडान गछौं : सिम्रिक एयरलाइन्स
सिम्रिक एयरलाइन्सले सोमबार जारी गरेको एक विज्ञप्तीमा पनि प्रशासनिक कारण नै जहाज थन्किएको स्वीकार गरिएको छ । सिम्रिकले जारी गरेको विज्ञप्तीमा चार वर्षमा नवीकरण गर्नुपर्ने इजाजत मानवीय त्रुटीका कारण समयमा नै हुन नसकेको स्वीकार गरिएको छ ।

सिम्रिकले गत अघिल्लो वर्ष वैशाखमा भएको भूकम्प, भारतीय नाकाबन्दी र अन्य व्यवहारिक कारण मन्त्रलायको इजाजत नवीकरण गर्नमा ढिलाई भएको बताएको छ । यो वायुसेवाले अन्तर्राष्ट्रिय मापदण्ड र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघठन (आईआको)को मापदण्ड पूरा गर्नमा भने कुनै कसुर बाँकी नराख्ने बताएको छ ।

आइकाओले तोकेको मापदण्ड अक्षरस पूरा गर्दा गर्दै पनि अहिले जहाज ग्राउण्डेड भएको र छिट्टै आवश्यक प्रक्रिया पूरा गरेर उडान संचालन गरिने जानकारी सिम्रिकले दिएको छ । सिम्रिक एयरलाइन्सले मन्त्रालय र प्राधिकरणबाट लिनुपर्ने दोहोरो इजाजतका कारण मन्त्रालयको इजाजत लिन समयमानै ध्यान नपुगेको स्वीकार गरेको छ ।

मन्त्रालयको इजाजत एकैपटक चार वर्षलाई हुने भएकोले चार वर्ष पुगेको र नवीकरणको समय सकिएकोमा ध्यान पुग्न नसकेको स्वीकार गर्दै छिट्टै उडान सुरु गर्ने जानकारी सिम्रिकले दिएको छ ।

व्राण्डमा धक्का

क्याप्टेन रामेश्वर थापाले संचलान गरिरहेको यो वायुसेवा सामान्य कारणले उडान बन्द हुँदा थापाको एयरलाइन्सको ब्राण्डमा थक्का लागेको छ । अमेरिकी वायुसेव सफायरसँगको सहकार्यमा अन्तर्राष्ट्रिय कार्गो उडानको तयारीमा जुटेका थापालाई भएकै जहाज थन्कनुले नकारात्मक प्रभाव पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.