हवाई इन्धन महँगो भएको भन्दै पर्यटन मन्त्रालयसँग मूल्य घटाउन एनएसीको माग

  २०७३ साउन ३२ गते १७:१६     विकासन्युज

काठमाडौं ३२ साउन।  हवाई इन्धनको मूल्य बढी भएको भन्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले घटाउनका लागि सरकारसँग माग गरेको छ। नेपाल अायल निगमले अत्याधिक नाफा राखेर बोनस सम्म बाँड्न लागेपछि वायुसेवा निगमले सो माग गरेको हो।

निगमले उडान गर्ने अन्य गन्तव्यभन्दा काठमाडौंमा इन्धनको मूल्य तीन गुणासम्म महँगो पर्ने गरेको पाइएको छ । अत्याधिक मूल्यका कारण यात्रुलाई प्रत्यक्ष मार परेको तथा आफ्नो प्रतिस्पर्धी क्षमता कमजोर भएको भन्दै मूल्य घटाउन पहल गरिदिन निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय गुहारेको छ ।

NAC

निगमले मन्त्रालयलाई पत्र लेखी हवाई इन्धनको मूल्य घटाउन पहल गरिदिन आग्रह गरेको छ । हाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटिर २५ रुपैयाँ खुद नाफा राखेको छ ।

वायुसेवा निगमले गत साउन १ को मूल्यका आधारमा तयार पारेको विवरणअनुसार इन्धन भर्दा मलेसियामा प्रतिलिटर ३७.९९ रुपैयाँ र  नेपालमा १०६.८५ रुपैयाँ भुक्तानी गर्नुपरेको छ ।

“निगमले उडान गर्ने सबै गन्तव्यमा पर्ने मूल्य र नेपालमा पर्ने मूल्यको तुलना गरेर मन्त्रालयमा पत्र पठाएका छौं,” निगम प्रवक्ता रामहरि शर्माले भने । अन्य एयरलाइन्सहरूले आफ्नै मुलुकमा धेरै इन्धन भरेर आउने भएकाले निगमलाई मात्र बढी भार परेको निगमको भनाइ छ ।

“सरकारले विशेष निर्णय गरेर भए पनि राष्ट्रिय ध्वजावाहक भएको नाताले निगमलाई अन्यलाई भन्दा सस्तोमा दिनुपर्छ भन्ने हाम्रो माग हो,” प्रवक्ता शर्माले भने ।

निगमले पठाएको पत्र पर्यटन मन्त्रालयले उपयुक्त लागेमा अर्थ मन्त्रालय पेस गर्नेछ भने अर्थले करमा सहुलियत दिने निर्णय मन्त्रिपरिषद्मा लैजान सक्नेछ । स्रोतका अनुसार अर्थले तत्काल यस्तो निर्णय गर्न सक्ने अवस्था नभए पनि आपूर्ति मन्त्रालयले नाफा घटाउन निगमलाई निर्देशन भने दिन सक्नेछ ।

“आयल निगमले नाफा थोरै राखेर वायुसेवा निगमलाई सुविधा दिएमा नाफा बढ्ने थियो, जसले सञ्चालनमा सहज हुनेछ,” प्रवक्ता शर्माले भने । निगमले ३ जहाजमार्फत नयाँदिल्ली, बैंग्लोर, मुम्बई, दोहा, मलेसिया, बैंकक र हङकङ उडान गरिरहेको छ । असोजबाट चीनको क्वाङ्चौ उडान गर्दैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.