वैदेशिक व्यापार साढे ८५० अर्ब रुपैयाँ, आयात ७८१ अर्ब, निर्यात ६६ अर्ब

  २०७३ साउन ५ गते १२:१८     विकासन्युज

काठमाडौं, साउन ५ । गत आर्थिक वर्ष २०७२/७३ मा नेपालको कुल वैदेशिक व्यापार ८ खर्ब ५० अर्ब ३० करोड रुपैयाँको पुगेको छ । गत आवको भन्दा अघिल्लो आव २०७१/७२ मा २ दशमलव ४२ प्रतिशतले व्यापार घटेर साढे ८ खर्बमा व्यापार सीमित भएको भन्सार विभागको तथ्याङ्क छ । अघिल्लो आवमा ८ खर्ब ७१ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो । गत आवको जेठ मसान्तसम्मको वैदेशिक व्यापार ७ खर्ब ४६ अर्ब रुपैयाँ रहेको थियो ।

अघिल्लो आवको सो अवधिमा यस्तो व्यापार ७ खर्ब ७० अर्ब ८७ करोड रुपैयाँ भएको थियो । भूकम्पका कारण उत्तरी छिमेकी चीनसँगको प्रमुख नाका तातोपानी बन्द हुनु र दक्षिणी सीमाको ६ महिना लामो नाकाबन्दीले नेपालको वैदेशिक व्यापार सङ्कुचन आएका कारण वैदेशिक व्यापार घटेको विभागका प्रवक्ता सूर्य सेढाईंले बताए ।

गत आवका शुरुवाती महिनामा लगभग ठप्प रहेको वैदेशिक व्यापार दक्षिणी नाकाको अवरोध हटेपछि र उत्तरबाट रसुवागढीमार्फत आयात निर्यात शुरू भएपछि भने फस्टाएको थियो । फलस्वरूप, पछिल्ला महीनाहरूमा विस्तारै आयात निर्यातले नाकाबन्दी तथा भूकम्पअघिकै गति समातेको विभागको भनाइ छ । आयातित सामग्री निर्बाध रूपमा नेपाल भित्रन नसक्दा र कच्चा पदार्थको अभाव तथा आन्दोलनका कारण नेपाली उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा चालू आवको पहिलो ६ महीनासम्म ३ खर्ब ८ अर्ब ५० करोड रुपैयाँको मात्र वैदेशिक व्यापार भएको विभागको तथ्याङ्क छ ।

शिथिल अर्थतन्त्र, आव शुरु भएदेखि तराई मधेश बन्द तथा नाका अवरोधले आपूर्ति प्रणालीमा पारेको असहज परिस्थितिका कारण गत आवमा नेपालको दुबै व्यापारमा प्रभाव परेको छ । नाकाबन्दीको कारण आयातित वस्तु नेपाल भित्रन सकेनन् । नेपालमा इन्धन, कच्चा पदार्थलगायत आपूर्ति सहज नहुँदा पर्याप्त वस्तु उत्पादन सकेन र उत्पादन भएका वस्तु पनि वाहिर पठाउन नसके पछि गत आवमा अघिल्लो आवको तुलनामा आयात निर्यात दुबै घटेको छ ।

गत आवमा भएको कुल व्यापारमध्ये ७ खर्ब ८१ अर्ब ७२ करोड रुपैयाँको आयात हो भने ६६ अर्ब ५८ करोड रुपैयाँको निर्यात हो । अघिल्लो आवको सोही अवधिमा यस्तो व्यापार क्रमशः ७ खर्ब ८६ अर्ब १९ करोड रुपैयाँ र ८५ अर्ब १९ करोड रुपैयाँ थियो ।

गत आवको पहिलो ६ महीनामा २ खर्ब ७७ अर्ब रुपैयाँको वस्तु तथा सेवाहरू नेपाल भित्रिएको र ३१ अर्ब ५० करोड रुपैयाँका वस्तु तथा सेवा नेपालबाट बाहिरिएको विभागले जानकारी दिएको छ । अर्धवार्षिक आयात अघिल्लो आवको सोही अवधिको तुलनामा २६ दशमलव ५ प्रतिशतले कम हो । अघिल्लो आवमा साउनदेखि पुससम्मको अर्धवार्षिक अवधिमा ३ खर्ब ७७ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो भने ४३ अर्ब ३९ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको विभागकोे भनाइ छ ।

सरकारले केही वर्षयता१ खर्ब रुपैयाँको वस्तु तथा सेवा निर्यात गर्ने योजनासहित विभिन्न निर्यातित वस्तुमा प्रोत्साहनको व्यवस्था गरे पनि निर्यात भने गिर्दाे अवस्थामा रहेको छ । अघिल्लो आवमा ७ खर्ब ९९ करोड रुपैयाँ रहेको व्यापारघाटा गत आवमा ७ खर्ब १३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । गत आवको निर्यात—आयात अनुपात भने एक बराबर ११ (१ः११.४) रहेको छ । बन्दहडताल तथा नाकाबन्दीका कारण अनौपचारिक अर्थतन्त्र विस्तार हुँदै जानु र औपचारिक क्षेत्र खुम्चँदै गएका कारण यसको प्रत्यक्ष असर वैदेशिक व्यापारमा देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.