पौने पाँच अर्ब रुपैयाँ बराबरको हस्तकलाका सामान निर्यात

  २०७३ साउन १७ गते १३:०३     अच्युत रेग्मी

काठमाडौँ, १७ साउन । आर्थिक वर्ष २०७२/७३ मा नेपालमा उत्पादित हस्तकलाका सामान रु चार अर्ब ७६ करोड २४ लाख ६० हजार बराबरको विदेशमा निर्यात भएको छ । नेपाल हस्तकला महासङ्घका अनुसार निर्यात भएको हस्तकलाका समानमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा रहेको छ । विदेसिएको हस्तकलाका सामानमध्ये अमेरिकामा मात्र कुल निर्यातको ३० प्रतिशत रहेको छ ।

handicraft

महासङ्घका अनुसार रु एक अर्ब ३६ करोड ६१ लाख ४० हजार मूल्य बराबरका हस्तकलाका सामान अमेरिकामा निर्यात भएको हो भने सबैभन्दा थोरै रु २५ हजार मूल्य बराबरको मोनाकोमा निर्यात भएको छ । महासङ्घका महानिर्देशक डा गोविन्दप्रसाद पोखरेलले अमेरिकामा नेपाली हस्तकलाको धेरै माग भएको कारण अत्यधिक व्यापार भएको बताए।

“सबैभन्दा धेरै अमेरिकामा माग रहेको छ,” उनले भने । महासङ्घबाट हाल अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चीन, भारतलगायत ६० भन्दा बढी देशमा हस्तकलाका सामान निर्यात हुँदै आएको छ । नेपालमा उत्पादित हस्तकलामध्ये सबैभन्दा धेरै ललितपुरमा हुने गरेको छ ।

नेपालबाट हाल अल्लो वस्तु, बासजन्य वस्तु, पोतेका सामान, हाड सिङ्गका सामान, सेरामिक सामान, सुर्तीजन्य सामान, स्फटिकजन्य सामान, ढाका, फेल्ट, सीसा, धुप, छाला, धातुजन्य, कपडाजन्य, चित्रकला, कागज र कागजजन्य, रेसाजन्य, चाँदी गरगहना, प्रस्तकला, काष्ठकला र उलनजन्य सामान विदेशमा निर्यात हुँदै आएको छ ।

आव २०७२/७३ विदेश निर्यात भएको हस्तकलामध्ये धातुजन्य हस्तकला धेरै रहेको छ । जसमा रु एक अर्ब २२ करोड ३२ लाख ८७ हजार बराबरको निर्यात भएको हो । गत आवमा रु एक अर्ब नौ करोड १९ लाख ४८ हजार ८४३ बराबरको निर्यात भएको थियो ।

नेपालमा हस्तकलाका जिल्लागत १४ र वस्तुगत १० सङ्घ रहेका छन् । जिल्लागत सङ्घ बागलुङ, भक्तपुर, दाङ, धनुषा, झापा, पाल्पा, कास्की, ललितपुर, लमजुङ, मकवानपुर, म्याग्दी, रामेछाप, सङ्खुवासभा र भक्तपुरमा रहेका छन् । यस्तै वस्तुगततर्फ धातु, जुत्ता, सेरामिक्स, पश्मिना, कागजलगायतका उद्योग आबद्ध छन् ।

dharma-shakyaमहासङ्घका अध्यक्ष धर्मराज शाक्यले प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका माला, रुद्राक्षलगायतका हस्तकला विदेशमा अत्यधिक माग हुने गरेको बताए । परस्परागत हस्तकलाभन्दा नयाँ हस्तकलाका सामान विदेशमा बढी माग हुने गरेको छ ।

परम्परागत हस्तकलाका सामानमा काष्ठकला, प्रस्तरकला, धातुकलालगायत रहेका छन् भने नयाँमा प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका माला रहेका छन् । हस्तकलाका सामान निर्यातमा आव २०७१÷७२ को तुलनमामा आव २०७२/७३ मा रु दुई करोड बराबरको कमी आएको छ । आव २०७१/७२ रु चार अर्ब ७८ करोड ५४ लाख ७६ हजार बराबरको कारोबार भएको थियो ।

महासङ्घका अध्यक्ष शाक्यले भूकम्प र नाकाबन्दीका कारण गत आवको तुलनामा पछिल्लो आवमा निर्यात घटेको बताए महासङ्घमा एक हजार ५०० व्यवसायी आबद्ध भए पनि हाल करिब ४०० व्यापारीले मात्र हस्तकलाका सामान नियमित रुपमा निर्यात गर्दे आइरहेका महासङ्घले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.