शैक्षिक प्रमाणपत्र धितो राखेर इन्जिनियरिङ पढ्न सकिने

  २०७३ साउन ३० गते १०:५३     विकासन्युज

काठमाडौं, ३० साउन । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हिमालय कलेज अफ इन्जिनियरिङ र एनएमबी बैंकबीच  शैक्षिक कर्जा योजना सम्बन्धी सम्झौता भएको छ । यी दुई संस्थाबीच इन्जिनियरिङमा स्नातक (बिई) अध्ययन गर्न चाहने छात्र छात्राले शैक्षिक प्रमाणपत्र धितो राखेर पढ्न सकिने शैक्षिक कर्जा योजना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भयो ।

mou_signing

हस्ताक्षर पत्रमा कलेजका तर्फबाट अध्यक्ष विष्णुप्रसाद शर्मा र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडलले आईतबार एक समारोहका बीच हस्ताक्षर गरेका हुन् । आर्थिक अभावले इन्जिनियरिङ पढ्न समस्या परेका जेहेन्दार विद्यार्थीहरुले यो सुविधा लिन सक्नेछन् । यो योजनामा ग्रामीण, पिछडिएको क्षेत्र र महिलालाई प्राथमिकता राखिनेछ । सीमित विद्यार्थीलाई मात्र शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउन सकिने सम्झौतामा उल्लेख गरिएको छ । साथै, अचल सम्पत्ति धितो राखेर सहुलियत दरमा ऋण लिएर पढ्न चाहने विद्यार्थीका लागि पनि सहज शैक्षिक कर्जाको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

सम्झौता अनुसार, शैक्षिक शुल्कको ४० देखि ८० प्रतिशतसम्म यो योजना अनुरुप सहुलियत ऋण लिन सकिनेछ । सामान्यतः ऋणको अवधि ४ वर्षको हुनेछ । अध्ययनमा उत्कृष्टता, लगनशीलता र विश्वसनीयताका आधारमा बैंकले अर्को ४ वर्षका लागि किस्ताबन्दीमा ऋण तिर्न सक्ने सुविधा प्रदान गर्न सक्नेछ । ४ वर्षपछिको किस्ताबन्दी सम्बन्धी सुविधा लिनका लागि बैंक र विद्यार्थीबीच अलग्गै सम्झौता गर्नुपर्नेछ । ब्याजदर विद्यार्थीको अवस्था हेरी ५ देखि ८ प्रतिशत हुनेछ ।

मुलुकको आर्थिक समृद्धि एवम् भौतिक पूर्वाधार क्षेत्रका लागि आवश्यक पर्ने प्राविधिक जनशक्ति आपूर्ति गर्ने र समाजको पिछडिएको समुदायलाई उच्च प्राविधिक शिक्षाको पुहँचमा पुर्याउने उद्देश्यले यो योजना अघि सारिएको हो । “यस योजनाले दक्ष जनशक्ति उत्पादन गर्ने काममा सघाउ पुग्नेछ । आगामी वर्षहरुमा यसमा मात्र सीमित नरही अन्य शैक्षिक कार्यक्रमहरुमा पनि लागू गर्नेछौँ,” कलेजका निर्देशक रामेश्वर अर्यालले भने, “यस योजनाले विद्यार्थीलाई पढाइ र आफ्नो भविष्यप्रति पनि थप जिम्मेवार बन्ने विश्वास लिएका छौँ । हाम्रो मूल उद्देश्यचाहिँ जेहेन्दार विद्यार्थीलाई आर्थिक अभावले उच्च प्राविधिक शिक्षा आर्जनको आकांक्षालाई बाधा पु¥याउँदैन भन्ने सन्देश ग्रामीण र विपन्न वर्गसम्म पुर्याउनु हो ।”

सांसद एवम् संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समिति सदस्य उमेश श्रेष्ठले भने, “हिमालय कलेज अफ इन्जिनियरिङले सुरु गरेको प्रयास सराहनीय रहेको तर एउटा संस्थाको प्रयास मात्र पर्याप्त नहुने भएकाले अन्य शैक्षिक संस्थाहरूले पनि सिक्नुपर्छ । र, अझ धेरै विद्यार्थीलाई लाभान्वित गर्न सक्नुपर्छ । साथै राज्यले पनि यसमा सहयोग र सहजीकरण गर्नुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.