चन्द्रागिरी केबलकार सञ्चालनमा, भाडा सात सय रुपैयाँ

  २०७३ साउन २६ गते ११:३०     विकासन्युज

काठमाडौं, २६ साउन । बहुप्रतिक्षित चन्द्रागिरी केबलकार आंशिक सञ्चालनमा आएको चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ । केबलकारबाट दुई तर्फी यात्रा गर्न ७ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । आवश्यक केही सुविधा सम्पन्न गरिसकेपछि केबलकार पूर्ण व्यवसायिक रुपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ । केबलकारको टप स्टेशनस्थित भालेश्वर मन्दिरमा सोमबार वैदिक विधिपूर्वक प्राणप्रतिष्ठा गरेपछि व्यवसायिक सुरुवात गरिएको हो ।

 

Chandragiri-cable-car

सोमबार कम्पनीका सञ्चालकहरुले केबलकारको व्यवसायिक शुभारम्भ गर्नुभन्दा पहिले चन्द्रागिरी वरपरका स्थानीयवासिन्दाहरुलाई प्रसाद ग्रहणका लागि निःशुल्क केबलकार चढ्ने व्यवस्था गरिएको थियो । काठमाडौंको चन्द्रागिरि नगरपालिका, मकवानपुरको चित्लाङ र फाखेल गा.वि.स.का स्थानीयवासिन्दाहरुलाई आमन्त्रण गरिएकोमा १० हजार ६४१ जनाले सोमबार केबलकारको निःशुल्क सेवा लिएको कम्पनीले जनाएको छ ।

 

के छ विशेषता ?

काठमाडौंकै सबैभन्दा अग्लो स्थानचन्द्रगिरिको उचाइ २५५१ मिटर रहेको छ । पर्यटकीय दृष्टिले यस पहाडका प्रमुख तीन विशेषता रहेका छन् ।

१. धार्मिक महत्व

देवादिदेव महादेवले आफ्नी प्रिय सतिदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा चन्द्रागिरी पर्वतमा पुगेको हिमवत खण्डमा उल्लेख छ । चन्द्रागिरीको चुचुरोमा महादेव पुग्दा सतिदेवीको भाल अर्थात् निधार पतन भएको र शिवलिङ्ग उत्पति भएको हिमवत खण्डको ९८ र ९९ औं अध्यायमा वर्णन गरिएको छ। भाल पतनभएर उत्पत्ति हुनुभएको महादेवलाई भालेश्वर भनी पुकार्न थालिएको धर्मग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ ।

chandragiri-temple-mandir

भालेश्वर महादेवको दर्शन गरेर स्वर्गका सुमुख नामक गन्धर्व र पाटन निवासी विरुपाक्षले पापबाट मुक्तिपाएका कथाहरु हाम्रा धर्म ग्रन्थहरुमा उल्लेख छन् । यसरी पौराणिक कालदेखि नै आफ्ना भक्तको मनोकांक्षा पूरा गर्ने भालेश्वर महादेवको दर्शन गराउनका लागि यहाँआकर्षक मन्दिर निर्माण गरिएको हो ।

२. ऐतिहासिक महत्व

चन्द्रागिरी पहाड ऐतिहासिक रुपले महत्वपूर्ण स्थान हो। नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले सबैभन्दा पहिले चन्द्रागिरीबाट नै यो सुन्दर काठमाडौं उपत्यकाको अवलोकन गरेका थिए ।

पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरबाट आफ्नो राज्य गोरखा फर्कँदा चन्द्रागिरी हुँदै फर्केको र काठमाडौंको अवलोकनपछि त्यसलाई जित्ने कल्पना गरेको उनका उपदेशमा उल्लेख छ । उनको यो यात्रामा साथै रहेका दुई ज्योतिषी भानु अज्र्याल र कुलानन्द ढकालले त्यतिबेलै आफ्ना राजाको इच्छा पूरा हुने भविष्यवाणी समेत गरेको इतिसकार प्रा.डा. दिनेशराजपन्तले उल्लेख गरेका छन् ।

पृथ्वीनारायण शाहले यही चुचुरोमा बसेर अध्यात्मिक साधना गरेपछि काठमाडौं उपत्यकामाथि आक्रमण गरेर विजय प्राप्त गरेको जनविश्वास समेत रहेको छ ।
३. प्राकृतिक सौन्दर्यको अनुपम पहाड

चन्द्रगिरी पहाड प्राकृतिक सौन्दर्यको अनुपम पहाड हो। घना जङ्गलले ढाकिएको चन्द्रगिरि मानव स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण छ । यहाँको चिसो र शान्तवातावरणले मन आनन्दित तुल्याउँछ। क्षणक्षणमै बदलिने यहाँको मौसमले विविधता दिइरहन्छ ।

cablecar

चन्द्रागिरि चुचुरोबाट सर्वोच्चशिखर सगरमाथाकोअवलोकनगर्न सकिन्छ । यहाँबाट पूर्वोत्तर दिशामा सगरमाथा रहेको छ । नेपालका अधिकांश हिमालहरु यहाँबाट हेर्न पाइन्छ। करिब १८० डिग्रीको रेन्जमायहाँबाट हिमालश्रृंखलाको अवलोकन गर्न पाइन्छ ।

सूर्योदय र सूर्यास्तको अवलोकन लागि चन्द्रागिरी पहाड एउटा उपयुक्त गन्तव्य स्थल हो । हिमालयबाट हुने सूर्योदय र पश्चिम पहाडबाट हुने सूर्यास्तको दृश्य यहाँबाट रोमाञ्चक देखिन्छ ।

पूर्वोत्तर दिशामा रहेको काठमाडौं शहरलाई यहाँबाट राम्रोसँग अवलोकन गर्न पाइन्छ । हिमाल, हरियाली र राजधानी शहरको एकसाथ अवलोकन गर्न पाइने यो एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.