तीज नजिकिदै जाँदा सुन बजारमा सुधारको सङ्केत, यस्ता छन् विक्री नहुँनाका कारण

  २०७३ साउन २६ गते ८:४२     विकासन्युज

काठमाडौं, २६ साउन । केही महिनायता सुस्ताएको सुन बजार तीज नजिकिदै जाँदा केही उकालो लाग्न शुरु भएको हो । गत सातासम्म दैनिक १० किलो सुन विक्री हुन हम्मे हम्मे पर्दै आएकोमा यो सातादेखि बजार उकालो लाग्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । ‘ बजारमा तीजको चहलपहल बढ्न थालेको छ,’ उनले भने ‘तिजसम्म २० किलोसम्म सुन विक्री हुन सक्छ ।’ दुई महीनायता विक्री नभएको बैङ्कको सुन अहिले उठन थालेको बताइएको छ । अघिल्लो वर्ष भूकम्प गएपनि सुन बजार यसरी नसुस्ताएको उनले बताए ।

‘भूकम्प गएको दुई महीना पछिनै दैनिक २० देखि ३० किलोसम्म सुन विक्री भएको थियो,’ उनी थप्छन् ‘ तिजमा त ४५ किलोनै सुन विक्री भएको थियो ।’ तर, यस वर्ष सुन व्यापारीलाई व्यवसाय छोड्नु बोक्नु भएको उनले गुनासो गरे । पछिल्लो समय बढेको कारोबारले केही आशा जगाएको उनले बताए ।

बजार सुस्ताउनुका प्रमुख चार कारण छन् । पहिलो कारण हो सुनको मूल्य वृद्धि, दोस्रो अन्तरराष्ट्रिय बजार उतार चढाव भइरहनाले ग्राहक पर्ख र हेरको अवस्थामा, तेस्रो सुनका लगानी कर्ता शेयर बजार तिर आकर्षित र चौथो कारण भने पुनःनिर्माणका लागि सुन विक्रीमा आउनु । यी कारणले गर्दा सुन बजार खुम्चिएको हो । गत वर्ष यति बेला प्रतितोला सुनको मूल्य रू.४७ हजारदेखि रू.४९ हजारको हाराहारीमा थियो । अहिले करिब १० हजारले प्रतितोला सुनको मूल्य बढेको छ । मूल्यका कारण सुन बजार ओरालो लागेको र नेपालीको क्रयशक्ति पनि बढ्न सकेका छैन ।

अहिले नेपाली बजारमा पुरानो सुनसँग नयाँ सुन साट्ने पुरानो सुन बेच्चेको सङ्ख्या बढ्दै गएको छ । विगत केही महीनायता सुनको मूल्यमा अत्यधिक वृद्धि भएपछि साट्ने र बेच्नेको सङ्ख्या बढेको हो । ’अहिले नयाँ किन्ने र पुरानो सुन साट्ने ग्राहक बराबर भएका छन् , सुनको मूल्य प्रतितोला रू. ५० हजार नाघेपछि बजारमा यस्तो अवस्था आएको हो,’ शाक्यले भने । केही दिन अघिसम्म सुन बजार सुनसान जस्तै भए पनि सुनको मूल्य रू.६० हजारको हाराहारीमा पुग्न लाग्दा पुनः सुन बजार उकालो लाग्न थालेको हो ।

सुनको मूल्यवृद्धिका कारण तीजमा नयाँ गहना लगाउने परम्परालाई निरन्तरता दिनका लागि नयाँ सुन किन्नेभन्दा साट्नेको सङ्ख्या बढेको व्यवसायीहरूले बताएका छन् । अन्य समयमा सुनलाई सञ्चित धनका रूपमा राखिने हुनाले प्रायले हत्तपत्त सुन बेच्दैनन् । उपभोक्ताहरूले आफूसँग भएको सुन साटेरै भए पनि काम चलाउनका लागि यसो गरेको शाक्यले बताए । अहिले बजारमा पुनःनिर्माणका लागि पनि बजारमा विक्रीको लागि सुन आएको छ ।

महिलाको महान् चाड तीज नजिकिएको तथा सुनको मूल्यमा सामान्य कमी आएकाले पनि शुक्रवार सुनबजारमा करीब १ महीनाअघिको जस्तै चहलपहल बढेको थियो । अप्रत्याशित र अपत्यारिलो हिसाबले वृद्धि भएको सुनको मूल्यका कारण हाल बजारमा तीज आएको जस्तो नलागेको सुन व्यवसायीहरू बताउँछन् । ’अघिल्ला वर्ष यो समयमा सुनका गर÷गहना बेच्न भ्याइनभ्याइ हुन्थ्यो,’ एक व्यवसायीले भने, ’अर्डर दिने र रेडिमेट किन्नेले गर्दा तीज शुरू हुनु अघिदेखि तिहारसम्मका लागि नयाँ कर्मचारी भर्ना गर्ने अवस्था आउँथ्यो, तर अहिले भएकालाई पनि काम छैन ।’ सुनको मूल्य वृद्धिपछि यसको व्यवसाय साघुँरिएर २५ प्रतिशतको हाराहारीमा सीमित भएको उनको भनाइ छ । गत वर्षरूमा यतिबेला दैनिक ३५ देखि ४० केजीको हाराहारीमा सुन खपत हुने गरेको थियो । गत सातासम्म दैनिक १० किलो सुन विक्री हुन पनि गाह्रो थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.