२०७३ साउन १४ गते ९:०६ विकासन्युज
मुस्ताङ, १४ साउन । नजिकै नुनखानीको पहाड छ । घाम लागेको समयमा त्यही नुन बगेर खेर गइरहेको हुन्छ । तैपनि, मुस्ताङको छुसाङ गाविसस्थित तेताङ गाउँका वासिन्दा २० वर्षदेखि त्यही नुनखानी हेरेर आयातित नुन खान बाध्य छन् । नुन उत्खननका समयमा निःशुल्क नुन उपभोग गर्दै आएका तेताङवासी अहिले केजीको हिसाबमा महँगो मूल्य तिरेर नुन उपभोग गर्न बाध्य भएका हुन् । स्थानीय घुली गुरुङले उत्खनन गर्न छाडेपछि नुनखानी अलपत्र बनेको स्थानीय युवा पेमादोर्जे गुरुङले जानकारी दिए।
“एक पोका नुनको हामीले रु ३० हालेर उपभोग गर्न बाध्य छौँ, तर नुनखानीको उत्खननबारे कसैले चासो दिदैनन्”– उनले भने । त्यही उत्खनन गरिएको नुनले २० वर्षअघिसम्म तेताङ र सिङ्गो मुस्ताङ जिल्ला मात्र होइन म्याग्दी र बागलुङ जिल्लामा समेत निर्यात हुने गरेको थियो । नुन उत्खननको समयमा गाउँमा व्यापार व्यवसाय पनि राम्रो सञ्चालन हुने गरेको गुरुङको सम्झना छ । वार्षिक ७० मुरीसम्म नुन उत्खनन हुने गरे पनि राज्यको ध्यान पुग्न नसकेको स्थानीयवासीले बताएका छन् ।
हालै उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वको प्राविधिक टोलीसँग स्थानीयवासीले नुनखानी तत्काल सञ्चालन गर्न माग गरेका थिए । खानी क्षेत्रमै आयातित नुन खाने व्यवस्था अन्त्य गर्न माग गरेको स्थानीय छिमीपेम्बा गुरुङले जानकारी दिए । खानी तथा भूगर्भ विभागका प्राविधिकहरुले पनि तत्काल नुनखानी उत्खनन गर्न सम्भव रहेको निष्कर्ष निकालेका थिए । वरिष्ठ भूगर्भविद् धर्मराज खड्काले नुनखानी उत्खननका लागि आवश्यक प्रक्रिया अघि बढाउने मन्त्रालयलाई सुझाव दिइएको बताए। रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.